बाजुरा कारागारभित्रै भव्य रूपमा मनाइयो नेकपाको सातौँ पुनर्गठन दिवस

बाजुरा कारागारभित्रै भव्य रूपमा मनाइयो नेकपाको सातौँ पुनर्गठन दिवस

काठमाडौँ : बाजुरा कारागारमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले ७ औँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाएका छन् । ‘एकीकृत जनक्रान्तिको झन्डालाई उचो पारौँ’ भन्ने पार्टीकेन्द्रको मूल नारालाई आधार बनाएर कारागारमा सोमबार पार्टी पुनर्गठन दिवस मनाइएको हो । जिल्ला कारागारभित्र रहेका आस्थाका बन्दीहरूले औपचारिक कार्यक्रममार्फत पुनर्गठन दिवस मनाएको बाजुराबाट प्राप्त समाचारमा जनाइएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ ले माओवादी जनयुद्धलाई प्रचण्डले शान्तिसम्झौतामा ल्याएर दलाल संसदीय व्यवस्थामा बेचेको बताए । अहिले माओवादीको केही हिस्सालाई प्रचण्डले एमालेमा बुझाएको पनि नेता आदर्शले बताए ।

प्रचण्ड माओवादी आन्दोलनको उद्देश्यविपरीत क्रान्तिविरुद्ध दलाल र गद्दार बनेर संशोधनवादी बाटोमा गएपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा ठूलो हिस्साले विद्रोह गरेको र वैद्य नेतृत्वको पार्टीले पनि क्रान्ति आरम्भ गर्न नसकेपछि विप्लवको नेतृत्वमा २०७१ साल मङ्सिर ८ गते नेकपा गठन गरिएको उनले स्मरण गराए ।

कार्यक्रममा नेता आदर्शले केपी वली र प्रचण्डले कम्युनिस्ट पार्टीको नाम लिएर बदनाम गरेको पनि प्रस्ट पारे । लोकतान्त्रका नाममा सहिदहरूको रगत नसुक्दै र घाइतेहरूको घाउ निको नहुँदै केपी र प्रचण्डले आपराधिक क्रियाकलाप गरेको उनले बताए ।

उनले भने, ‘अहिलेका नेता–कार्यकर्ताको आफ्नै जीवनकालमा भएका झापा विद्रोह, जनयुद्ध र ०६२–०६३ सालको जनआन्दोलनका प्रत्यक्षदर्शी हुँदाकै अवस्थामा केपी र प्रचण्डले कुनै पनि जनता, कार्यकर्ता र क्रान्तिकारीहरूलाई गिरफ्तार गर्ने, धरपकड गर्ने, गोली हान्ने, झूट्टा मुद्दा लगाउने, आर्थिक क्षति गर्नेजस्ता आपराधिक क्रियाकलाप गर्दै आएका छन् । त्यसको छानबिन र कारबाही एकीकृत जनक्रान्तिको मैदानबाट उचित समयमा आमजनसमुदायले गर्नेछन् र त्यसको नेतृत्व नेकपाले गर्नेछ ।’

केपी वलीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गरेर गम्भीर राष्ट्रघात गर्ने षड्यन्त्र गरिरहेकाले उक्त षड्यन्त्रका विरुद्ध चनाखो भएर प्रतिरोधका लागि तयार रहन उनले देशभक्त नेपालीलाई आह्वान पनि गरे । भारतीय साम्राज्यज्यवादले नेपालका कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूमि आफ्नो नक्सामा पार्दा पनि केपी वलीले त्यो भूमि फिर्ता गराउनुको साटो उल्टै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख र भारतीय सेनाप्रमुखलाई नेपाल बोलाएर सम्मान र रहस्यमय भेटघाट गरी झन् ठूलो राष्ट्रघातको पगरी गुथेको नेता आदर्शले बताए । सीमा सुरक्षाका बारेमा केपी सरकार चुकेको पनि उनको भनाइ थियो । केपी र प्रचण्ड कम्युनिस्टका नाममा दलाल पुँजीवादका चाकर भएको नेता आदर्शले बताए ।

साम्राज्यवादी उत्पीडन र दलाल पुँजीवादी शोषणका विरुद्ध एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादको प्राप्ति देश र श्रमिक जनताको मुक्तिको एक मात्र विकल्प भएकाले विभिन्न पार्टीमा छरिएर रहेका देशभक्त, क्रान्तिकारी, उत्पीडित वर्ग र समुदायलाई जनक्रान्तिमा लामबद्ध हुन नेता आदर्शले आह्वान गरे ।

कोरोना कहरले थलिएका जनतामाथि उल्टै कहर थोपरेर वली सरकारले राष्ट्रघातमाथि जनघात लादेको नेता आदर्शको भनाइ थियो । सबैखाले अन्याय र अत्याचारको अन्त्यको एक मात्र विकल्प जनक्रान्ति भएकाले त्यसका लागि क्रान्तिको मैदानमा रहेको नेकपामा लामबद्ध हुन उनले सबै तप्काका न्यायप्रेमीहरूलाई आह्वान पनि गरे । केपी वली र प्रचण्ड देश र जनताका नेता नभएर फासिवादी संसदीय व्यवस्था र दलाल पुँजीवादका मतियार भएकाले त्यसबाट विद्रोह गर्न उनले अपिल गरे ।

नेता आदर्शले कैदीबन्दीहरूको समस्याका विषयमा धारणा राख्दै सरकारले कैदीहरूमाथि ठूलो अपराध गरेको बताए । सरकारले दिएको प्रतिदिन ७ सय ग्राम चामल र ६० रुपैयाँले कुनै पनि हालतमा कैदीले जीवन चलाउन नसक्ने उनले बताए ।

देशभरका जेलहरूमा प्रशासनसँग मिलेर चौकीदार र नाइकेहरूले कैदीबन्दीहरूमाथि मानसिक, शारीरिक र आर्थिक यातना दिने र शोषण गर्ने गरेको उनको भनाइ थियो । जेलभित्रै शोषित तथा उत्पीडित कैदीबन्दीहरूका दुःखका कथा सुनाउँदै उनले आर्थिक शोषणमा परेका कैदीबन्दीहरूले आफन्त र घरपरिवारलाई टेलिफोन गर्दा नाइकेहरूले एक कलकै ५ रुपैयाँभन्दा बढी शुल्क लिएर ज्यादती गरेको बताए । बाजुरा जेलमा भने नेपाल टेलिकमबाट नेपाल टेलिकमकै नम्बरमा फोन गर्दा १ रुपैयाँ मात्रै शुल्क लाग्ने बनाइएको र आम्दानी सबै बन्दीहरूको साझा बनाइएको उनले बताए । यो नेपालको सबैभन्दा उत्कृष्ट काम भएको उनको भनाइ छ ।

त्यस्तै गम्भीर प्रकृतिका बिरामीलाई प्रत्येक जेलमा बेवास्ता गरिने गरेको उनले बताए । उनले भने, ’देशैभरिका कैदीबन्दी र थुनुवाको स्वास्थ्य अवस्था निकै कमजोर छ । अझ विकट जिल्लाका कैदीबन्दी वा थुनुवाहरूले सुविधाजनक अस्पताल नहुँदा निकै कष्टपूर्ण स्थितिमा बाँच्नुपरेको छ । यसतर्फ केपी वली सरकारले कुनै ध्यान दिएको छैन ।’

अम्मलाल थापा ‘आशीष’ को अध्यक्षतामा भएको पार्टी पुनर्गठन दिवस कार्यक्रममा केन्द्रीय सदस्य आदर्शका साथै धर्मराज सुनार, राजेशकुमार शाही ‘आकाश’, डबलबहादुर नेपाल, उदय कसेरा, विजय हमाल, कृष्णराज गिरीलगायतले एकापसमा शुभकामना साट्दै मन्तव्य राखेका थिए । डम्बरबहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गोरखराज गिरीले गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :