रामेछापमा १२८ औँ माओ दिवस भव्य

रामेछापमा १२८ औँ माओ दिवस भव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १२८ औँ माओ दिवस विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।

प्राप्त समाचारअनुसार कार्यक्रमको अध्यक्षता जिल्ला समिति सदस्य प्रवीणले र कार्यक्रम सञ्चालन रजितले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज चैतन्य थिए । अतिथिका रूपमा जिल्ला सेक्रेटरी विवेक, जिल्ला सदस्य तथा सहिद परिवार ज्वाला र शिक्षण पेसामा आबद्ध बौद्धिक वर्गका व्यक्तिहरू पनि रहेको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज चैतन्यले माओको विचारबाट प्रभावित भएर माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै नेपालमा पनि दस वर्षसम्म जनयुद्ध सञ्चालन भएको बताए । तर बीचैमा मूल नेतृत्वले प्रतिक्रान्तिको नेतृत्व गरेका कारण नेपालमा जनयुद्ध सफल हुन नसकेपछि फेरि आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको र यसैका माध्यमबाट मालेमावादको झन्डालाई उच्च पार्दै बाँकी रहेको क्रान्ति पूरा गर्ने बाटोमा अघि बढिरहेको उनले बताए । क्रान्ति सम्पन्न गर्न सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द हुन उनले आह्वान गरे ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला सेक्रेटरी विवेकले विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदानको चर्चा गरेका थिए । उनले माओको निधनपछि संशोधनवादी र पुँजीवादीहरूले टाउको उठाएको बताए ।

कार्यक्रममा जनवादी कलाकारहरूले बेजोड जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको समाचारमा जनाइएको छ । अतिथिहरूको मन्तव्यको बीचबीचमा जनवादी कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति देखाएर उपस्थित जनसमुदायलाई क्रान्तिका पक्षमा लाग्न प्रेरणा दिएका थिए । मिलनको रचना तथा सङ्गीत रहेको चमचम गर्ने खुकुरी सान लाउने बेला भो गीतको बोल र नृत्यले सबैलाई क्रान्तिमा लाग्ने हौसला प्रदान गरेको प्राप्त समाचारमा जनाइएको छ ।

कार्यक्रममा स्थानीय जनताको बाक्लो उपस्थिति रहेको बताइएको छ । विभिन्न राजनीतिक दलमा आस्था राख्ने व्यक्तिहरूले पनि कार्यक्रममा उल्लेख्य उपस्थिति जनाएको रामेछापबाट प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :