सीटीईभीटी भ्रष्टाचारको अखडा बनेको भन्दै अखिल क्रान्तिकारीले दियो चेतावनी

सीटीईभीटी भ्रष्टाचारको अखडा बनेको भन्दै अखिल क्रान्तिकारीले दियो चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी क्षेत्रीय समन्वय समितिले सीटीईभीटी भ्रष्टाचारको अखडा बनेको भन्दै त्यसलाई सुधार्न दसदिने समयसीमा (अल्टिमेटम) राखेर १२ बुँदे मागसहित चेतावनीपत्र बुझाएको छ ।

समितिका संयोजक मिलन राईद्वारा हस्ताक्षरित मागपत्रमा नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाको संविधानमा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेीमाध्यमिक तहसम्मका शिक्षालाई निःशुल्क भनेर उल्लेख गरिएको भए पनि कार्यान्वयनमा सम्पूर्ण शिक्षालाई व्यापारको वस्तु बनाइएको र प्राविधिक शिक्षालाई त अझ उच्च नाफा आर्जन गर्ने व्यापारिक केन्द्रका रूपमा दुरुपयोग गरिएको उल्लेख छ ।

मागपत्रमा जिम्मेवार निकायमा बसेर आफ्ना निहित स्वार्थ पूरा गर्न केही भ्रष्ट र शैक्षिक माफियाहरूका कारण सीटीईभीटी अपारदर्शी र भ्रष्टाचारको अखडा बनिरहेको भन्दै आक्रोश पनि व्यक्त गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) क्षेत्रीय समन्वय समितिका तर्फबाट संयोजक राईले पेस गरेको मागपत्रमा भनिएको छ, ‘नेपालको प्राविधिक शिक्षामा सीटीईभीटीको महत्वपूर्ण योगदान रहँदै आएको छ तर यहाँबाट प्रदान गरिने शिक्षा महँगो हुँदा आम श्रमजीवी जनताका छोराछोरी यसबाट वञ्चित भइरहेका छन् । लक्षित वर्गका विद्यार्थीलाई दिनुपर्ने वर्गीकृत छात्रवृत्ति वैज्ञानिकताको अभावमा वास्तविक पाउनुपर्ने लक्षित वर्ग र लक्षित समुदायका विद्यार्थीले प्राप्त गर्न सकिरहेका छैनन् । नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाको संविधानमा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेर माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेर उल्लेख गरिएको भए पनि कार्यान्वयनमा सम्पूर्ण शिक्षालाई व्यापारको वस्तु बनाइएको छ र प्राविधिक शिक्षालाई त अझ उच्च नाफा आर्जन गर्ने व्यापारिक केन्द्रका रूपमा दुरुपयोग गरिएको छ । सम्पूर्ण शिक्षाको दायित्व राज्यले बहन गर्नुपर्ने र शिक्षामा आमजनताको समान पहुँच हुनुपर्ने विषयमा हाम्रो आन्दोलन निरन्तरतामै छ । जिम्मेवार निकायमा बसेर आफ्ना निहित स्वार्थ पूरा गर्न केही भ्रष्ट र शैक्षिक माफियाहरूका कारण सीटीईभीटी अपारदर्शी र भ्रष्टाचारको अखडा बनिरहेको छ ।’

अखिल क्रान्तिकारीले सीटीईभीटीलाई श्रमजीवी जनताका छोराछोरीहरूले पढ्ने राष्ट्रिय आवश्यकतासँग एकाकार गर्दै सिर्जनशील, उद्यमी र दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा स्थापित गराउन चाहेको पनि मागपत्रमा उल्लेख छ ।

अखिल क्रान्तिकारीको मागपत्र यसप्रकार रहेको छ :

१. शुल्क निर्धारणको वैज्ञानिक मापदण्ड बनाएर सीटीईभीटीद्वारा सञ्चालित सबै सङ्कायको शुल्क निर्धारण गरी कडाइका साथ कार्यान्वयन गरियोस् ।

२. मापदण्डविपरीत सञ्चालित निजी कलेजहरूको सम्बन्धन तत्काल खारेज गरियोस् ।

३. सीटीईभीटीका स्वास्थ्यअन्तर्गतका आङ्गिक क्याम्पसहरूको विस्तार गरी भएका आङ्गिक क्याम्पसहरूमा कार्यक्रम थप गरियोस् र निजी शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिन पूर्ण रुपमा बन्द गरियोस् ।

४. सरकारी सामुदायिक विद्यालयमा थप कार्यक्रमसहित सम्बन्धन बढाई अनुगमन गरेर दक्ष जनशक्तिको व्यवस्था गरी गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरियोस् ।

५. छात्रवृत्ति वितरणको विधि वैज्ञानिक बनाई श्रमजीवी जनताका छोराछोरीहरूको पहुँच सुनिश्चित गरियोस् । साथै छात्रवृत्ति आवेदन निःशुल्क गरियोस् ।

६. परीक्षा फारामका नाममा लिइने महँगो शुल्क घटाई उचित शुल्क निर्धारण गरियोस् ।

७. छात्रवृत्ति नियमावली र भर्ना निर्देशिका परिमार्जन गरी कम्तीमा २० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस् ।

८. सामुदायिक तथा सरकारीअन्तर्गतका संस्थाहरूको अनुगमन गरी शुल्कमा एकरुपता कायम गरियोस् ।

९. आन्तरिक कारण देखाउँदै बन्द गरिएको पुनः परीक्षा (Back exam) को तुरुन्त व्यवस्था गरियोस् । साथै सम्पूर्ण परीक्षाहरूको परीक्षाफल ४ महिनाभित्र प्रकाशन गरियोस् ।

१०. बहुसङ्ख्यक विद्यार्थी असफल बनाउने अहिलेको गलत परीक्षाप्रणाली खारेज गरी वैज्ञानिक परीक्षाप्रणाली लागू गरियोस् ।

११. सीटीईभीटीका प्रादेशिक कार्यालयहरूलाई कार्यकारी जिम्मा दिइयोस् ।

१२. विगतमा हाम्रो सङ्गठनसँग भएका सम्पूर्ण सहमतिहरू कार्यान्वयन गरियोस् ।

क्रान्तिकारीले उल्लिखित मागहरू सुनुवाइका निम्ति १० दिनको समय उपलब्ध गराउँदै अन्यथा कडा किसिमको सङ्घर्ष गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :