पार्टीविरुद्ध षड्यन्त्र गर्न खोज्ने तत्वबाट सजग बन्न नेकपाको आग्रह

पार्टीविरुद्ध षड्यन्त्र गर्न खोज्ने तत्वबाट सजग बन्न नेकपाको आग्रह

काठमाडौँ : नेकपा उपत्यका विशेष ब्युरोले पार्टीका नाममा अवैध चन्दा असुली गर्ने, आर्थिक अराजकता मच्चाउने, गुटबन्दी गर्ने, पार्टीविरुद्धमा साँठगाँठ गर्ने, पार्टीको सूचना दुश्मनलाई बेच्ने र पार्टीका कतिपय नेतृत्वलाई गिरफ्तार गराउँनेजस्ता कार्यमा संलग्न रहेका केदार खतिवडा हाल आफ्नो पार्टीमा आबद्ध नरहेको प्रस्ट पार्दै सम्पूर्ण पार्टीपंक्ति, सहयोगी, जनसमुदाय तथा क्रान्तिप्रेमी दाजुभाइ–बहिनीहरूलाई निजले फैलाएको भ्रममा नपर्न सबैमा आह्वान गरेको छ । ब्युरो इन्चार्ज मिलनले बुधबार विज्ञप्तिमार्फत पार्टीका नाममा अवैध चन्दा असुली गर्ने आत्मसमर्पणकारी केदार खतिवडा अहिले पनि पार्टीविरुद्ध षड्यन्त्रमूलक गतिविधि र गुटबन्दी एवम् आर्थिक अपचलनमा संलग्न रहेकोले उनले फैलाएको भ्रममा नपर्न अनुरोध गरेका छन् ।

विशेष ब्युरो इन्चार्ज मिलनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने सुनौलो र गौरवपूर्ण अभियानमा सरिक छ । क्रान्तिविरोधी सबैखाले अवरोधलाई चकनाचुर पार्न र एकीकृत जनक्रान्तिलाई झन् संगठित, स्पातिलो र जुझारु बनाउँदै दलाल पुँजीवादका असली मतियार केपी ओली नेतृत्वको दलाल सामाजिक फासिवादी सरकारका सबैखाले षड्यन्त्रलाई चिर्दै हाम्रो पार्टी राष्ट्र, जनता, क्रान्ति र वैज्ञानिक समाजवादको पक्षमा संघर्षरत छ । विजयोन्मुख एकीकृत जनक्रान्तिका पाइला निरन्तर अगाडि बढिरहेको छ ।’

ब्युरो इन्चार्ज मिलनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘क्रान्ति र प्रतिक्रान्ति भीष्ष्ण टकराव बढ्दै जाँदा पार्टीमा लुकेर बसेका खराब प्रवृत्ति, तत्व र अवसरवादका मतियारहरूको गलत गतिविधिको उजागार र उनीहरू किनारा लाग्दै जाने प्रक्रिया बढ्नु स्वाभाविक र अनिवार्य हुन्छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको १९ औँ राष्ट्रिय सम्मेलनमा चरम गुटबन्दी गरी एउटा सानो झुन्डसहित तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका केदार खतिवडा गलत र षड्यन्त्रमूलक ढंगले पुनः हाम्रो पार्टीमा प्रवेश गरी आर्थिक अराजकता मच्चाउने, गुटबन्दी गर्ने, पार्टीविरुद्धमा साँठगाँठ गर्ने, पार्टीको सूचना दुश्मनलाई बेच्ने र पार्टीका कतिपय नेतृत्वलाई गिरफ्तार गराउँनेजस्ता कार्यमा संलग्न भएको अवस्था देखियो ।’

इन्चार्ज मिलनले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘पार्टीमा नदेखाइएको लाखौँ रकम दुश्मनलाई बुझाउन पुगे । आन्तरिक रूपमा आत्मसमर्पण गर्दै चारलाख पचास हजार धरौटी बुझाएको नाटक गरेर रिहा भएपश्चात् (एक वर्षभन्दा धेरै समय) पार्टीमा सम्पर्कमा नै नरहेका निज केदार खतिवडाले अहिले पनि पार्टीविरुद्ध षड्यन्त्रमूलक गतिविधि र गुटबन्दी एवम् आर्थिक अपचलनमा संलग्न रहेको र जेलभित्र रहनुभएका कमरेडहरूबारे भ्रमपूर्ण प्रचार गर्दै हिँड्नेजस्ता गलत कार्य पाइएकाले सम्पूर्ण पार्टीपंक्ति, सहयोगी, जनसमुदाय तथा क्रान्तिप्रेमी दाजुभाइ–बहिनीहरू निज केदार खतिवडा हाम्रो पार्टीको कुनै पनि तहको आधिकारिक व्यक्ति नभएकाले निजले फैलाएको भ्रममा नपर्न यसै प्रेस विज्ञप्तिमार्फत सबैमा स्पस्ट पार्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :