प्रहरी घेराबन्दीका बीच रामेछापमा पार्टीको सातौँ पुनर्गठन दिवस भव्य रूपमा मनाइयो

प्रहरी घेराबन्दीका बीच रामेछापमा पार्टीको सातौँ पुनर्गठन दिवस भव्य रूपमा मनाइयो

रामेछाप : नेपाल कम्युनिस्ट पार्टी रामेछापले पार्टीकेन्द्रको घोषित कार्यक्रमअनुसार सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । प्राप्त समाचारअनुसार चौतर्फी सुरक्षाकर्मीको घेराबन्दी र राज्यका तर्फबाट लगाइएको प्रतिबन्ध चिर्दै उत्सवका रूपमा पुनर्गगठन दिवस मनाइएको हो ।

प्रमुख अतिथि जिल्ला इन्चार्ज चैतन्यले नेपाली जनता समस्या नै समस्याका बीचमा गुजारा चलाइरहेको तर राज्यसत्ता सञ्चालन गर्नेहरू कानमा तेल हालेर भ्रष्टाचार र कमिसनको खेलमा रमाउँदै कुर्सीको लुछाचुँडीमा व्यस्त रहेको बताए । उनले भने, ‘अब सबै समस्याको समाधान क्रान्तिबाट मात्र हुन्छ । नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्तिको माध्यमबाट स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्था मात्र अहिलेको उच्चतम् व्यवस्था भएकाले सबै देशभक्त, प्रगतिशील, वामपन्थी, न्यायप्रेमी जनसमुदायबीच एकताको खाँचो छ ।’

कार्यक्रममा जिल्ला सेक्रेटरी विवेकले नेपालको कम्युनिस्ट आन्दोलन नेताहरूको खिचातानी र गुटबन्दीले खतम भएको बेला विप्लवले साहस गरेकाले नै फेरि क्रान्तिकारीहरू एक ढिक्का हुँदै आएको बताए । उनले अबको क्रान्तिको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको पनि प्रस्ट पारे । आफ्नो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने र दलाल पुँजीवादी व्यवस्थालाई ध्वस्त पारिछाड्ने उनले बताए ।

वक्ताहरूले कार्यक्रमस्थलवरिपरि सुरक्षाकर्मीको घेराबन्दी भएकाले आपत्तिसमेत जनाए । सुरक्षाकर्मीहरूलाई बरु दलालविरुद्ध केन्द्रित हुन र सङ्घर्षमा सबैले हातेमालो गर्नुपर्ने सुझाव पनि दिए ।

जनकलाकार जीवतले जनवादी गीतसङ्गीत प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोचक बनाएका थिए । विश्वासको सञ्चालन, वैकल्पिक जिल्ला समिति सदस्य रजितको अध्यक्षता र जिल्ला इन्चार्ज चैतन्यको प्रमुख आतिथ्यमा उत्सव मनाइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :