पार्टीको नाममा चन्दा उठाउने अपराधिक गिरोहलाई गम्भीर चेतावनी

पार्टीको नाममा चन्दा उठाउने अपराधिक गिरोहलाई गम्भीर चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गा जिल्ला समितिले पार्टीको नाममा अपराधिक गिरोहले विभिन्न स्थानमा आर्थिकलाभ लिइरहेको खुलेका कारण व्यवसायी तथा सर्वसाधरणलाई सचेत रहन आग्रह गरेको छ । ओखलढुङ्गा जिल्ला इन्चार्ज अमृत सागरले बिहीबार प्रेस विज्ञप्तिमार्फत ओखलढुङ्गा, सोलुखुम्वु र काठमाडौँमा व्यवसाय गर्दै आएका व्यापारी, उद्योगीहरुलाई पार्टी प्रवक्ताको स्टाफ, सैन्य कमान्डर, केन्द्रीय सदस्य तथा आर्थिक विभाग सदस्य हुँ भनि आर्थिक सहयोग दिन भनि दवाब दिएका कुरा खुल्न आएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस किसिमका अपराधमा संलग्न गिरोहलाई गम्भीर चेतावनी दिएका छन् ।

ओखलढुङ्गा जिल्ला इन्चार्ज अमृत सागरले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनार्थ संघर्षरत रहेको कुरा जनसमक्ष सर्वविदितै छ । यसरी हाम्रो पार्टी जनतामा स्थापित हुँदै गएको जनताको विश्वास जिती लोकप्रियता हासिल गरिरहेको अवस्थामा उक्त कुराको नाजायज फायदा उठाउँदै केही अपराधिक गिरोहले आर्थिक लाभ लिन यस ओखलढुङ्गा जिल्ला इन्चार्ज अमृत सागरको नामबाट नक्कली आर्थिक सहयोग मागपत्र बनाई ओखलढुङ्गा, सोलुखुम्बु र काठमाडौँ समेतका स्थानमा काम गर्दै आएका उद्योगी, व्यवसायी एवम् व्यापारीहरु समक्ष पार्टी प्रवक्ताको स्टाफ, सैन्य कमान्डर, केन्द्रीय सदस्य तथा आर्थिक विभाग सदस्य आदि हुँ भनि आर्थिक सहयोग गर्न दवाव दिएको कुरा खुल्न आएकाले हाम्रो जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

इन्चार्ज अमृत सागरले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘उपरोक्त सन्दर्भमा यसखाले अपराधिक कार्यमा संलग्न जो कोही भए पनि हाम्रो पार्टी यीनीहरुलाई जनताको अदालतमा उभ्याउने प्रतिज्ञा गर्दछ । क्रान्ति एवम् वर्गसंघर्षमार्फत जनताको सेवामा समर्पित हाम्रो पार्टी यस्ता गिरोहहरुको धम्की र भ्रममा नपर्न आम उद्योगी, व्यवसायी, व्यापारी तथा सहयोगी जनसमुदायमा हार्दिक अपिल गर्दछ साथै जीवनमरणको संघर्षमा होमिएको पार्टी र योद्धाहरुसँग नखेल्न, पार्टी र नेतृत्वको बदनाव नगर्न, आर्थिक लाभ लिने उद्देश्यले गरिएका यस किसिमका अपराधमा संलग्न गिरोहलाई गम्भीर चेतावनी दिन चाहान्छौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :