नख्खु कारागारभित्रै मनाइयो १४१ औँ स्टालिन जयन्ती

संसदीय व्यवस्थाको सङ्कटले क्रान्तिकारीहरूका लागि मार्ग स्पष्ट गरेको छ : सुदर्शन

नख्खु कारागारभित्रै मनाइयो १४१ औँ स्टालिन जयन्ती

काठमाडौँ : विश्वसर्वहारा वर्गका महान् नेता स्टालिनको १४१ औँ जन्मजयन्ती नख्खु कारागारभित्र मनाइएको छ । कारागार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विद्रोही नेपाल कम्युुनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले स्टालिन महान् विचारक भएको बताएका छन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा स्टालिनका योगदानहरूको चर्चा गर्दै सुदर्शनले भने, ‘कमरेड स्टालिन महान् अक्टोबर क्रान्तिको मोर्चाका नेता, सोभियत समाजवादी गणतन्त्र सङ्घका स्रष्टा, लेनिनका एक असल सच्चा शिष्य, लेनिनवादका प्रस्तापक, कार्यान्वयनकर्ता र रक्षक, हिटलरी फासिवादविरुद्धको लडाइँका विजेता, संशोधनवादविरुद्ध सङ्घर्षका विजेता र विश्व सर्वहारा वर्गका सच्चा नेता हुनुहुन्थ्यो ।’

आफूहरू स्टालिनले देखाएको बाटोमा दृढतापूर्वक अघि बढिरहने भन्दै नेकपा नेता सुदर्शनले लेनिनवाद माओवादमा विकास भैसकेको अवस्थामा हाम्रो देशमा मालेमावादको रक्षा, प्रयोग र विकाससहित अघि बढ्ने प्रण गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा सुदर्शनले दलाल संसदीय व्यवस्थाका प्रधानमन्त्री केपी वलीले सङ्घीय संसद् विघटन गरेर अब देशमा क्रान्तिकारीहरूका लागि मार्ग स्पष्ट गरेको बताए । वैज्ञानिक समाजवादको बाटो छोडेर दलाल संसदीय व्यवस्थाको बाटो लिन पुगेका क्रान्तिका गद्दारहरूलाई केपी वलीले सिस्नोपानी लगाएर गोर्खे लौरी कसेको उनको भनाइ थियो । उनले भने, ‘अब क्रान्तिकारीहरूले यो राज्यसत्ताको सङ्कटलाई सही ढङ्गले बुझ्दै सम्पूर्ण देशभक्त र क्रान्तिकारीहरूको संयुक्त मोर्चा बनाउन जरुरी छ ।’

उनले भने, ‘महान् स्टालिनले भनेझैँ सिद्धान्तबिनाको व्यवहार अन्धकारमा छामछामछुमछुम गर्दछ र व्यवहारबिनाको सिद्धान्त लङ्ंगडो हुन्छ । नेपालमा १० वर्षमा देखापरेको क्रान्तिकारी प्रवृत्ति अलि ढिलै भए पनि तयार हुँदैछ र हाम्रो आत्मगत परिस्थितिलाई युद्धस्तरमा तयार गरौँ । फेरि बीच बाटोबाट फर्कने प्रवृत्तिबाट शिक्षा लिँदै र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चारलगायत जनताका आधारभूत समस्याहरूको समाधान गर्दै कठिन बाटोबाट प्राप्त हुने वैज्ञानिक समाजवादको शिखरमा पुग्न नथाक्ने प्रतिज्ञा गरौँ ।’

सूर्यप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उमेश खत्रीले र स्वागत भाषण रामकृष्णले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :