रमेश र सम्झना नेकपाबाट निष्कासित, नेकपाबाट विद्रोह गरेको हल्ला निराधार

रमेश र सम्झना नेकपाबाट निष्कासित, नेकपाबाट विद्रोह गरेको हल्ला निराधार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काभ्रेले विज्ञप्ति जारी गरी एक वर्षअघिदेखि पार्टीको सम्पर्कमै नरहेका जिल्ला सदस्यहरू रमेश नेपाली र सम्झना परियारलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी निष्कासित गरिएको जनाएको छ ।

जिल्ला सेक्रेटरी प्रकाशद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधि, व्यापारी, व्यवसायी र शुभचिन्तकहरूलाई पार्टीको नाम दुरुपयोग गरी चन्दा उठाएर खाने काममा मात्र सक्रिय ती व्यक्तिहरूले चारपाँचजना सोझासीधा जनतालाई झुक्याएर भेला पारी सरकारी पार्टीमा प्रवेश गरेको हल्ला फैलाएको तर उक्त समाचारमा कुनै सत्यता नरहेको उल्लेख छ ।

प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा केन्द्रीय स्तरका नेतासहित काभ्रे जिल्लाका ६०–७० जना नेकपा कार्यकर्ताले पार्टी परित्याग गरेको भनी चलाइएको हल्ला निराधार रहेको पनि उल्लेख छ ।

विज्ञप्तिमा इमानदार, वैज्ञानिक समाजवादको आदर्शप्रति प्रतिबद्ध, असल कार्यकर्ताले पतन र विसर्जनको अन्तिम बिन्दुमा पुग्दै गरेको भ्रष्टाचारी तथा राष्ट्रघातीहरूको पार्टीमा प्रवेश गर्ने प्रश्नै नआउने उल्लेख छ । प्रकाशले यस किसिमको आधारहीन हल्ला र षड्यन्त्रप्रति सजग रही भ्रममा नपर्न पनि सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :