अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन फागुनमा

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन फागुनमा

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न आगामी फागुनमा हुने भएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको केन्द्रीय समितिको बैठकले बन्धु चन्दको संयोजकत्वमा ६५ सदस्यीय सातौँ राष्ट्रिय सम्मेलन तयारी समिति पनि गठन गरेको छ ।

संयोजक चन्दले जारी गरेको विज्ञप्तिमा बैठकको सुरुआतमा महिला मुक्ति आन्दोलन, वर्गीय मुक्ति आन्दोलन र एकीकृत जनक्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरूप्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको जनाइएको छ । त्यसैगरी बैठकले आन्दोलनका क्रममा गिरफ्तार भई हिरासत तथा जेलमा सङ्घर्ष गर्दै रिहा भएका केन्द्रीय सदस्यहरू तथा देशैभरिका सम्पूर्ण साथीहरूलाई स्वागत तथा बधाई ज्ञापन गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म जेल र हिरासतमा बन्दी जीवन बिताइरहेका सम्पूर्ण राजबन्दीप्रति बैठकले सम्मान पनि व्यक्त गरेको छ ।

बैठकले सङ्गठनका अध्यक्ष र महासचिवको गिरफ्तारीपछि संयोजनको भूमिका निर्वाह गर्ने तत्कालीन केन्द्रीय सचिव सविता तामाङलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले सम्मेलनको तयारीका लागि आवश्यक काम पूरा गर्न २ महिने महिला जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको र जिल्लाहरूका भेला, सम्मेलन गठन, पुनर्गठन, आर्थिक सङ्कलन, प्रचारप्रसारलगायत कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले समाजमा महिलामाथि हुने हिंसा तथा अपराधका घटनाविरुद्ध सङ्घर्ष गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा महिलाअधिकार, समानता र मुक्तिका लागि विभिन्न राजनीतिक दलका महिला तथा विभिन्न क्षेत्रमा रहेका महिलाहरूसँग भेटघाट, छलफल र संयुक्त आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :