नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध ठाउँठाउँमा प्रदर्शन, चितवनमा प्रहरी हस्तक्षेप

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध ठाउँठाउँमा प्रदर्शन, चितवनमा प्रहरी हस्तक्षेप

काठमाडौँ : नेकपाले पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूको गिरफ्तारीविरुद्ध सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रमअनुसार आज देशका विभिन्न स्थानमा विरोध जुलुस निकालिएका समाचारहरू प्राप्त भएका छन् ।

प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती र खैरहनी नगरपालिकाको संयुक्त विरोध प्रदर्शन वीरेन्द्रनगरमा आयोजना गरिएको थियो । उक्त विरोध प्रदर्शन तयारी गर्दै गर्दा चौतर्फी पुलिसले घेरा लगाएको थियो । उक्त घेरा तोड्दै नेता–कार्यकर्ताहरू तितरबितर भएका थिए ।

यसैबीच अखिल क्रान्तिकारी काभ्रेद्वारा बनेपा बजारमा सरकारविरुद्ध भव्य प्रदर्शन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध पार्टीले घोषणा गरेको प्रदर्शन भएको हो ।

बनेपामा अखिल क्रान्तिकारी ताम्सालिङ ब्युरो समन्वय समितिका संयोजक तथा सचिवालय सदस्य मुकुन्द श्रेष्ठको उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

उक्त कार्यक्रममा विद्यार्थी नेता मुकुन्दले वर्तमान सामाजिक फासिवादी दलाल सरकार अमेरिकी सेना नेपालमा भित्र्याउने खेलमा लागेर नेपाललाई सिरिया र लिबिया बनाउन लागिपरेको बताए । उनले वर्तमान दलाल संसदीय पुँजीवादी व्यवस्थाको विकल्पमा शोषणमुक्त समाज वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न क्रान्ति जारी रहेको बताए । भ्रष्टाचारका विरुद्ध बोल्दा आफ्नो पार्टीका नेताहरूलाई गिरफ्तार गरी जेल चलान गरिएकोमा आक्रोश पोख्दै मुकुन्दले बिनासर्त कञ्चनलगायत नेतालाई रिहा नगरिए जस्तोसुकै लडाइँ लड्न र बन्दुकसमेत बोक्न युवा विद्यार्थी तयार रहेको बताएका थिए ।

नेकपाका महासचिव विप्लवले कञ्चनलगायत नेताहरूको कायरतापूर्ण गिरफ्तारीका विरुद्ध माघ ३ गते देशव्यापी विरोध जुलुस, ५ गते देशव्यापी विरोध सभा, ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :