अछामका एक जनप्रतिनिधिले दिए जनअदालतमा बयान

१५ दिनभित्र गाउँपालिकाको आयव्यय विवरण जनअदालतमा बुझाउने सहमति

अछामका एक जनप्रतिनिधिले दिए जनअदालतमा बयान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लाको ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढालाई जनअदालतमा बयान गराई आयव्यव विवरण १५ दिनभित्र पेस गर्ने प्रतिबद्धता गराएर छोडेको छ । जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना महामारी नियन्त्रणका नाममा व्यापक हिनामिना भएको जनगुनासोपछि जनअदालतले गाउँपालिका प्रमुख बुढालाई खर्चको आयव्यय प्रस्तुत गर्न पटकपटक भनिए पनि कुनै सुनवाइ नगरेपछि पुस १७ गते १० बजे जिल्ला जनअदालतमा बोलाई सोधपुछ गरिएको र १५ दिनभित्र आयव्यय प्रस्तुत गर्ने सहमति भएको जनाएका छन् ।

नवीन र आखिरको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जनताको जनजीविका, जनतन्त्र र राष्ट्रियताका विषयमा सदैव अग्रभागमा सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ । अछामको ढकारी गाउँपालिकामा कोरोना महामारी नियन्त्रणका नाममा व्यापक हिनामिना भएको जनगुनासोपछि जनअदालतबाट खर्चको आयव्यय प्रस्तुत गर्न पटकपटक भनिएको थियो । हालसम्म पनि उक्त विषयमा कुनै सुनवाइ नभएको हुँदा आज मिति २०७७/०९/१७ गतेका दिन बिहान १० बजेतिर ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढालाई कोरोना महामारीका नाममा भएको झन्डै १ करोड ४९ लाख रकमको सत्यतथ्य आयव्यय प्रस्तुत गर्न र अन्य विकास निर्माणका कार्यहरूमा भैरहेको भ्रष्टाचार र ढिलासुस्तीबारे जिल्ला जनअदालतमा बोलाई सोधपुछ गरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गाउँपालिका अध्यक्षद्वारा १५ दिनभित्र कोरोना महामारी नियन्त्रणका नाममा खर्च भएको रकमको आयव्यय प्रस्तुत गर्नुका साथै अन्य जनगुनासो पनि हल गर्ने प्रतिबद्धता गरिएको कुरा यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :