३७ दिनपछि नेकपाका युवा नेता पूर्ण सिंह रिहा

३७ दिनपछि नेकपाका युवा नेता पूर्ण सिंह रिहा

गुल्मी : नेकपा पाल्पा इन्चार्ज पूर्णबहादुर सिंह ३७ दिन लामो हिरासतबाट मुक्त भएका छन् । त्यसैगरी उनीसँगै मगर मुक्ति मोर्चा नेपालका नेता मीनबहादुर आले पनि रिहा भएका छन् ।

उच्च अदालत बुटवलले बिहीबार नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । उनीहरूलाई प्रहरीले पटकपटक पक्राउ गरेपछि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो । उच्च अदालतका तर्फबाट न्यायाधीशद्वय अग्निप्रसाद थपलिया र हरिप्रसाद पौडेलको इजलासले नेताद्वय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । दुवैजना नेताका तर्फबाट अधिवक्ता ज्ञानु केसीले बहस गरेकी थिइन् ।

सिंह र आलेलाई प्रहरीले गत मङ्सिर ४ गते बुटवलबाट गिरफ्तार गरी विभिन्न जिल्लामा घुमाएको थियो । गिरफ्तारीपछि प्रहरीले विस्फोटक मुद्दा दायर गरेको थियो । गिरफ्तार भएसँगै उनीहरूलाई मङ्सिर ३० गते जिल्ला अदालत भैरहवामा उपस्थित गराइएको थियो । अदालतमा न्यायाधीश कमलप्रसाद ज्ञवालीको आदेशमा साधारण तारेखमा रिहा गर्ने फैसला सुनाइए पनि अदालतको फैसलालाई उल्लङ्घन गर्दै प्रहरीले अदालत परिसरभित्रैबाट गिरफ्तार गरेको थियो । त्यसपछि प्रहरीले पाल्पा लगेको थियो ।

पाल्पा अदालतका न्यायाधीश खड्क केसीले पुस १ गते साधारण तारिखमा रिहा गर्न आदेश दिएपछि रिहा भएका सिंह र आलेलाई पुनः गिरफ्तार गरी प्रहरीले गुल्मी लगेको थियो । गुल्मीमा नेताद्वय सिंह र आलेलाई अभद्र व्यवहारको मुद्दा चलाइएको थियो ।

नेताद्वय सिंह र आलेको गिरफ्तारीविरुद्ध नेकपा केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज भीमले तत्काल रिहा नगरे दलाल राज्यसत्ता र त्यसको गृह प्रशासनविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने चेतावनीसहित वक्तव्य जारी गरेका थिए । नेता सिंह र आलेको गिरफ्तारी गैरन्यायिक भएको भन्दै देशभर सर्वत्र विरोध भएको थियो ।

नेता सिंह प्रखर युवा नेता, अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष एवम् नेकपा लुम्बिनी ब्युरो सदस्यसमेत हुन् । सिंहका राजनीति, शिक्षा र साहित्यसँग सम्बन्धित विभिन्न पुस्तकहरूसमेत प्रकाशित छन् । सिंहका विभिन्न पत्रपत्रिकाहरूमा राजनीतिक–वैचारिक लेखहरूसमेत निरन्तर प्रकाशित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :