कर्णाली मुख्यमन्त्रीकाण्डको बदला लिँदै केपी वलीद्वारा एकतर्फी तीन केन्द्रीय मन्त्री नियुक्त

प्रधानमन्त्री वलीले आफूखुसी तीन मन्त्री नियुक्त गरे : दाहाल–नेपाल समूह

कर्णाली मुख्यमन्त्रीकाण्डको बदला लिँदै केपी वलीद्वारा एकतर्फी तीन केन्द्रीय मन्त्री नियुक्त

काठमाडौँ : पूर्वमाओवादी केन्द्रको कोटामा रहेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन अविश्वास प्रस्ताव ल्याइए पनि पुष्पकमल दाहाल र माधव नेपाल पक्ष मिलेर उक्त प्रस्ताव असफल पारेको घटनाको बदला लिँदै केपी वलीले बुधबार आफ्नो तर्फका तीनजना नेतालाई केन्द्रीय मन्त्रिपरिषद्मा नियुक्त गरेका छन् । आफूहरूसँग सल्लाह नै नगरी केपी वलीले तीन मन्त्री नियुक्त गरेको भन्दै दाहाल र नेपालले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

दाहाल र वलीबीच बुधबार अन्य विषयमा छलफल भए पनि मन्त्री थपघट सम्बन्धमा कुनै सहमति नभएको भन्दै दाहाल पक्षले असन्तुष्टि जनाएको स्रोतहरूले बताएका छन् । पार्टीका प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्री वलीले बुधबार नै अर्थमन्त्रीमा महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिकामन्त्री रहेका पार्वत गुरुङलाई सञ्चारमन्त्री नियुक्त गरेका थिए ।

केपी वलीले यसअघि पनि दाहाल, नेपाललगायत आफ्नो समूहविरोधी नेताहरूलाई थाङ्नामा सुताउँदै आएका थिए । अहिले पनि स्थायी समितिको बैठक तथा सचिवालयले गरेको निर्णयलाई धज्जी उडाउँदै वलीले आफ्ना विश्वासपात्रहरूलाई मन्त्री नियुक्त गरेका हुन् । स्मरणीय छ, दुई महिनाअघिसम्म सरकारी नेकपामा केपी वलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन दाहाल–नेपाल गुटबीच भएको एकता र ठूलो कसरतलाई उनले विभिन्न बहानामा टारिदिएका थिए । पार्टी र सरकारमा शक्ति हत्याउने विषयमा चलेको किचलो पार्टी विभाजन हुने अवस्थासम्म पुगेको थियो । त्यतिबेला वलीले कुनै पनि नियुक्ति गर्दा दुईजना अध्यक्षको परामर्श र सल्लाहमा गर्ने निर्णय स्वीकारेर आफ्ना दुवै पद जोगाएका थिए । ‘तर सहमतिको मसी नसुक्दै वलीले आफ्नो असली रूप देखाए’, असन्तुष्ट पक्षको स्रोतले भन्यो ।

पार्टीमा सहमति भइसकेपछि वलीले मन्त्री मात्र नभएर राजदूत नियुक्ति र विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा पनि द्वितीय अध्यक्ष दाहालसँग कुनै सल्लाह नगरी आफ्ना विश्वासपात्रलाई जिम्मेवारी दिएको दाहाल पक्षको गुनासो छ ।

वली र दाहाल–नेपाल समूहबीच यसअघि केन्द्रीय मन्त्रीपरिषद्देखि प्रदेश मन्त्रीपरिषद्सम्म पुनर्गठन गर्ने सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन नहुँदै वलीले आफ्नो पक्षका सांसद, पूर्वएमाले समूहका अन्य सांसद र पूर्वमाओवादी केन्द्रका तीन सांसदलाई प्रभावित पारेर कर्णालीका मुख्यमन्त्री शाहीलाई हटाई आफ्ना विश्वासपात्र नियुक्त गर्न अविश्वास प्रस्ताव दर्ता गर्न लगाएको दाहाल पक्षको आरोप छ । दाहाल–नेपाल भागशान्तिपछि कर्णालीको सङ्कट टरेको भोलिपल्टै वलीले दाहाल–नेपाल समूहसँग गरेको पूर्वसहमति उल्ट्याएर तीनजना मन्त्री नियुक्त र जिम्मेवारी हेरफेर गरेका छन् ।

वलीले महिला, बालबालिका मन्त्रालयमा लीलानाथ श्रेष्ठ तथा रक्षामन्त्री रहेका ईश्वर पोखरेलाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका थिए । वलीले एक महिनाअघि गरेको सहमति तोडेर आफूखुसी गरेको भन्दै दाहाल–नेपाल पक्ष फेरि आक्रोशित बनेको छ ।

दाहालले जस्तै अर्का नेता माधव नेपालले पनि आफूलाई थाहा नै नदिई वलीले मन्त्रीहरू थप गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :