जनप्रगतिशील मोर्चा मलेसियाद्वारा जनक्रान्ति सफलताको शुभकामना

जनप्रगतिशील मोर्चा मलेसियाद्वारा जनक्रान्ति सफलताको शुभकामना

काठमाडौँ : मलेसियामा बस्ने नेपालीहरूको सङ्गठन जनप्रगतिशील मोर्चा मलेसियाले नेपालमा एकीकृत जनक्रान्ति सफलताको शुभकामनाका साथै नेकपाले मनाइरहेको सातौँ पार्टी पुनर्गठन दिवसप्रति ऐक्यबद्धता प्रकट गरेको छ । मोर्चाका अध्यक्ष विजय लामा र महासचिव तुफान सिंहले जारी गरेको विज्ञप्तिमा एकीकृत जनक्रान्तिमार्फत मात्र मुक्ति सम्भव रहेकाले त्यसको नेतृत्व गरिरहेको नेकपालाई सफलताको शुभकामना सन्देश दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आदरणीय न्यायप्रेमी जनसमुदायहरू, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, ,बौद्धिक श्रमजीवीहरू, युवा तथा विद्यार्थीहरू, देशभक्त र राष्ट्रवादी शक्तिहरू, कर्मचारी, सेना, प्रहरी साथै नेपाल र नेपाली क्रान्तिलाई योगदान गर्नुहुने, माया गर्नुहुने सम्पूर्ण क्षेत्र तथा आफ्नो अमूल्य जीवन देश र जनताका लागि बलिदान गर्नुहुने महान् सहिदहरू, बेपत्ता, घाइते योद्धाहरू आजको यो विशेष दिनमा सम्पूर्णमा सम्मान तथा स्मरण गर्न चाहछौँ । मङ्सिर ८ गते नेपाली कम्युनिस्ट आन्दोलनको छुट्टै महत्व र विशेषता राख्ने दिन । नेपाली क्रान्तिमा देखापरेको विसर्जनवाद, संशोधनवाद, आत्मसमर्पणवाद र प्रतिक्रान्तिका विरुद्ध क. विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरिएको दिन । ७ औँं पार्टी पुनर्गठनको दिवस । दशकौँदेखि जनताले गरेको बलिदान, त्याग र तपस्यालाई व्यक्तिगत स्वार्थ र निजी अस्तित्व अनि अमूक व्यक्तिको हितमा मात्र प्रयोग गरी हिजो क्रान्तिबाट प्राप्त भएका सम्पूर्ण उपलब्धिहरू दलालहरूलाई सुम्पँदै पुरानै, जनताबाट बहिष्कृत राज्यप्रणाली कायम गरियो र देश र जनताको अधिकारलाई विदेशी दलालहरू, भ्रष्टाचारी र राष्ट्रघातीहरूको इसारामा बन्धक बनाइएपछि नेपाली क्रान्तिलाई नयाँ ढङ्गले संश्लेषण गर्दै क्रान्तिको झन्डालाई सगरमाथाको उचाइमा फर्फराउँदै विभिन्न सङ्घर्ष र बलिदानको गौरवपूर्ण इतिहासबाट आज हाम्रो पार्टी नेकपा यहाँसम्म आइपुगेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको सङ्घर्ष, जनकारबाही र जनसमर्थनबाट आत्तिएको दलाल राज्यसत्ताले अहिले पनि संविधानको खिल्ली उडाउँदै राजनीतिक दलमाथि लगाएको प्रतिबन्ध साथै जनघात, राष्ट्रघात, भ्रष्टाचार, स्वास्थ्य, शिक्षा र दैनिक उपभोग्य वस्तुजस्ता जनताका नैसर्गिक अधिकारमाथिको लुटखसोट र ज्यादतीले देश र जनता आक्रान्त छन् । झनै कोभिड १९ को विश्वमहामारीले विश्वको अर्थतन्त्र नै खतरामा परेको बेला नेपालजस्तो गरिबीको रेखामुनि रहेको देशको जनधनको सुरक्षा झनै गम्भीर भइरहेको छ । तर यो दलाल राज्यव्यवस्थासँग कुनै पनि ठोस कार्यक्रम र योजनाहरू छैन । यो सबै समाधान गर्न दलाल राज्यव्यवस्थाबाट सम्भव पनि छैन । त्यसैले हाम्रो पार्टीले पुनर्गठन भएदेखि नै वैज्ञानिक समाजवादले मात्र राष्ट्र र जनताको समस्या हल गर्न सम्भव छ भन्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गर्दै आएको विषय सर्वविदितै छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको सङ्घर्ष निरन्तर जारी छ । क्रान्तिमा भएको जनसमर्थन र युवाहरूको उत्साहजनक सहभागिताले क्रान्ति छिट्टै सम्पन्न हुनेछ । सम्पूर्ण नेपालीहरू एकजुट भाई अघि बढौँ । क्रान्तिलाई सफल पारौँ । अनि मात्र जनता अधिकारसम्पन्न हुनेछ । देश स्वाधीन र समुन्नत हुनुका साथै साथै एकीकृत जनक्रान्तिमार्फत क्रान्ति सम्भव छ भन्ने शुभकामना सन्देश आजको विशेष दिनमा व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :