नेकपाद्वारा देशभर ब्युरोस्तरीय राजनीतिक–वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले विकसित राजनीतिक परिस्थिति र जारी क्रान्तिका बारेमा पार्टीका ब्युरोस्तरीय नेताहरूलाई राजनीतिक–वैचारिक प्रशिक्षण सञ्चालन गरेको समाचार प्राप्त भएको छ । नारायणी, लुम्बिनी, जवस, राप्ती र गण्डक ब्युरोमा प्रशिक्षण सम्पन्न भइसकेको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार नेकपाले नारायणी ब्युरोको अज्ञात स्थलमा नारायणी ब्युरो र जवस मोर्चाका ब्युरोस्तरीय नेताहरूलाई प्रशिक्षण दिएको छ ।

राजनीतिक–वैचारिक प्रशिक्षणमा नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल पुँजीवादी सत्ताका विरुद्ध अन्तिम विद्रोह बोल्ने समय आएको बताए । ‘क्रान्ति युद्ध होइन, परिवर्तन हो । एकीकृत जनक्रान्तिबाट प्राप्त हुने वैज्ञानिक समाजवाद मानवचेतनाको उत्कृष्ट संस्कृति हुनेछ’, उनले भने ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् नारायणी ब्युरो इन्चार्ज शीतल, नेकपाका केन्द्रीय सदस्य एवम् प्रकाशन विभाग इन्चार्ज प्रज्वलन र नेकपाका पूर्वकेन्द्रीय सदस्य एवम् दलित मुक्ति मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विद्यमान राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति, दलाल पुँजीवाद र क्रान्तिकारीहरूको अवस्था तथा क्रान्तिपछि स्थापित हुने वैज्ञानिक समाजवादी व्यवस्थाका बारेमा प्रशिक्षण दिएका थिए ।

यसैगरी नेकपाले लुम्बिनी र राप्ती ब्युरोमा पनि राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न गरेको जनाइएको छ । लुम्बिनी र राप्ती ब्युरोमा आयोजित प्रशिक्षणमा पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले नेपालमा दलाल पुँजीवाद पतनको दिशामा र वैज्ञानिक समाजवाद विजयको दिशामा अग्रसर भइरहेको बताएका थिए । अन्य ब्युरोहरूमा पनि प्रशिक्षण जारी रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :