२१ दलबीच कार्यगत एकता : ऐतिहासिक कदम

२१ दलबीच कार्यगत एकता : ऐतिहासिक कदम

कम्युनिस्ट आवरणमा विद्रोही र क्रान्तिकारी शक्तिविरुद्ध फासिवादी दमनचक्र चलाइरहेको दलाल पुँजीवादी व्यवस्थाको रक्षक सामाजिक फासिवादी केपी वली सरकारभित्र एकातिर केन्द्र र प्रदेश स्तरबाटै भुइँचालो जान सुरु भएको छ भने अर्कातिर सत्ताको चरम फासिवादी दमन, अन्याय, अत्याचार र राष्ट्रघातविरुद्ध नेपालका परिवर्तनका पक्षधर ठूला–साना २१ दल र समूहका बीच आन्दोलनका लागि कार्यगत एकता बनेको छ । देशभक्त र क्रान्तिकारी शक्ति र नेपाली जनताका लागि यो खुसीको खबर हो । यो ऐतिहासिक र अत्यावश्यक कदम हो । २१ दलबीच शक्तिशाली आन्दोलन सञ्चालन गर्न कार्यगत एकताको घोषणा र आन्दोलनको कार्यक्रम सार्वजनिक भएसँगै ती २१ दलले केपी वली सरकारले बदनियतपूर्वक नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग पनि गरेका छन् । क्रान्तिकारी शक्तिका लागि यो पनि सकारात्मक सन्देश हो ।

नेपाल र नेपाली श्रमजीवी जनतामाथि जबजब सत्ता र सरकारहरूले अत्याचार लाद्न थाल्छन्, राष्ट्रघात गर्न थाल्छन्, जनहत्या लाद्न थाल्छन्, नेपालका कम्युनिस्ट, वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूका बीचको दूरी कम हुँदै र एकता नजिक हुँदै गएको इतिहास छ र त्यसले सकारात्मक उपलब्धिहरू पनि दिएको छ । १९९० को दशकको उत्तराद्र्धमा निरङ्कुश जहानियाँ राणा शासनका विरुद्ध गठित प्रजापरिषद् होस् वा २००७ सालमा सञ्चालित आन्दोलन होस्, २०१७ सालमा राजा महेन्द्रले लादेको शाही कूका विरुद्धको आन्दोलन होस्, वा २०२८ सालमा भएको झापा विद्रोहको समयमा होस् वा २०३६ र २०४६ सालका जनआन्दोलनहरूमा होस्, क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरूबीच कुनै न कुनै रूपमा कार्यगत एकता, संयुक्त मोर्चा र पार्टीएकतासम्मका ध्रुवीकरणहरू भएका छन् र त्यो शक्तिले निरङ्कतालाई राम्रै धक्का पनि दिएका छन् । २०४६ सालको जनआन्दोलनका क्रममा क्रान्तिकारी शक्तिको पल्ला भारी नहुँदा धोकेबाज नेतृत्वले आन्दोलन सम्झौतामा टुङ्ग्याएर क्रान्तिकारी तथा आमूल परिवर्तनकारीहरूलाई धोका दिए पनि क्रान्तिकारी शक्तिहरु फेरि ध्रवीकृत र आन्दोलित हुने क्रम जारी रह्यो । त्यसलाई शक्तिशाली सङ्घर्षमा विकास गर्न २०४८ सालको पार्टी एकता र ध्रुवीकरण अभियान र २०५२ सालको जनयुद्धलाई नै कुर्नुपरेको थियो । जनयुद्धको राप, चाप र तापले गलेको फासिवादी शाहीसत्ताका विरुद्ध त्यतिबेलाका संसद्वादी शक्तिहरू पनि जनयुद्ध लडिरहेको नेकपा (माओवादी) सँग प्रकारान्तरले मोर्चा निर्माण गर्न र समझदारी बनाउन सहमत भएको अवस्था थियो ।

महासचिव विप्लवले यसप्रकारको सन्देश दिएर वर्तमान सत्ता असफल भइसकेकाले यसको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि आह्वान गरेको दुई साताभित्रै नेपालका २१ दल, सङ्गठन, मोर्चा र समूहले नेपाल र नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यगत एकता गर्नु र शक्तिशाली आन्दोलनको घोषणा गर्नु सुखद कुरा हो । यो कार्यगत एकता संयुक्त मोर्चा हुँदै क्रान्तिकारी ध्रुवीकरण र पार्टी एकतामा विकास हुनुपर्छ र जारी क्रान्तिलाई अझ उचाइमा पुर्याउँदै जनक्रान्ति सफल पार्नुपर्छ ।

दस वर्षसम्म सञ्चालित शक्तिशाली जनयुद्ध र त्यसको जगमा सञ्चालित २०६२–०६३ को जनआन्दोलनको बलमा २४० वर्षदेखि संस्थागत रूपमा सञ्चालित सामन्ती राजतन्त्र ढले पनि नेपाली जनता र नेपालमाथिका शोषण, दमन, थिचोमिचो र अन्याय–अत्याचार अन्त्य हुन सकेनन् । यसको कारण जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) को मूल नेतृत्वमा आएको पलायनका साथै संसद्वादी दलहरूको क्रान्तिकारी शक्ति तथा नेपाली जनता र नेपाली देशभक्तहरूविरुद्धको धोकाधडी प्रमुख कारण थियो । फलस्वरूप जनयुद्धको मूल नेतृत्व पुनर्मुसिको भवः हुँदै क्रान्तिकारी आन्दोलनमाथि दलाली र गद्दारी गर्दै संसद्वादी आहालमा डुबुल्की मार्न पुग्यो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुलुकमा वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना गर्न सुरु गरिएको जनयुद्ध केही नेताहरूले आत्मरक्षा र दलालीमा पुर्याएर समाप्त पारेपछि नेपाली जनतालाई क्रान्तिकारी आन्दोलनको आँधीबेहरी सिर्जना गर्न केही वर्ष लाग्यो । फलस्वरूप २०७३ सालबाट नेकपाको पुनर्गठनपछि मुलुकमा एकीकृत जनक्रान्ति सञ्चालित छ । यसले नेपाली जनतामा आशाको दियो बालेको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका पक्षमा एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि कम्युनिस्ट नाउँको केपी वली–पुष्पकमल दाहालको सरकारले प्रतिबन्ध लगाएको छ भने प्रतिबन्ध अघिपछि गरी नेपाल कम्युनिस्ट पार्टीका ११ जना योद्धाहरूको एकीकृृत जनक्रान्तिकै क्रममा बलिदान भइसकेको छ । मुलुकमा राजनीतिक प्रतिक्रान्ति भएर दलाल पुँजीवाद हाबी भएपछि त्यसको पछिल्लो बुख्याँचाका रूपमा खडा गरिएको वली सरकारले अमेरिकी राष्ट्रघाती परियोजना एमसीसी लादेर मुलुकलाई साम्राज्यवादको रणमैदान बनाउने दीर्घकालीन षड्यन्त्र गरिरहेको छ भने भारतीय साम्राज्यवादले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनुको साटो वली सरकार साम्राज्यवादकै चाकरीमा व्यस्त छ । नेपाली जनतामाथि अन्याय, अत्याचार, शोषण, दमन, विभेद महँगी, भ्रष्टाचार, तस्करी लादिरहेको छ । नेपालको राष्ट्रियता र सार्वभौमसत्ता दिनदिनै खतरामा परिरहेको छ । यो समयमा नेपालका देशभक्त, क्रान्तिकारी, वामपन्थी र कम्युनिस्ट शक्तिहरूका बीचमा ध्रुवीकरण हुनु स्वाभाविक रूपले नै अत्यावश्यक थियो । यही अवस्थालाई ध्यानमा राख्दै दुई साताअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भनेका थिए– ठोस रूपले भन्दा सात सालदेखि पूर्ण प्रजातन्त्रका पक्षमा सङ्घर्षरत प्रजातन्त्रवादीहरू, झापा विद्रोह, जनयुद्धभित्र योगदान गरेका तर आजको परिस्थितिबाट सन्तुष्ट नरहेका कम्युनिस्ट क्रान्तिकारीहरू, बर्सौंदेखि देशको रक्षामा समर्पित हुँदै आएको देशभक्त शक्ति जो जहाँ भए पनि देशलाई रूपान्तरण गर्ने नयाँ जिम्मेवारी बहन गर्न एक हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ र हुने आधार पनि देखिएका छन् । उपयुक्त समय आएपछि सबै खुसीका साथ क्रान्तिमा सहभागी बन्नेछन् । यसैमा हामी इमानदारीपूर्वक पहल गर्दैछौँ । वर्तमान अवस्थामा सीमा समस्या, अमेरिकी परियोजना एमसीसी, कोरोना महामारीमा सरकारले बेहोरेको असफलतालगायत विषयमा यी पार्टीहरूका बीचमा समानखाले धारणा बन्दै गएका छन् । आजको विषम परिस्थितिका कारण पार्टीका नेताहरू, व्यापारी–व्यवसायीहरू, बुद्धिजीवी, लेखक, समाजका अग्रज व्यक्तिहरूले आजको राज्य व्यवस्थाको विकल्पमा बहस चलाउँदै आएको र नयाँ पहल र नयाँ विकल्पको खोजीमा आमनागरिकहरूको धारणा बन्दै गएको बेला क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरूबीचको एकता आजको अपरिहार्य आवश्यकता बन्दै गएको छ ।

महासचिव विप्लवले यसप्रकारको सन्देश दिएर वर्तमान सत्ता असफल भइसकेकाले यसको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि आह्वान गरेको दुई साताभित्रै नेपालका २१ दल, सङ्गठन, मोर्चा र समूहले नेपाल र नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यगत एकता गर्नु र शक्तिशाली आन्दोलनको घोषणा गर्नु सुखद कुरा हो । यो कार्यगत एकता संयुक्त मोर्चा हुँदै क्रान्तिकारी ध्रुवीकरण र पार्टी एकतामा विकास हुनुपर्छ र जारी क्रान्तिलाई अझ उचाइमा पुर्याउँदै जनक्रान्ति सफल पार्नुपर्छ । वैज्ञानिक समाजवादको स्थापनालाई केन्द्रमा राखेर अघि बढेको शक्तिशाली क्रान्तिले दलाल पुँजीवादी सत्ताको चिहानमा साम्यवादको भव्य र सुन्दर समाज स्थापना गर्नेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :