बाजुरा जेलका बन्दीहरूले मनाए १२८ औँ माओ दिवस

बाजुरा जेलका बन्दीहरूले मनाए १२८ औँ माओ दिवस

काठमाडौँ : बाजुरा कारागारमा रहेका आस्थाका बन्दीहरूले १२८ औँ माओ दिवस भव्य रूपमा मनाएका छन् । बाजुरा कारागारमा रहेका प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले जेलभित्रै १२८ औँ माओ दिवस मनाएका हुन् ।

प्राप्त समाचारअनुसार बन्दीहरूले रुसका क्रान्तिनायक जोसेफ स्टालिनको जन्मउत्सव पनि माओ जयन्तीसँगै मनाएका छन् । गएको १८ डिसेम्बरका दिन स्टालिनको १४१ औँ जन्मदिवस परेको थियो ।

धर्मराज सुनार ‘धीरेन्द्र’ को अध्यक्षतामा सम्पन्न कारागारभित्रको कार्यक्रमको प्रमुख आतिथ्य नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ ले गरेका थिए । उक्त कार्यक्रमलाई अमलाल थापा ‘आशीष’ ले सञ्चालन गरेका थिए । सहिदको स्मरणमा मौनधारण गर्दै सुरु भएको कार्यक्रममा राजेशकुमार शाहीले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा नेता चूडामणि ओली ‘आदर्श’ ले मन्तव्यका क्रममा चिनियाँ सांस्कृतिक क्रान्तिका नायक माओ त्सेतुङको स्मरण गर्दै विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले मात्रै माओले देखाएको नौलो जनवादी क्रान्ति सम्पन्न गरी मुलुकलाई वैज्ञानिक समाजवाद– साम्यवादसम्म पुर्याउने मार्गलाई अवलम्बन गरेको बताए । माओले परिकल्पना गरेको साम्यवादी व्यवस्थालाई चीनमा समेत प्रतिगामीहरूले संशोधन गरेर उनको विचारलाई पुँजीवादमा पतन गराएको नेता आदर्शको भनाइ थियो ।

अल्पविकसित देश चीनमा किसानहरूको आन्दोलनद्वारा माओले नयाँ जनवादी क्रान्ति हुँदै समाजवादी क्रान्ति सम्पन्न गरेको तर देङ स्याओ पिङ हुँदै हालका शासक तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसम्मले माओको विचारलाई पुँजीवादमा पतन गराउँदै माओ त्सेतुङले प्रतिपादन गरेको समाजवादी व्यवस्थाको मार्गदर्शनलाई तोडमोड गरेको नेता आदर्शले बताए ।

नेपालको राष्ट्रिय राजनीतिमा पनि सत्तामा रहेका कम्युनिस्ट नाउँका पार्टीहरूहरूले माओको नौलो जनवादी– समाजवादी क्रान्तिको मार्गलाई भुलेकै कारण बहुमत पाएर पनि सत्ताको भागबन्डामा अल्झिएको टिप्पणी गरे । सत्तारूढ दलहरूले कम्युनिस्टको चरित्रहत्या गरेको धारणा राख्दै नेता आदर्शले माओले देखाएको क्रान्तिमार्ग भुल्दा आफूलाई खाँट्टी कम्युनिस्ट ठान्ने प्रचण्ड–केपी वलीहरूले आज विदेशी दलालहरूको गोटी बनेर देशलाई अस्थिरतातिर लैजान लागेको बताए ।

माक्र्स, लेनिन र माओले क्रान्तिका लागि प्रतिपादन गरेका आधारभूत सिद्धान्तलाई अनुसरण गर्ने एक मात्र पार्टी विप्लवले नेतृत्व गरेको नेकपा रहेको भन्दै उनले नेपालमा एकीकृत जनक्रान्तिको अनिवार्यता झनै स्पष्ट भएको प्रस्ट पारे ।

चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिका नायक माओ त्सेतुङको जन्म सन् १०९३ डिसेम्बर २६ मा भएको थियो । मालेमावादी क्रान्तिकारीहरूले उक्त दिनलाई माओ दिवसका रूपमा संसारभर मनाउँदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिदेखि जिल्लासम्म देशभर माओ दिवस मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :