पार्टीको बदनाम गर्न खोज्ने तत्वबाट सजग बन्न नेकपा उपत्यका ब्युरोको आग्रह

पार्टीको बदनाम गर्न खोज्ने तत्वबाट सजग बन्न नेकपा उपत्यका ब्युरोको आग्रह

काठमाडौँ : नेकपा उपत्यका विशेष ब्युरोले विज्ञप्ति प्रकाशित गरी पार्टीका नाममा अवैध चन्दा असुली गर्ने धन्दा गर्दागर्दै काठमाडौँको बानेश्वरबाट पक्राउ गरिएका नुवाकोट जिल्लाका पूर्वसेक्रेटरी बिन्तोस सिलवाल ‘अशोक’, पूर्वब्युरो सदस्य रामदल श्रेष्ठ ‘अटल’, काभ्रे निवासी तीर्थमान तामाङ र चितवन निवासी नन्दुराज आचार्य हाल आफ्नो पार्टीमा आबद्ध नरहेको प्रस्ट पार्दै पार्टीको बदनाम गर्न खोज्ने तत्वबाट सजग रहन सबैमा आह्वान गरेको छ ।

ब्युरो इन्चार्ज मिलनले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टीका नाममा अवैध चन्दा असुली गर्ने ती व्यक्तिहरू पार्टीविरोधी गतिविधिका कारण यसअघि नै कारबाहीमा परिसकेका र हाल पार्टीसँग कुनै सम्बन्ध नरहेकाले उनीहरूसँग पार्टीको नाम नगाँस्न पनि अनुरोध गरेका छन् । ती चारैजनालाई प्रहरीले पार्टीका नाउँमा अवैध आर्थिक गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

ब्युरो इन्चार्ज मिलनले जारी गरेको विज्ञप्तिमा बिन्तोस सिलवाल र रामदल श्रेष्ठ गिरफ्तार पर्दा आत्मसर्मपण गरेको, आर्थिक अराजकता र विचलनमा फसेको, सांस्कृतिक विचलनमा फसेको, पार्टीको सूचना बेच्ने गरेको र विभिन्न गलत गतिविधि र क्रियाकलापले गर्दा यसअघि नै पार्टीबाट निष्कासित व्यक्ति रहेको र उनीहरू चारैजना पार्टीको कुनै पनि आधिकारिक जिम्मेवारीमा नरहेको स्पष्ट गराएका छन् ।

मिलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक २६ गते विभिन्न सञ्चारमाध्यममा ‘विप्लवका नाममा तीन करोड’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, उपत्यका विशेष ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ । २०७७ कात्तिक २५ गते प्रहरीले बानेश्वरबाट नुवाकोट जिल्ला पूर्वसेक्रेटरी बिन्तोस सिलवाल ‘अशोक’, पूर्वब्युरो सदस्य रामदल श्रेष्ठ ‘अटल’ सहित काभ्रे निवासी तीर्थमान तामाङ र चितवन निवासी नन्दुराज आचार्यलाई पार्टीका नाममा अवैध चन्दा असुली गर्ने धन्दाबाट गिरफ्तार गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बिन्तोस सिलवाल ‘अशोक’ र रामदल श्रेष्ठ ‘अटल’ गिरफ्तार पर्दा आत्मसर्मपण गरेको, आर्थिक अराजकता र विचलनमा फसेको, सांस्कृतिक विचलनमा फसेको, पार्टीको सूचना बेच्ने गरेको र विभिन्न गलत गतिविधि र क्रियाकलापले गर्दा यसअघि नै पार्टीबाट निष्कासित व्यक्ति हुन् । उनीहरू चारैजना पार्टीको कुनै पनि आधिकारिक जिम्मेवारीमा नरहेको स्पष्ट गराउन चाहन्छौँ । पार्टीको बढ्दो लोकप्रियताबाट फाइदा उठाउँदै पार्टीबाट निष्कासित र कारबाहीमा परेका गलत व्यक्तिहरूले हाम्रो जनप्रिय पार्टीको नाम लिँदै विभिन्न उद्योगी व्यवसायीहरूलाई धम्क्याउने, जोरजबर्जस्ती गर्ने, नक्कली पत्र काटेर धम्की दिनेजस्ता गलत गतिविधहरू यदाकदा हुने गरेका छन् । यसप्रकारका गलत र पार्टीबाट निष्कासित तत्वहरूले सञ्चालन गरेको गतिविधिमा सचेत बन्न सबैमा अपिल गर्दछ । यसप्रकारका गलत कार्यको सूचना पार्टीको आधिकारिक माध्यममा दिनसमेत अनुरोध गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी राष्ट्र र जनताको हितविपरीत भएका राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, तस्करी, लुटखसोट, अनियमितता, हत्या, हिंसा, बलात्कारजस्ता गतिविधिका विरुद्ध निरन्तर विभिन्न प्रकारका सङ्घर्षका कार्यक्रमसहित एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् र गौरवपूर्ण यात्रामा अघि बढिरहेको कुरा सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरूलाई स्पष्ट र अवगत नै भएको विषय हो । अतः पार्टीको आधिकारिक नीति, कार्यक्रम, योजना र सङ्घर्षका कार्यक्रमहरूमा उत्साहका साथ कार्य गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध गर्दै र पार्टीलाई बदनाम बनाउने तत्वहरूबाट सजग बन्न विशेष अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :