नयाँ क्रान्तिका सङ्केतहरू देखिएका छन्, संयुक्त मोर्चा कसेर सडक तताउने बेला आयो – सुदर्शन

नयाँ क्रान्तिका सङ्केतहरू देखिएका छन्, संयुक्त मोर्चा कसेर सडक तताउने बेला आयो – सुदर्शन

काठमाडौँ : माओवादी सिद्धान्तका प्रतिपादक माओको १२८ जन्म दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपाली भूमिमा माओको अन्तरविरोधको सिद्धान्तलाई दह्रोसँग पकड्दै क्रान्तिकारीहरूले अन्तरविरोधको सही सञ्चालन गर्नेबेला आएको बताएका छन् । देशमा देखिएको अहिलेको समस्या कुनै व्यक्तिको समस्या नभई संसदीय व्यवस्थाको मिति पुगेको हो भन्दै सुदर्शनले यो बेला संयुक्त मोर्चा कसेर सडक तताउने बेला आएको पनि बताएका छन् ।

क्रान्तिकारी र साम्यवादी शक्तिहरू एकजुट हुनेवेला आएको भन्दै उनले आकास धर्ती हल्लाउने जनविद्रोहको आवश्यकता भएको बताए । यो दुनियाँमा १ प्रतिशत साम्राज्यवादी र दलाल पुँजीवादीहरू मात्र नभई ९९ प्रतिशत मजदुर, किसान, सिपाही, मध्यम वर्गहरू पनि भएको भन्दै उनले अबको नयाँ क्रान्तिका लागि कमरेड माओले देखाएको बाटोमा अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।

कमरेड माओका अमर योगदानहरूका बारेमा चर्चा गर्दै नेकपा नेता सुदर्शनले भने, ‘माओ त्सेतुङ त्यो जनप्रिय नाम हो जसले निजी जीवनको स्वतन्त्रता र खुसीभन्दा उत्पीडित जनताको मुक्ति र खुसीमा नै जीवनानुभूति गरे । उनले माक्र्सवाद, लेनिनवाद र माओवादको मार्गदर्शनमा आफ्नो देश, काल र परिस्थितिबाट नयाँ चिनियाँ क्रान्तिको कार्यदिशा तय गरे । त्यसलाई वैज्ञानिक समाजवादी क्रान्तिबाट अघि बढाएर साम्यवादसम्म पुग्ने निरन्तर क्रान्तिको प्रतिपादन गरे । त्यही निरन्तर क्रान्ति नै आजको माक्र्सवाद हो । यसलाई हामी माक्र्सवादको नयाँ तेस्रो र श्रेष्ठ चरण माओवाद मान्छौँ । त्यसैले निरन्तर क्रान्तिका प्रतिपादक माओको जन्म दिवसलाई हामी विशेष स्मरण गर्दछौँ ।’

‘१२८ औँ माओ दिवसका अवसरमा निरन्तर क्रान्तिद्वारा निर्देशित हुँदै नेपाली शोषित, उत्पीडित जनताको मुक्तिको नयाँ खाका एकीकृत जनक्रान्तिलाई अझ जाज्वल्यमान बनाउने सङ्कल्प गरौँ’, उनले भने ।

नेपाली शोषितपीडित जनताले पटकपटक जनक्रान्ति र जनआन्दोलनबाट गद्दारी गर्ने नेताहरूबाट धोका खाएको भन्दै सुदर्शनले दलाल पँुजीवादी संसदीय ब्यवस्थामा फेरी एकपटक सङ्कट आएको र फेरि अर्को क्रान्तिको लहरको सङ्केत देखिएको बताए । देशमा साम्राज्यवादी चलखेल पनि लाटोले समेत बुझ्ने गरी तीव्र बनेको भन्दै उनले जनयुद्ध र जनआन्दोलनमा बगेको पसिना र रगतको उपलब्धिमा कुन दलालले बढी लुँड्याउने भन्ने झगडामा दलालहरू यदुवंशी अवस्थामा पुगेको उनको भनाइ थियो ।

१२८ औँ माओ दिवसका अवसरमा नख्खु कारागारमा आयोजित कार्यक्रममा उमेश खत्री र बुद्धिलाल श्रेष्ठले पनि माओका योगदानहरूका बारेमा चर्चा गरेका थिए । रामकृष्णको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वीरेन्द्र कोलीले गरेका थिए भने स्वागत भाषण लोकेन्द्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :