हामी यहाँ छौँ

कविता

हामी यहाँ छौँ

समृद्ध नेपाल, सुखी नेपालीको भजन टाँस्नेहरू
आजभोलि माइतीघरतिर ‘हामी यहाँ छौँ’ टाँसिरहेछन्
सडकमा ‘हामी यहाँ छौँ’ भन्नेहरू
उखु किसानहरू कहाँ छन्, देख्न सकिरहेका छैनन्
आफू यहाँ छौँ भनेर पोस्टर टाँस्नेहरू
कोरोना कहरले जनजीवनको अस्तव्यस्तता बुझ्दैनन्
छातीमा हामी यहाँ छौँ टाँस्नेहरूलाई मेरो प्रश्न–
सिमानाका पिलरहरू कहाँ छन् ?
निर्मला, सम्झना, नवराजहरूको न्याय कहाँ छ ?
वाइडबडी, ३३ किलो सुन, गोकुलेहरूलगायत तमाम फाइल कहाँ छन् ?
ए शासकहरू !
मलाई भनिदेऊ मेरो देश कहाँ छ ?
हाम्रा जनता कहाँ छन् ?
ए समाजवादको नारा फुक्नेहरू
मजदुरहरू भोकै छन्
जनतालाई सिटामोलको अभाव छ
भेरीमा दलितका लासहरू बगिरहेछन्
ए शासकहरू !
मलाई भनिदेऊ मानवता कहाँ छ ?
शान्ति, समृद्धि र स्वाधीनता कहाँ छ ?
ए सत्ता र कुर्सीका लागि एक दिन माइतीघरमा चिच्याउनेहरू
तिम्रो लुटको हेडक्वार्टरमा बम बर्साउन हामी यहाँ छौँ
तिम्रो अन्याय, अत्याचार, हत्या, हिंसा, भ्रष्टाचार
बेथिति, विसङ्गतिका विरुद्धमा हामी यहाँ छौँ
ए मतियारहरू !
यो कस्तो समाजवादी अभ्यास हो ?
शिक्षा र स्वास्थ्यमा निजीकरण, व्यापारीकरण
जनतालाई रैती ठान्ने, कोरोना उपचारबाट पन्छिने
भूमिहीन, सुकुमबासीका बस्ती जलाउने
जनाताका नाममा आएको राहत बेचेर खाने
कुर्सीसंग राष्ट्रियताको लिलामी गर्ने
यो गजबको समाजवाद
ए शासकहरू !
तिम्रो लाजमर्दाे, घिनलाग्दो समाजवादी हर्कतले विश्व हाँसिरहेको छ
विश्वसामु शिर निहुरिएको छ
तिम्रो सत्तामोहले तिमीलाई हिटलरपथको पतनमा पुर्याउनेछ
ए शासकहरू !
तिमी ‘हामी यहाँ छौँ’ भनेर पोस्टर छातीमा टाँसिरहँदा
सत्र हजार सहिदका परिवारहरू कहाँ होलान् ?
घाइते, अपाङ्ग योद्धाहरूको अवस्था के होला ?
त्यसैले तिमी तिम्रो हेडक्वार्टरको सुरक्षाशक्ति बढाऊ
तीन करोड नेपाली तिम्रो लुटको स्वर्गमा बम बर्साउन आतुर छन्
त्यसैले त तिमी त्यहाँ छौ र हामी यहाँ छौँ
विद्रोहमा, क्रान्तिमा
अन्तिम क्रान्तिमा, एकीकृत जनक्रान्तिको महासमरमा
वैज्ञानिक समाजवाद प्राप्तिको भीषण सङ्घर्षमा ।

(कवि हेमन्तप्रकाश वली पूर्वविद्यार्थी नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :