नेकपा नवलपुरद्वारा भ्रामक समाचारको खण्डन

नेकपा नवलपुरद्वारा भ्रामक समाचारको खण्डन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले शुक्रबार केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आफ्ना कार्यकर्ताले पार्टी परित्याग गरेको भनि आएको समाचार झुठो, कपोकल्पित र निराधार भएको बताएको छ । जिल्ला सेक्रेटरी शीतलले शनिबार एक प्रेस वक्तव्यमार्फत समाचारमा आएका चन्द्रबहादुर घर्ती, दीपक घर्ती, अमृतकुमार, टिकाराम देवकोटालगायत व्यक्तिहरु एकवर्ष अगाडिदेखि नै पार्टीको साधारण सदस्य समेत नरहेको स्पष्ट पार्दै पार्टी विरुद्ध झुठा, अनैतिक र निम्नस्तरको अनर्गल प्रचार गरेर आत्मरति लिने दुस्साहस नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

जिल्ला सेक्रेटरी शीतलले विज्ञप्तिमा भनेका छन्, ‘केही सञ्चार माध्यममा हाम्रो पार्टीका कार्यकर्ताले ‘पार्टी परित्याग’ गरेको भनि आएको झुठा, कपोकल्पित र निराधार समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा आएका चन्द्रबहादुर घर्ती, दीपक घर्ती, अमृतकुमार, टिकाराम देवकोटालगायत व्यक्तिहरू एकवर्ष अगाडिदेखि नै पार्टीको साधारण सदस्य समेत नरहेको सम्पूर्ण जनसमुदायमा स्पष्ट गर्दछौं ।’

शीतलले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘निजहरु हिरासतमा रहँदा दुश्मनका सामु कायरतापूर्ण आत्मसर्मण गरेर क्रान्तिबाट भागेका भगौडाहरु भएको भन्दै निजहरुलाई पार्टीसँग जोडेर सञ्चार माध्यममा आएका समाचार निराधार, तथ्यहीन, बदनियतपूर्ण र भ्रामक हल्ला सत्य नरहेको बताउदै पार्टी र क्रान्ति विरुद्ध गरिएका गलत हर्कत र षड्यन्त्रहरुप्रति सजग र भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

सेक्रेटरी शीतलले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘आगामी दिनमा आफ्नो पार्टीको नाम जोडेर गलत क्रियाकलाप गर्ने, क्रान्तिको बदनाम गर्न प्रयास गर्ने, जनतामा भ्रम सिर्जना गर्न प्रयत्न गर्ने र पार्टी विरुद्ध झुठा, अनैतिक र निम्नस्तरको अनर्गल प्रचार गरेर आत्मरति लिने दुस्साहस नगर्न सम्बन्धित पक्षलाई हामी चेतावनी दिन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :