युरोप र अमेरिकाभरिका नेपालीले गरे नेकपा नेता कञ्चनको गिरफ्तारीको भत्र्सना

युरोप र अमेरिकाभरिका नेपालीले गरे नेकपा नेता कञ्चनको गिरफ्तारीको भत्र्सना

बेल्जियम : युरोप र अमेरिकाभरि छरिएर रहेका क्रान्तिकारी नेपालीहरूको साझा सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युरोप र अमेरिकाले नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाव प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । युरोपमा रहेका सात र अमेरिकामा रहेको एकसहित आठ देशका मोर्चाहरूले संयुक्त भत्र्सना विज्ञप्ति जारी गर्दै नेकपा नेता कञ्चन एक सच्चा वामपन्थी, बुद्धिजीवी, विश्लेषक तथा चिरपरिचित व्यक्तित्व रहेको पनि स्मरण गराएका छन् ।

विज्ञप्तिमा विष्णु भुजेल (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा युरोप), डा. सुवर्णबाबु सापकोटा (महासचिव, नेपाल जनप्रगतिशील मोर्चा, युरोप तथा संयोजक, नेपाल जनप्रगतिशील मोर्चा पोल्यान्ड), बदन योङ्हाङ (उपाध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा युरोप तथा अध्यक्ष, नेपाल जनजाति सरोकार मञ्च बेल्जियम), मेख गुरुङ (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा बेल्जियम), शेरबहादुर तुम्बापो (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा जर्मनी), पूर्णबहादुर विश्वकर्मा (अध्यक्ष, नेपाल जनप्रगतिशील मोर्चा, पोर्चुगल), ईश्वर शर्मा (संयोजक, नेपाल जनप्रगतिशील मोर्चा, स्पेन), विश्वबहादुर शाह (संयोजक, नेपाल जनप्रगतिशील मोर्चा, अमेरिका) ले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई एक जिम्मेवार पार्टीका रूपमा उभ्याउँदै कोरोना सङ्क्रमणको सुरुआती दिनबाट नै नेकपाले आफ्ना राजनीतिक आक्रामक गतिविधिहरूलाई स्थगन गरेको सर्वविदितै छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू देशभर शान्तिपूर्ण रूपले जनसेवामा जुटिरहेका छन् । नेपालको वर्तमान सामाजिक फांसिवादी तथा दलाल सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको छ । नेपाल सरकारको यो फांसिवादी कदमको हामी घोर भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसै क्रममा जनसेवामा रहेका उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित विवेक कुमाल र विश्वासलाई मिति २०७७ पुस २९ गते गरेको गैरकानुनी गिरफ्तारीको हामी कडा शब्दमा विरोध गर्दछौँ । कञ्चन एक सच्चा वामपन्थी, बुद्धिजीवी, विश्लेषक तथा चिरपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँलगायत सम्पूर्ण राजनीतिक बन्दीहरूलाई यथाशीघ्र रिहा गर्न हामी जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेपाली जनता अहिले यो असफल संसदीय व्यवस्थाको जाँतोमा पिसिएको अवस्था छ । यो जनघाती, राष्ट्रघाती, परजीवी व्यवस्थाको अन्त्य गरी सङ्घीय जनगणतान्त्रिक सरकार गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान् अभियानमा रहेका नेता तथा कार्यकर्ताहरूको रक्षा र रिहाइका लागि पहल गरिदिनुहुन राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार मित्रहरूलगायत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :