पार्टी पुनर्गठन दिवसमा विदेशमा बस्ने नेपालीहरूको ऐक्यबद्धता

पार्टी पुनर्गठन दिवसमा विदेशमा बस्ने नेपालीहरूको ऐक्यबद्धता

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपालमा भव्यतापूर्वक उत्सवका रूपमा मनाइँदै गरेको नेकपाको सातौँ पुनर्गठन दिवसप्रति ऐक्यबद्धता प्रकट गरेको छ । मोर्चाका अध्यक्ष जयकृष्ण पोद्दार र महासचिव रवीन पुनले विज्ञप्ति जारी गरी पार्टी पुनर्गठन दिवसमा मोर्चामा आबद्ध नेपालीहरूको भौतिक उपस्थिति हुन नसके पनि उत्सव सफलताको शुभकामनासहित ऐक्यबद्धता प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मङ्सिर ८ गते पार्टीको सातौँ पुनर्गठन दिवसका उपलक्ष्यमा पार्टीको आयोजनामा हुने विभिन्न उत्सव कार्यक्रमहरूमा सरकारी प्रतिबन्धको बीचबाट उपस्थित भई गिरफ्तार हुँदै अगाडि बढ्ने सम्पूर्ण आमजनसमुदायप्रति नेपाली जनप्रगतिशील मोर्चा कतार हार्दिक आभार प्रकट गर्दछ । मङ्सिर ८ को कार्यक्रममा भौतिक रूपले मोर्चाका तर्फबाट उपस्थित हुन नसके पनि नेपाली जनप्रगतिशील मोर्चा कतार केन्द्रीय समिति उक्त वार्षिक उत्सव कार्यक्रमप्रति पूर्ण रूपले ऐक्यबद्धता जाहेर गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा रहेका लाखौँ नेपाली युवाहरूको हकहितका निमित्त ऐतिहासिक कदमहरू चाल्दै मजदुरहरूका बीचमा नङ र मासुको सम्बन्ध कायम गरी आइरहेको प्रगतिशील नेपालीहरूको साझा सङ्गठनका रूपमा नेपाली जनप्रगतिशील मोर्चा कतार स्थापित रहेको सर्वविदितै छ । यो सङ्गठनले देशभित्रका दलाल संसदीय पुँजीवादीहरूको भद्दा मार पनि खेपिरहेको छ । त्यसका बाबजुद युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न भरमग्दुर प्रयत्नरत छ । देश परिवर्तनको कठिन आन्दोलनमा ज्यानको आहुति दिनुहुने ज्ञातअज्ञात सम्पूर्ण सहिदहरूप्राति मोर्चा परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । अपाङ्ग, घाइते र बेपत्ता योद्धाहरूमा हार्दिक सम्मान प्रकट गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘देशभित्र राष्ट्रियता र जनजीविकाको संदर्भ दयनीय अवस्थामा छ । आफूलाई कम्युनिस्ट र त्यसमा पनि समाजवादउन्मुख भन्न रुचाउने सरकार कथित दुई तिहाइको हवाला दिँदै दलाल पुँजीपतिहरूको फेरो समातेर निर्लज्ज तरिकाले जनताको शोषण गरिरहेको छ । अर्कोतिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरूलाई मालेमावादको विकसित वैचारिक आलोक एकीकृत जनक्रान्तिको कार्यदिशाद्वारा दलाल संसदीय पुँजीवादी व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादको झन्डा उठाउँदै नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहेको छ । आजको यो कठिन परिस्थितिमा महान् जनयुद्ध र तमाम मुक्तिकामी आन्दोलनले स्थापित गरेका मूल्य र मान्यताहरूको रक्षा र विकास गर्ने नैतिक अधिकार नेपाल कम्युनिस्ट पार्टीबाहेक अरू कसैलाई छैन । महान् तथा गौरवशाली पार्टीको वैज्ञानिक र वस्तुवादी संश्लेषणसहित २१ औँ शताब्दीको मौलिक जनक्रान्ति ‘एकीकृत जनक्रान्ति’ वैज्ञानिक मार्गनिर्देशन र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको स्पष्ट उद्देश्यसहित अगाडि बढिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :