कपिलवस्तुमा नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै प्रदर्शन

कपिलवस्तुमा नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै प्रदर्शन

तौलिहवा : नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै नेकपाले कपिलवस्तुमा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै सन्देश, विज्ञानलगायत वक्ताहरूले दलाल संसदीय व्यवस्था चरम सङ्कटमा रहेको र त्यसैको परिणाम संसद् विघटन र संसदीय पार्टीहरूभित्र विभाजन भएको बताए । उनीहरूले यो व्यवस्थाले जनताको समस्या समाधान गर्न नसक्ने बताएका थिए ।

वक्ताहरूले संसदीय व्यवस्थाकै कारण नेपाली जनताले दुःख पाउनुपरेको भन्दै अहिले आएर यो असफलसिद्ध भएको धारणा पनि राखे ।

वक्ताहरूले नेपाली श्रमिक जनताको मुक्ति वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र हुने भन्दै त्यसका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । उनीहरूले नेकपाका नेता बास्तोलालगायत जेल र हिरासतमा रहेका सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त रिहा नगरिए सरकारले सशक्त सङ्घर्षको सामना गर्नुपर्ने बताए ।

नेकपाले सङ्घर्षको केन्द्रीय कार्यक्रमअन्तर्गत देशैभर विरोध तथा कोणसभा गरिरहेको छ । नेकपाले माघ १० गते नेपाल बन्दको आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :