प्रधानमन्त्री केपी वलीलाई कैदीबन्दीको चिठी

प्रधानमन्त्री केपी वलीलाई कैदीबन्दीको चिठी

केपी वलीजी, अभिवादन

तपाईं त निकै नै बिरामी हुनुहुन्छ भन्ने सुनिन्छ, के छ हालखबर ?

तपाईं त विदेशी दलाल हुनुहुन्छ भन्ने खबर सबैतिरबाट आइरहेको छ । महाकाली सन्धि गर्दा नै तपाईंले अकुत कुम्ल्याउनुभएको भन्ने थियो । कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पाठ्यक्रममा राख्नबाट रोक्दा केकति आयस्ता गर्नुभयो कुन्नि ? साम्राज्यवादी जासुस सामन्त गोयल र स्थल सेनाध्यक्षसँगको गोप्य बैठकबाट अरू पनि तय भएकै होला !

तपाईंको हैसियत प्रधानमन्त्रीको जस्तो पनि छैन भन्ने सुनिन्छ । तपाईं जनयुद्धविरोधी हुनुहुन्थ्यो भन्ने कुरा त हामीलाई राम्रैगरी थाहा थियो । तपाईंले गणतन्त्र ल्याउने आन्दोलनलाई बयलगाडा चढेर अमेरिका जानुजस्तै दुःसाध्य हो भनेर खिस्याउनुभएको हिजैजस्तो लाग्छ । तपाईंको पार्टी एमालेसँग जनयुद्धकालीन प्रचण्ड (हाल फेरि पुष्पकमल दाहाल) ले विचारबाट विचलन भएपछि मात्र एकता गरेको पनि हामीलाई राम्रोसँग थाहा छ । तपाईं त झापा विद्रोहका कलङ्क हुनुभयो । यो पनि हामीलाई थाहा भएकै कुरा हो । दुई कलङ्कहरूका बीचको सत्तास्वार्थप्रेरित गठबन्धनको हालत पनि दुनियाँले अहिले देखिरहेको छ, तपाईंले नदेख्ने कुरै भएन ।

नेपालको राष्ट्रियता र भारतीय साम्राज्यवादको भूगोलसँग जोडिएको नेपालको सीमा समस्याका बारेमा तपाईंमा ठूलो समस्या अवश्य छ । तपाईंले अमेरिकी साम्राज्यवादी, राष्ट्रघाती परियोजना एमसीसी पास गर्नलाई घुँडा टेकिरहनुभएको छ । तपाईं र प्रचण्ड मिलेर नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको पनि ताजै छ । कम्युनिस्टको नाम लिएर विश्व कम्युनिस्ट आन्दोलनको बदनाम गर्नुभएको छ । यो सबैलाई स्पष्ट छ ।

वलीजी, तपाईंले दलाल राज्यव्यवस्था र सरकारको प्रतिनिधित्व गर्नुभएको छ । यसमा सबैको एकमत छ । तपाईं त निरङ्कुश भैसक्नुभएको छ । कोरोनाको कहरमा पनि भ्रष्टाचार गर्न छोड्नुभएन । गरिब नेपाली जनतालाई लुट्न छोड्नुभएन । उल्टै यस्तो महामारीमा पनि जनतालाई उपचारसमेत गर्नुभएन । तर तपाईंले आफ्नो उपचारमा भने जनताले तिरेको करबाट कति खर्च गर्नुभयो ? त्यसको हिसाबकिताब जनताले अवश्य खोज्नेछन् । तपाईंले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई गोली हानी मार्नुभयो, ज्यानमारा हुनुभयो । गिरफ्तार गर्ने, यातना दिने, हिरासतमा राख्ने, झूट्टा मुद्दा लगाउने, अनावश्यक दुःख दिने, झूट्टा मुद्दा लगाएर जेलसमेत हाल्नुभयो । हामी ५ महिला र ११ पुरुषसमेत १६ जना नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरी बाजुरा र अछाम जिल्ला कारागारमा राख्नुभएको छ । झूट्टा मुद्दा लगाउँदा बाजुराका तत्कालीन डीएसपी उद्धवसिंह भाटले भनेका छन्– प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ’बादल’ र तत्कालीन आईजीपी सर्वेन्द्र खनालले आदेश गरेअनुसार नै मैले यो सब गरेको हुँ । माथिकै निर्देशनका आधारमा मैले गरेको हुँ । डीआईजीलाई नसोधीकनै खोस्टा पेस्तोल, राइफलका गोलीलगायत सामानहरू जम्मा गरी नक्कली हस्ताक्षर गरेको र मुद्दा चलाएको हो भनी भाटले भनेका छन् । यसरी ६८ दिनसम्म हिरासतमा राखी यातना दिई हैरान गराउने पनि माथिकै निर्देशन हो भनेका छन् । त्यसो भए तपाईंलाई पनि त जनअदालतले म्याद तामेल गरेको छ । किन हाजिर हुनुभएन ? अब तपाईंहरूलाई पनि जनतालाई दुःख दिएको, दलाली गरेको, भ्रष्टाचार गरेको, राष्ट्रघात गरेकोमा आवश्यकताअनुसार कारबाही हुनेछ ।

वलीजी, तपाईंहरू फुट्नु वा जुट्नुमा कुनै अर्थ छैन किनभने तपाईंहरू त फुटे पनि जुटे पनि आखिर संसदीय व्यवस्थाको सेवा गर्ने दलाल नै हुनुहुन्छ । तपाईंहरूका कार्यकर्ता इमानदार पनि छन् । अब तपाईंहरूलाई सधैँ साथ देलान् भन्ने आशा नगरे हुन्छ । सेना, प्रहरी र कर्मचारी पनि तपाईंहरूदेखि वाक्क भैसकेका छन् । होस गर्नुहोला ! अब तपाईंहरूको अवधि सकियो ।

मलाई एउटा अचम्म लागेको छ, राष्ट्रपतिले त तपाईंले प्रस्ताव राख्नेबित्तिकै सही पो गर्नुहुने रहेछ । फेरि छिट्टै खारेज गरौँ भन्ने प्रस्ताव राख्दा यति छिट्टै फेरि पनि हस्ताक्षर ठोक्न सिपालु हुनुहुँदो रहेछ । भनेलु ज्ञानी पो हुनुहुँदो रहेछ । कति सिपालु है ? त्यसो भए तपाईंको अहिले झन्डै दुई तिहाइको सरकार छ । तपाईं वैज्ञानिक समाजवादको प्रस्ताव लिएर राष्ट्रपतिकहाँ जानुस् न, राष्ट्रपतिले तत्काल सही ठोकेर पास गर्दिहाल्नुहुन्छ ! तर तपाईं त्यसो गर्नुहुन्न किनकि तपाईं दलाल र भ्रष्टहरुको संरक्षक भैसक्नुभएको छ । अब तपाईंको विश्वास छैन, तपाईंहरूको यस्तै पारा हो भने देश नै बेच्नसक्ने सम्भावना बढेर आयो । जनतालाई धोका दिइरहनुभएको छ । तपाईं त अपराधी राष्ट्रघाती भैसक्नुभयो । अब सत्ता र सरकार दुवै छोडनुहोस् । सत्ता जनतालाई नेकपाको नेतृत्वमा छोडिदिनुस्, हामी जिम्मा लिन तयार छौँ । तपाईंको स्वास्थ्यलाई ख्याल गर्नुहोला । खर्च चाहिएमा कैदीबन्दीका लागि छुट्ट्याउनुभएको दैनिक ६० रूपैयाँमध्ये बचाएकोबाट पठाइदिउँला ।

वलीजी, हिरासत र जेलमा रहेका राजनीतिक नेता र कार्यकर्ताको क्षतिपूर्ति कसले दिने हो ? हाम्रो १६ जनाको भने तपाईं, रामबहादुर थापा ‘बादल’, तत्कालीन आईजीपी सर्वेन्द्र खनाल र बाजुराका तत्कालीन डीएसपी उद्धवसिंह भाटले आत्मसन्तुष्टिबाट लिनुहुनेछ । धन्यवाद ।

चूडामणि ओली ‘आदर्श’
केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी
हाल : बाजुरा कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :