गिरफ्तार गरी बेपत्ता पारिएका नेता–कार्यकर्ता रिहा गर्न नेकपाको माग

गिरफ्तार गरी बेपत्ता पारिएका नेता–कार्यकर्ता रिहा गर्न नेकपाको माग

बझाङ : नेपाल कम्युनिस्ट पार्टी बझाङले पार्टीका जिल्ला सदस्य प्रबिन धामीलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ ।

नेकपाका बझाङ जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीकामको सिलसिलामा रहेको बेला नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्ला सचिवालय सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य प्रबिन धामीलाई प्रहरीले अपहरण शैलीमा धनगढीबाट गिरफ्तार गरी बेपत्ता पारेकाले प्रशासनको उक्त कार्यको भत्र्सना गर्दै अविलम्ब रिहाइको माग गरेका हुन् ।

विज्ञप्तिमा समग्र देश कोरोना भाइरस महामारीको चपेटामा परेको र जनताहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनुपरेको बेला सरकार भने आफ्नो पार्टीका नेता–कार्यकर्ताको गिरफ्तारी र धरपकडतर्फ लागेको भन्दै गिरफ्तार गरिएका नेता–कार्यकर्ताहरूलाई रिहा नगरिए आफ्नो पार्टी जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनताका आधारभूत समस्यहरू समाधान गर्नुको साटो केपी वली सरकार भ्रष्टाचारमा लिप्त भइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीका कारण मानवीय सङ्कट उत्पन्न भई बिदेसिएका नागरिक घर फिर्ता हुँदा एकदुई महिना पनि पेटभरि खान नपाई ‘भोकले मर्नुभन्दा रोगले मर्नु नै ठीक छ’ भन्दै फेरि हजारौँ नागरिक दिनहुँ बिदेसिनुपर्ने बाध्यताले गर्दा जोकोहीको आँखा रसाउनु र भ्रष्ट, दलाल सरकारप्रति आक्रोशित हुनु स्वाभाविक छ । दलाल केपी सरकार सङ्कटमा परेका जनताको घाउमा मलमपट्टी गर्नुको सट्टा राष्ट्रघात, भ्रष्टाचार र कमिसनमा चुर्लुम्म डुबिरहेको छ । आमनागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै कोभिड १९ को निःशुल्क उपचार गर्नुको सट्टा कोरोना उपचारका नाममा गरिब जनताबाट पैसा असुल्न लागिपरेको देखिन्छ । हाम्रो गौरवशाली पार्टी दलाल संसदीय व्यवस्था र भ्रष्ट केपी सरकारको फासिवादी शैलीको अन्त्य गर्न र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न डटेर सङ्घर्षमा होमिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :