एमसीसी सम्झौता खारेजीको माग गर्दै दलहरूद्वारा प्रदर्शन

एमसीसी सम्झौता खारेजीको माग गर्दै दलहरूद्वारा प्रदर्शन

चितवन : सरकारका गलत कामविरुद्ध सडक आन्दोलन गरिरहेका दलहरूले चितवनको रत्ननगर टाँडीस्थित सौराहाचोकमा लिपुलेक–कालापानी– लिम्पियाधुरासहित भारतीय अतिक्रमणमा परेका नेपाली भूभाग फिर्ता गर्न र राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गरेका छन् । टाँडी चोकबाट सुरु भएको दलहरूको जुलुस बकुलर चोकबाट घुमेर सौराहाचोक पुगी विरोधसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विकासले वर्तमान केपी वली नेतृत्वको दलाल संसद्वादी सरकार राष्ट्रघात, जनघात र भ्रष्टाचारमा नाङ्गो ढङ्गले लागेकाले अब नेपाली जनताले यो व्यवस्थाको विकल्प खोजेको बताए । राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पास गर्न विभिन्न षड्यन्त्र गर्ने, राजनीतिक आडमा भ्रष्टाचार र कमिसनखोरबाट सञ्चालित वली सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेको नक्सा भारतीय साम्राज्यवादको दबाबमा नेपाली पाठ्यक्रममा नराख्न निर्देशन दिँदै हिँडेकाले यो सरकार भ्रष्ट, दलाल र राष्ट्रघातीसमेत प्रमाणित उनले बताए ।

नेकपा मालेका चितवन जिल्ला सचिव पर्शुराम लामिछानेले जनअपेक्षाअनुसार हिँड्न नसकेको वली सरकारको कुनै औचित्य नभएको बताए । नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघनाथ ढकालले जनविरोधी, राष्ट्रघाती वली सरकारले नेपालको राष्ट्रियताको रक्षा गर्न नचाहेको र भ्रष्टाचार र कमिसनखोरीमा लागेकाले जनताले सडकबाटै यसको विकल्प खोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :