नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै काठमाडौँ, नवलपुर, अछाम र धनुषामा प्रदर्शन

नेकपा नेता कञ्चनको रिहाइको माग गर्दै काठमाडौँ, नवलपुर, अछाम र धनुषामा प्रदर्शन

काठमाडौँ : नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेकपा नेता–कार्यकर्ताको रिहाइको माग गर्दै काठमाडौँ, नवलपुर, अछाम र धनुषामा प्रदर्शन गरिएको छ ।

प्राप्त समाचारमा नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सामाजिक फासिवादी सरकारले गैरन्यायिक ढङ्गले पार्टीका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा काठमाडौँमा विरोध सभा सम्पन्न गरेको जनाइएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै मञ्चका सचिव खेम प्रधानले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए ।

मञ्चका केन्द्रीय सदस्य तथा धादिङ–काठमाडौँ जिल्ला सम्पर्क मञ्चका अध्यक्ष प्रतीक अधिकारीले दलाल राज्यसत्ताका विरुद्ध नेकपा वैकल्पिक शक्तिका रूपमा उदाएपछि केपी वलीहरूको राजनीति धर्मराएको बताए । उनले त्यसैको प्रतिशोधस्वरूप नेकपामाथि प्रतिबन्ध लगाएर दमन गरेको भन्दै गिरफ्तार सचिवालय सदस्य बास्तोलालगायत सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई रिहा गर्न माग गरे । उनले नेताहरूलाई रिहा नगरिए राज्यले ठूलै मूल्य चुकाउनुपर्ने पनि बताए । कार्यक्रममा मञ्चमा आबद्ध जिल्ला मञ्चहरूको उलेख्य सहभागिता रहेको जनाइएको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी धनुषाले सरकारविरुद्ध प्रदर्शन गरिएको जनाएको छ ।

प्राप्त समाचारअनुसार नेकपा धनुषाको बैठक यही माघ ४ गते सेक्रेटरी अर्जुनको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य देवनारायणको आतिथ्य र इन्चार्ज मिथिलाको उपस्थितिमा सम्पन्न भएको छ । नारा, भित्तेलेखनसहित माघ ५ गते धनुषा जिल्लाको मिथिला नगरपालिकामा बृहत् जनसमुदायको सहभागितामा फासिवादी केपी वली सरकारले गरेको गिरफ्तारी र दमनविरुद्ध सभा सम्पन्न गरिएको समाचारमा जनाइएको छ ।

यसैगरी नेकपा अछामले पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्तालाई सामाजिक फासिवादी सरकारले गैरन्यायिक ढङ्गले गिरफ्तार गरेको विरोधमा जिल्लाका विभिन्न ठाउँमा विरोध सभा सम्पन्न गरेको जनाएको छ ।

विरोध प्रदर्शनमा नेकपा अछामका जिल्ला नेताहरूले बास्तोलालगायत गिरफ्तार गरिएका नेकपाका नेता–कार्यकर्तालाई तत्काल रिहा नगरिए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए । उनीहरूले दलाल राज्यसत्ताका विरुद्ध नेकपा वैकल्पिक शक्तिका रूपमा उदाएपछि केपी वलीहरूको राजनीति धर्मराएको र त्यसैको प्रतिशोधस्वरूप नेकपामाथि प्रतिबन्ध लगाएर दमन गरेको बताएका थिए ।

यसैगरी नेकपा नवलपुरले नेकपा नेता बास्तोलाको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । प्राप्त समाचारअनुसार जिल्लाको कावासोती नगरपालिकाको विद्यालयमा आयोजित विरोध प्रदर्शनमा बास्तोलालगायत सम्पूर्ण राजनीतिक बन्दीलाई रिहा गर्नसमेत माग गरिएको थियो ।

कार्यक्रमअघि गिरफ्तार नेता–कार्यकर्ता रिहा गर, फासिवादी दमन र प्रतिबन्ध खारेज गर, एमसीसी खारेज गरलगायत नारा लगाएको बताइएको छ । विरोध कार्यक्रममा विद्यार्थी नेता र कार्यकर्ताले वर्तमान पुँजीवादी व्यवस्थामा वैज्ञानिक शिक्षा सम्भव नभएकाले यसलाई बदल्नुको विकल्प नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :