२१ वामपन्थी दलद्वारा सरकारविरुद्ध काठमाडौँमा भव्य प्रदर्शन

२१ वामपन्थी दलद्वारा सरकारविरुद्ध काठमाडौँमा भव्य प्रदर्शन

काठमाडौँ : सरकारका राष्ट्रघाती र जनविरोधी गतिविधिविरुद्ध सङ्घर्ष गर्न हालै कार्यगत एकता घोषणा गरेका २१ दलले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा भव्य विरोध प्रदर्शन गरेका छन् । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि सङ्घर्ष गर्न केही दिनअघि मात्रै २१ वटा कम्युनिस्ट, वामपन्थी पार्टी र सङ्गठनले कार्यगत एकता घोषणा गरेपछि सरकारविरुद्ध आयोजना गरेको यो पहिलो संयुक्त प्रदर्शन हो ।

प्रदर्शनमा राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विषयमा कार्यगत एकता गर्दै आएका पार्टी र सङ्गठन नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्र्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेबिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारावादी कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान नेपाल, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) का नेता–कार्यकर्ता सहभागी थिए ।

२१ दलले यसअघि बैठक गरी कोरोना सङ्क्रमणका कारण व्यक्तिगत दूरी कायम गर्दै आन्दोलन गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार काठमाडौँमा बिहीबार अपराह्न १ बजेदेखि सुरु भएको प्रदर्शनमा २१ दलका ५/५ जनाका दरले १०५ जनाको उपस्थिति थियो । आन्दोलनकारीले निरन्तर एक घन्टासम्म राष्ट्रघाती अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए । विरोध प्रदर्शनमा सहभागीहरूले सरकारबाट भइरहेका भ्रष्टाचार र राष्ट्रघातका विषयमा पनि खबरदारी गर्दै नारा लगाएका थिए ।

प्रदर्शनकारीहरूले नेपाललाई साम्राज्यवादी युद्ध अखडा बनाउने, चीनलाई घेर्ने योजना र षड्यन्त्रका साथ नेपालमाथि लाद्न खोजिएको एमसीसीको खारेजीको माग गर्दै भारतले मिचेको नेपालको वास्तविक नक्साअनुसारको भूभाग कायम गर्न र भारतले नेपाली भूमिमाथि गरेको अतिक्रमणको पनि विरोध गरेका थिए ।

प्रदर्शनकारीहरूले कोरोना सङ्क्रमणका नाममा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपनको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायत न्यूनतम् आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार, हत्याजस्ता अपराध नियन्त्रण र अपराधीमाथि कारबाहीको माग पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :