शाहीलाई तत्काल रिहा गर : अखिल क्रान्तिकारी

शाहीलाई तत्काल रिहा गर : अखिल क्रान्तिकारी

काठमाडौँ : अखिल क्रान्तिकारी भेरी–कर्णाली ब्युरो क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले सङ्गठनका बाँके जिल्ला अध्यक्ष डीबी शाहीलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

संयोजक विकले कोरोना महामारीको कठिन परिस्थितिमा समेत स्वास्थ्य, शिक्षा र व्यापारका क्षेत्रमा राज्यकै संरक्षण र संलग्नतामा भएको लूट, कालोबजारी र बेइमानीविरुद्ध सङ्गठनले जनजागरण अभियानमार्फत खबरदारी र भण्डाफोर कार्यक्रम जारी राखेको र उक्त अभियानबाट आत्तिएर सरकारले आफ्ना सङ्गठनका नेता–कार्यकर्ताको गैरन्यायिक गिरफ्तारी, धरपकड, घर घेरा हाल्ने र खानतलासी गर्ने गरिरहेको भन्दै यस्तो कार्यप्रति आपत्ति पनि प्रकट गरेका छन् ।

विकले मङ्गलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बाँकेको कोहलपुरस्थित घरमै बसिरहेको अवस्थामा हाम्रो सङ्गठनका बाँके जिल्ला अध्यक्ष डीबी शाहीलाई प्रहरीद्वारा गैरन्यायिक गिरफ्तारी गरिएको छ । यसप्रति सङ्गठन घोर भत्र्सनासहित अविलम्ब रिहाइका लागि जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना कहरका कारण उत्पन्न सङ्कटकै परिस्थितिमा राष्ट्रियता, अर्थतन्त्र, जनजीविका, जनअधिकार, जनस्वास्थ्यको सवालका साथै देशको समग्र भविष्य झन् बर्बादीको दिशामा गइरहेकाले आमनागरिकमा चिन्ता र असन्तुष्टि बढेको छ । सरकारले आफ्ना चरम असफलता र अक्षमता लुकाउन देशभक्त, प्रगतिशील एवम् क्रान्तिकारी शक्तिमाथिको दमनलाई अख्तियार गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :