जनसरकारद्वारा मिटरब्याजी शेखमुनिरका नाममा पासबन्धकी भएको जग्गा कब्जा

जनसरकारद्वारा मिटरब्याजी शेखमुनिरका नाममा पासबन्धकी भएको जग्गा कब्जा

कैलाली : नेपाल कम्युनिस्ट पार्टी थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् कैलालीले शेखमुनिर खान अहमदका नाममा पासबन्धकी भएको जग्गा कब्जामा लिएको छ ।

धनगढीस्थित वडा नं ७ निवासी भोजराज विकको जग्गा विभिन्न प्रलोभन देखाई अहमद मुनिरखानले पछि फिर्ता गर्ने सर्तमा ११ कट्ठा १० धुर जमिन आफ्नो नाममा पास गरेका थिए । उक्त जग्गाको हालको मूल्य प्रतिकट्ठा ५० लाखदेखि ७० लाखसम्म खरिदबिक्री भइरहेको पाइएको छ ।

दुई वर्षपहिले जग्गाधनी भोजराज विकले छोराको पढाइखर्च र घरायसी खर्चका लागि केही रकम अहमदसँग लिएको र पछि उक्त रकमको सावाँ र ब्याज फिर्ता लिई जग्गा फिर्ता गर्न खान तयार नभएपछि विकले आफ्नो जमिन फिर्ता लिन अदालत पनि धाएर पनि न्याय नपाएपछि जनअदालतमा आएका थिए ।

अदालतलाई खानले आफ्नो प्रभावमा पारेर उक्त मुद्दा पटकपटक तामेलीमा राखी आफ्नो पन्जामा पार्न सफल भएको छानबिनका क्रममा देखिएको छ । मुनिरखान विभिन्न पार्टीका नेता, प्रशासन र अदालतको संरक्षणमा अवैध मिटरब्याज, ढुकुटीमा संलग्न व्यक्ति रहेको पनि जनअदालतले ठहर गरेको छ ।

भोजराज विकले जिल्ला प्रशासन कैलाली र जिल्ला अदालत कैलालीले न्याय नदिएपछि नेकपा कैलालीको न्याय तथा कानुन विभागमा मुद्दा दर्ता गराएका थिए ।

उक्त निवेदनमाथिको छलफलमा न्याय तथा कानुन विभागले मुनिरखानले दिएको रकमको बैङ्किङ ब्याज र सावाँ फिर्ता लिई जमिन फिर्ता गर्न वा दिएको रकमबराबरको जमिन लिई बाँकी जमिन फिर्ता गर्न आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन नभएपछि जिल्ला जनपरिषद्लाई कारबाहीका लागि जिल्ला न्याय तथा कानुन विभागले सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :