जिल्ला इन्चार्ज सिंह र आलेलाई तत्काल रिहा नगरे सम्झौताहिन सङ्घर्ष गर्छौ : नेकपा

जिल्ला इन्चार्ज सिंह र आलेलाई तत्काल रिहा नगरे सम्झौताहिन सङ्घर्ष गर्छौ : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले मगरलाई प्रहरीले गिरफ्तार गरेकोप्रति घोर निन्दा एवं भत्र्सना गर्दै सिंह र आले मगरको रिहाइका लागि पहल गरिदिन बुद्धिजीवी, मानवअधिकारकर्मी एवम् सरोकारवाला सबैलाई हार्दिक अनुरोध गरेको छ ।

ब्युरो इन्चार्ज भीमले शुक्रबार प्रेस वक्तव्यमार्फत शान्तिपूर्ण पार्टीको कामको सिलसिलामा रहेका सिंह र आलेमगरलाई बुटवल दीपनगरबाट गिरफ्तार गरी विस्फोटक पदार्थ जस्ता झुठो र नक्कली मुद्दा लगाएर फसाउन खोजिएको भन्दै देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका अस्तव्यस्त भएको बेला त्यसको समस्या समाधान गर्नुको साटो नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, जेल हाल्ने र धरपकड गर्ने जस्ता सरकारको फासिवादी र आततायी रहेको कदमका विरुद्ध पार्टीले सम्झौताहीन सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।

लुम्बिनी ब्युरो इन्चार्ज भीमले प्रेस वक्तव्यमा भनेका छन्, ‘यही मङ्सिर ४ गते बिहान हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पाल्पा इन्चार्ज क.पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता क.मिनबहादुर आले मगरलाई बुटवलको दीपनगरबाट गिरफ्तार गरेको छ । शान्तिपूर्ण पार्टी कामको सिलसिलामा रहेका कमरेडद्वय सिंह र आलेलाई गिरफ्तार गरी बिस्फोटक पदार्थजस्ता झुठा र नक्कली मुद्दा लगाएर फसाउने सरकारी रबैयाको हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका अस्तव्यस्त बनिरहेको अवस्थामा सामाजिक दलाल पुँजीवादी केपी वली नेतृत्वको सरकारले जनताको समस्याहरुको समाधान गर्नुको सट्टा हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार र धरपकड गरिरहेको छ । राष्ट्रघात, जनघात, सत्ताको लुछाचुँडी, भ्रष्टाचार, तस्करीजस्ता एकपछि अर्को हर्कत गरी ब्रम्हलुट मच्चाइरहेको छ ।’

इन्चार्ज भीमले प्रेस वक्तव्यको अन्त्यमा भनेका छन्, ‘यो अवस्थामा हाम्रो पार्टीले वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको सङ्घर्ष अघि बढाइरहेको बेला हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, जेल हाल्ने, हिरासतमा राख्ने जस्ता सरकारको आततायी र फासिवादी कदमका विरूद्व हाम्रो पार्टीले सम्झौताहीन सङ्घर्ष गर्ने जानकारी गराउँदछौं । साथै गिरफ्तार गरिएका कमरेडद्वय सिंह र आले मगरलाई रिहाइका लागि पहल गरिदिन बुद्धिजीवी, मानवअधिकारकर्मी एवं सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :