प्रतिरोध आन्दोलन गर्ने ट्रेड युनियन महासङ्घको चेतावनी

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले कोरोना सङ्क्रमणका कारण रोजगार गुमाएर मजदुरको चुलो निभेको र सडकमा दर्दनाक अवस्थामा बिलौना गरिरहेको अवस्थामा मजदुरको समस्यालाई सम्बोधन गर्नुभन्दा घाउमाथि नुनचुक खन्याउने सरकारका विरुद्ध प्रतिरोध सङ्घर्ष गर्नुको विकल्प नरहेको भन्दै चेतावनी दिएको छ ।

महासङ्घको केन्द्रीय समितिका तर्फबाट संयोजक विनोद थापाले जारी गरेको विज्ञप्तिमा कोरोना माहामारीबाट पीडित मजदुरहरूलाई मृत्युको मुखमा पुग्दासम्म पनि पीसीआर टेस्ट नगर्नु, सरकारी अस्पतालले शुल्क लिने निर्णय गर्नु, निजी स्वास्थ्य क्षेत्रमा लाखौँको धरौटीबिना उपचार नगर्नु, बिमारीबाट अत्यधिक शुल्क असुल गर्नुलगायत अमानवीय क्रियाकलापबाट आजित मजदुरसँग प्रतिरोध सङ्घर्ष गर्नुको विकल्प नरहेको उल्लेख छ ।

थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यतिखेर मुलुक कोरोना भाइरस (कोभिड १९) ले थिलथिलो भैरहेको अवस्थामा नक्कली कम्युनिस्टको सक्कली अनुहार नराम्रो गरी उदाङ्गिएको छ । सर्वहारा श्रमजीवीको पार्टी हौँ भनी दाबी गर्ने कथित कम्युनिस्ट सरकार गुटगत राजनीतिको चरम उत्कर्षस्वरूप विस्फोटको अवस्थामा पुगेका छन् । न हिजो यिनीहरूले सन्तोषजनक केही काम गरे, न भोलि नै गर्नेछन् । फगत सत्तालिप्साको मोहमा देशलाई बर्बादीतिर लान उद्यत केपी–पीकेको लज्जास्पद झगडाको अन्तिम प्रहसन हेर्न मात्र श्रमजीवीहरू आतुर छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भ्रष्टाचारी कालोबजारी, महँगीको मारमा श्रमिकहरूलाई निचोरीनिचोरी खुनपसिना खान पल्केका संसद्वादी केपी प्रशासन र सत्ताधारी सुकिला कम्युनिस्ट नामका बचेराहरू गणतन्त्रका राजा दुई अध्यक्षबीचको लफडा मत्थर पार्नसक्ने अवस्थामा छैनन्, बरु आफ्नै धोतीको रक्षा गर्न पनि उनीहरूलाई हम्मेहम्मे छ किनभने यति ठूलो महामारीको बेला श्रमिकका विषयमा चुइँक्कसम्म नबोल्ने, मजदुरहरूको चुलो निभेको बेला रोजगारी गुमाई सडकमा दर्दनाक अवस्थामा बिलौना गरिरहेको मजदुरको समस्यालाई सम्बोधन गर्नुभन्दा पनि घाउमाथि नुनचुक खन्याई दसैँ र तिहारको मोटो भत्ता रकम लिन तम्सिने नालायकहरू श्रमचोर सामाजिक दलाल पुँजीबादका गोठालाहरू हुन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘हालै कोरोना महामारीबाट पीडित मजदुरहरूलाई मृत्युको मुखमा पुग्दासम्म पनि पीसीआर टेस्ट हुन नसक्नु, सरकारी अस्पतालले शुल्क लिने निर्णय गर्नु, निजी स्वास्थ्य क्षेत्रमा लाखौँको धरौटीबिना उपचार नगर्नु, बिमारीबाट अत्यधिक शुल्क असुली गर्नुजस्ता अमानवीय क्रियाकलापले यो सरकार श्रमिक मजदुरमारा हो भन्ने कुरा दिनको घामजस्तै छर्लङ्ग छ । यही मौका छोपी यहाँका दलाल उद्योगी व्यवसायीहरूले मजदुर निष्कासन गर्ने, खाइपाई आएको तलब कटौती गर्नेजस्ता अत्यन्तै निकृष्ट कार्य गरिरहेकाले यस्ताका विरुद्ध डटेर प्रतिवाद आन्दोलन र सङ्घर्ष गर्नुको अर्को विकल्प छैन । यस्ता श्रमिक विरोधी गतिविधि तत्काल बन्द गर्न र सम्पूर्ण श्रम क्षेत्रमा कार्यरत श्रमिक मजदुरलाई पीसीआर टेस्ट, उपचार खर्च निःशुल्क गरी सहज रूपमा अस्पताल भर्ना गर्ने वातावरण मिलाउन र सरसफाइकर्मी, स्वास्थ्यकर्मीहरूको सेवा, तलब, सेवासुविधा र जोखिम भत्ता तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षसँग हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :