समयको बयान र साक्षी

पुस्तक परिचय

समयको बयान र साक्षी

दिनभरको धपेडी यात्रा र त्यसपछिको झन्डै आठ घन्टाको पैदलयात्रा । जहाँ कैयौँ नदी र खोलाका ढुङ्गे बाटाहरू छिचोल्दै पुग्यौँ एउटा डाँडाको बस्ती ! केही धुरीहरू ! हाम्रो यात्रा अघि बढिरहेकै छ । केही दर्जन साथीहरूसँगै मेरो पनि यात्रा ! यात्राभरि बत्ती बाल्ने अनुमति छैन । छन् त केवल खोलाका उज्याला ढुङ्गा र जूनकीरीका पुच्छर । बस्ती, गाउँ कहीँकतै छैन, छ त हतारोमा फगालिरहेको खोला ।

एउटै खोलालाई सत्रपटक तरेका छौँ । खुट्टाभरि ठेला उठेको छ । कैयौँपटक खुट्टा चिप्लिएर लडेका छौँ । साथीहरू बन्दोबस्तीका सामान बोक्छन् झोलाभरि । हप्ता दिनका लागि त हो ! मेरा लागि एउटा गम्छा काफी छ । दाँत जङ्गली रूखका डाँठहरूबाट माझ्छु । जाबो एक हप्ता ननुहाए पनि त चल्छ ! शरीर आफ्नै हो । त्यसैले झोला बोकेको छैन । अर्को कुरा यतिबेला खुट्टाको समस्याले बोक्ने तागत पनि छैन ।

जतिबेला हामी यी अप्ठेरा र अँध्यारा अनकन्टार गौँडाहरू तर्दै पहाडी डाँडाको एउटा बस्तीमा पुगेका थियौँ । हामी सन्नाटाको महासागरभित्र छौँ । हामी कहाँ छौँ ? हामी आफैँलाई थाहा थिएन । त्यतिबेला जूनकीरीजस्तै मिहिन उजेलोमा केही जोर मानिसहरू हामीतिर आए । ती केही जोर मान्छेहरू हाम्रा परिचित साथीहरू थिए । त्यसैमध्येको बीचमा मझौला कदका शरीर र मुस्कानसहित हात बढाउँदै थिए– खोमा । ‘लौ साथीहरू आइपुग्नुभयो ! हामी तपाईंहरूकै प्रतीक्षामा बसिरहेका थियौँ ।’ हामीलाई न्यानो अभिवादनसहित छिप्पिसकेको मध्यरातमा खोमालगायतको टिमले न्यानो स्वागत गरेको थियो । यसपालि झन्डै हप्ताभर नै खोमाजी र मसँगै बस्ने मौका मिल्यो । त्यो अनकन्टार बस्तीको बसाइ । कोरोनाको कहरबीच विशेष सन्दर्भमा अनकन्टार गाउँतिरको यो संयोगको भेट हाम्रा लागि निकै महत्वपूर्ण थियो । हुनत यसपालिभन्दा अगाडि अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोले बुटवलमा एमसीसीविरुद्ध कविगोष्ठी गरेको थियो । कार्यक्रममा उहाँको टिमले मलाई प्रमुख अतिथिका रूपमा बोलाएको थियो । कहिलेकहीँका कविगोष्ठीहरू पनि निकै अविस्मरणीय हुन्छन् । महासङ्घले धेरैपटक साहित्यिक–सांस्कृतिक गोष्ठीहरू गर्दै आएको छ । ती गोष्ठीहरूमा हाम्रा औपचारिक वा अनौपचारिक भेटहरू हुन्थे । ती भेटहरू अल्पकालीन समयका रहे । हामी गफिन पाएका थिएनौँ । तर यसपालि हामीले मन्थन गर्न बाँकी रहेका कला, साहित्य, दर्शन, राजनीतिलगायत विभिन्न विषय र भावनाहरूलाई साट्ने र मन्थने अवसर पायौँ । माक्र्सवादी लेखनका राम्रा र नपुग्दा पाटाहरूलाई दिमागले भ्याएजति खोस्रियौँ । पछिल्लो समय मैले लेखेको उपन्यासका केही पक्षहरूमाथि पनि हामीले समूहमा छलफल गर्यौँ । खोमालगायत साथीहरूको सुझाव र टिप्पणीहरूले उपन्यास लेखन र सम्पादनका लागि निकै महत्वपूर्ण सहयोग पुग्यो । पछिल्लो समय प्रकाशन भएको खोमा तरामुको निबन्ध कृतिसँगको भेट पनि यही बेला जुर्यो । उहाँले आफ्नो एक थान पुस्तक थमाइदिँदै हेरेर हिस्स हाँसेको याद छ मलाई । आकर्षक आवरणमा सजिएको पुस्तकभित्रका अक्षरहरू निकै बिम्बात्मक, आकर्षक र नरम छन् ।

यतिबेला मैले चिनेका खोमा कविका रूपमा होइन, एउटा निबन्धकारका रूपमा प्रस्तुत भएका छन् । कविका रूपमा स्थापित कवि खोमा निबन्ध विधामा पनि उत्तिकै आकर्षक, लालित्य र सक्रिय रूपमा पेस भएका छन् । सहिदभूमिमा उभिएर, गुन्जिरहनेछन् गाउँमा यी गीतहरू, सपना ओढेको त्यो रेसुङ्गा, मधेसमा गुन्जिएको अनेकोट, चुत्राबेसी र चुत्राबेसीहरू, झन्डा बोकेर सूर्यास्तमा, उज्यालो पर्खेरमा साँझमा, शिवगढी अर्थात् लालगाउँ, गाउँबस्तीमा क्षितिज परिवार, रोल्पा मरेको छैन, तिनाउ, कविता र सपनाहरू, झुल्किन बाँकी रातो घाम, ताराहरू रोएको अँधेरी रात, सुनकोसीको तीरैतीर, दोभानमा कविताको सौन्दर्य, अँध्यारोमा बलिरहेको बत्ती, हृदयको मझेरीमा सहिद परिवारसँग, बाहुनडाँडामा छापामारसँग, निःशब्द मन, खण्डहर गोरखा, जूनकीरीको बस्तीमा, लुम्बिनीमा सांस्कृतिक मोर्चा, चुनुको अजम्बरी गीत, हरियो झन्डामुनि जितगढी, सपना डढेको बस्ती, गाउँको अस्थिपञ्जरमा उभिएर, हिउँको बर्र्सात् सम्झेर गरी जम्माजम्मी २६ वटा निबन्ध सङ्गृहीत उक्त पुस्तकमा धेरैजसो निबन्धहरू नियात्रा र संस्मरण शैलीका छन् । पुस्तकको प्रकाशन अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले गरेको छ । पुस्तकबारे वरिष्ठ लेखक एवम् साहित्यकार दिल साहनी र वरिष्ठ सङ्गीतकार एवम् संस्कृतिकर्मी माइला लामाको टिप्पणीले पुस्तकलाई थप उचाइ दिएको छ । साहनीले पुस्तकलाई मुक्ति सङ्घर्षको एउटा कलापक्षीय दस्ताबेजका रूपमा लिएका छन् भने संस्कृतिकर्मी माइला लामाले वर्गसङ्घर्षका उदात्त सपनाहरूलाई पुस्तकमा उनिएको बताएका छन् । कमरेड माइला लामा अहिले प्रतिक्रियावादी सरकारको जेलमा बन्दी हुनुहुन्छ । उहाँ नेकपाका नेता एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । निबन्धकार स्वयम्ले सपना छउन्जेल, आगो रहुन्जेल क्रान्ति नमर्ने र रगतसित गाँसिएका सपनाहरू ननिभ्ने भन्दै त्यही अधुरा सपनाहरूले जन्माएको यो किताब आफैँमा लङमार्च भएको बताएका छन् ।

मालेमावादी विचारलाई केन्द्रमा राखेर लेखिएका सबै निबन्धहरूको उद्देश्य र लक्ष्य एउटै रहेका छन् । आत्मपरक शैलीबाट उनिएका उक्त निबन्धहरूका उत्प्रेरणाका आधार जनयुद्ध वा क्रान्ति नै बोध हुन्छ । नेपाली जनयुद्ध एउटा विशेष कालखण्ड मुक्तिकामी युगका आँधीहुरी चलाउने युद्ध रह्यो । मुक्तियुद्धको उक्त आह्वानमा लाखौँलाख जनता समाहित भए । हजारौँको बलिदानी भयो । अङ्गभङ्ग, बेपत्ता, घाइते र यातनाको सिकारमा शुली चढेको जनयुद्ध एकाएक जनयुद्धकै नायकबाट धर्मराएन मात्रै, स्खलित र हत्या भयो । जसले हिजो सपना बाँडेका थिए, ती सपनाहरूलाई बेवारिस छोडेर नेतृत्व दुस्मनकै शरणमा रमाउन थालेपछि क्रान्तिकारी शक्तिहरूको अन्योल, संवेदनहीनता र सपनाहरूको अन्त्य हुँदै गरेको पल निबन्धकारले पुस्तकमा उनेका छन् । वास्तवमा निबन्धकारले भनेजस्तै यतिबेला सपना मरेकै छैन, सपना अजम्मरी र अमर छ । सपना बोक्ने केही यात्रीहरू बाटो बिराए पनि वा विचलित भए पनि क्रान्तियात्रीहरू अविराम यात्रा गरिरहेको सन्देश पुस्तकले दिएको छ । पुस्तकको नाउँले नै नयाँ उत्साहको सन्देश छरेको छ ।

‘सपनाको भन्ज्याङतिर’ सपनालाई कुनामा सडाएर सुख चाहनेहरूविरुद्धको बयान हो वा सपनाका हत्याराहरूविरुद्धको कोलाज हो । सपनाको चुली चढाउने ‘सपनाको भन्ज्याङतिर’ शीर्षक पढ्दा नै बोधगम्य, सरल र बिम्बात्मक छ । पुस्तकको शीर्षकले नै समग्र सन्देश दिएको छ । उक्त पुस्तकभित्र समाहित निबन्धहरू क्रान्तिकारी चेतनाबाट भरिभराउ छन् । विगतका धोकाघडीबाट निराशा होइन, उत्साह जगाउँदै अघि बढेका छन् निबन्धकार । निबन्धकार लेखनमा मात्र होइन, स्वयम् व्यवहारमा समेत स्पातिला छन् । पटकपटक हिरासतका जञ्जिरभित्रको जीवनसमेत उनले भोगेका छन् । निबन्धभित्र लुकेको काव्यात्मकता खोमाको छुट्टै विशेषता हो जसले नेपाली साहित्यको भीडबाट उनलाई अलग पार्छ । निबन्ध पढ्दै जाँदा कविताको बहमा पाठकलाई बगाउने कला उनको विशेषता हो । त्यति मात्रै होइन, निबन्धका बीचमा प्रायोजित काव्यहरूले छुट्टै उत्प्रेरणा र रोचकता थप्छन् । निरासासित विगतका पात्रहरूलाई उत्प्रेरणा प्रदान गर्दछन् भने विगतमा सपना बाँडेर धोका दिनेहरूलाई उपहास र चुनौती । विगतका धोकाघडीका विरुद्ध निराशा हैन, उत्साहले मात्र मुक्तिको विकल्प बन्न सक्छ भन्ने ‘सपनाको भन्ज्याङतिर’ को मर्म हो । यो मर्मभित्रको लेखनीमा खोमाले प्रकृतिको वर्णनलाई भरपूर रङ्गीन बनाएका छन् । आफू पुगेका गाउँबस्ती त्यत्ति सुन्दर थिए वा थिएनन् तर उनले सुन्दर बनाइदिएका छन् कुशल चित्रकारले जस्तै । यो उनको खुबी हो ।

उनी केही निबन्धभित्र कहिले प्रकृतिको सुन्दरतामा आफूसँगै पाठकलाई पनि हराउँछन् । कहिले दुःख भावनाभित्र डुबाउँछन्, कहिले आफ्नो नियात्रामा पाठकलाई समेत सँगसँगै हिँडाउँछन् । उकालीओरालीहरूमा रोचक शैलीको काव्यात्मकताले पाठकले थकान महसुस गर्दैनन् । एकै बसाइमा बिट मारेर उठ्न सक्छ पाठक । त्यसो त यो कृति दोषरहित नै छैन भन्न खोजेको होइन । कृतिका साँधसीमा पनि छन् । त्यसका लागि निबन्धकारका लागि धेरै बाध्यताहरू पनि थिए होलान् । थुप्रै रोचक पक्षहरू अझै पनि गर्भभित्रै छन् जुन लेख्न बाँकी नै छ । सबै लेख्ने बेला पनि भइसकेको छैन । पुस्तकमा कतिपय ठाउँमा पुनरावृत्त दृश्यहरू पनि कमजोरी बन्न पुगेका छन् । समालोचकहरूको आँखामा भाषा, शैली वा संरचनागत विषयहरूका सीमाहरू होलान् । तर त्यतिबेला यी पक्षको विश्लेषणभन्दा पनि माक्र्सवादी साहित्यमा भविष्यप्रति आशा जगाउने क्रान्तिकारी पक्षधरतासहित वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको सङ्घर्षको दिशामा स्वयम् खोमाले भोगेका र देखेका अनुभूतिहरू बिल्कुल नयाँ विषय हो । अहिलेको प्रतिकूल परिवेशमा पनि नयाँ आशा र उत्साहसहितको कृति प्रकाशनका लागि म साहित्यकार खोमालाई हार्दिक बधाई व्यक्त गर्दछु ।

पछिल्लो समय साहित्य क्षेत्रमा क्रियाशील खोमाद्वारा रचित यो कृति प्रतिध्रुवीय स्वरहरूको हुँकार हो । अत्यन्तै प्रतिकूल समयमा पनि वर्तमान शासन र विधिसँग विमति राख्दै निबन्धकारले विगतका इतिहासका पात्रको निर्मम समीक्षा र उदाङ्गो पार्न आफूलाई पछि पारेका छैनन् । निबन्धकारले विगतको समीक्षा मात्र गरेका छैनन्, अँध्यारोमा रुमल्लिएका मानिसहरूलाई लालटिनको उज्यालो सम्भावनासमेत देखाएका छन् । त्योबाहेक उक्त कृतिमा मातृभूमिप्रतिको अगाध माया देख्न पाइन्छ जसअन्तर्गत आफू जन्मे हुर्केको ठाउँ, आफूले टेकेको माटो, आफूले घुमेका परिवेश र आफ्नो आँखाले रङ्गीन देखेका प्रकृति र सपनाहरूको वर्णन पनि त्यत्तिकै मोहक ढङ्गमा गरेको देख्न पाइन्छ । त्यसबाहेक निबन्धकार स्वयम् दर्शक वा रमिते बनेर होइन, समयको निर्मम आँधीमा आफू हेलिएर आत्मबलिदानीको भावमा चुर्लुम्म डुबेका छन् । आमनेपाली समाजका निमुखा पात्रहरूको चयन र तिनीहरूको जीवन, परिवेश र बोलीमार्फत समयको बयान दिइरहेका छन् । यो उनको छुट्टै विशेषता हो । दुःखीराम, मनोज, रक्षा, ऋषिराम, नरबहादुर थापा, सविना विक आदि यसैका प्रतीक हुन् । सरल, सहज र सुबोध शैली यो कृतिको छुट्टै विशेषता हो । निबन्धकारको यो यात्रा अझ निखारिँदै जाओस् यही शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :