क्रान्ति पूरा गरेरै छाड्ने प्रतिबद्धतासहित नेकपा रामेछापले मनायो २५ औँ बेथान वीरता दिवस

क्रान्ति पूरा गरेरै छाड्ने प्रतिबद्धतासहित नेकपा रामेछापले मनायो २५ औँ बेथान वीरता दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले २०५३ साल पुस १९ गते रामेछापको बेथान, पानीघाटस्थित प्रहरी चौकी कब्जा गर्ने क्रममा सहादत प्राप्त गरेका तीर्थ गौतम, फत्तबहादुर स्माली र दिलमाया बम्जनलाई स्मरण गर्दै २५ औँ बेथान वीरता दिवस मनाएको छ ।

कार्यक्रममा सहभागी नेकपा रामेछापका सेक्रेटरी विवेकलगायत जिल्लास्तरीय नेताहरूले क्रान्ति पूरा नहोउन्जेल र समाजवादी व्यवस्था भएपछि पनि योद्धाहरूको सम्मानमा कुनै कमी हुन नदिने र तीफदिलगायत जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वक्ताहरूले भने, ‘हामी बेथान मोर्चामा बलिदान गर्ने पूर्वका तीन तारालाई सम्मान गर्दैछौँ । गणतन्त्रविरोधी एकथरी तत्वहरू दसौँ हजार नेपाली जनताका छोराछोरीले रगत बगाएर ल्याएको गणतन्त्रमाथि रजाइँ गर्दै ती महान् सहिदहरूको अपमान गरिरहेका छन् भने क्रान्तिकारीहरू ती महान् सहिदहरूको सपना पूरा गरेरै छाड्ने, बरु बलिदान दिन तयार हुने प्रतिबद्धतासहित एकीकृत जनक्रान्तिको कार्यदिशालाई आत्मसात गर्दै क्रान्तिको मैदानमा उत्रिएका छन् ।’

उनीहरूले भने, ‘सहिदको सपना र नेपाली जनताको समस्याको विषयलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्दा दलाल संसदीय व्यवस्थाका मतियारहरूले हाम्रो जनप्रिय पार्टीमाथि प्रतिबन्ध मात्र होइन, फासिवादी दमनको रणनीति अपनाएर द्वन्द्व निम्त्याउने कसरत गरिरहेका छन् । हाम्रो सच्चा कम्युनिस्ट पार्टी भने सचेत ढङ्गले क्रान्तिलाई निरन्तर अगाडि बढाइरहेको छ ।’

वीरता दिवस मनाउने क्रममा जनवादी कलाकारहरूले भव्य जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको प्राप्त समाचारमा जनाइएको छ ।

बेथानको लडाइँ जनयुद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पूर्वी कमान्डअन्तर्गतको पहिलो सफल छापामार फौजी कारबाही थियोे । त्यो फौजी कारबाहीको नेतृत्व तीर्थ गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :