काठमाडौँ–नुवाकोट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष यमलाल तामाङ निष्कासित

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ–नुवाकोट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष यमलाल तामाङलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएको छ । मञ्चका अध्यक्ष कमानसिंहले जारी गरेको विज्ञप्तिमा तामाङले व्यवसायीबाट व्यक्तिगत स्वार्थका लागि सङ्गठनको नाम लिई आर्थिक विचलनमा परी सहयोग रकम उठाएर सङ्गठनको बदनाम गरेको विषयमा अनुसन्धान गर्दा सही ठहरिएकाले तामाङलाई मङ्गलबारबाटै कारबाही गरिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार सङ्गठनको हैसियतले हाम्रो सङ्गठन राजनीतिक, वैचारिक, साङ्गठनिक सङ्घर्ष, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका पक्षमा राष्ट्रघात, भ्रष्टाचार, कमिसनखोर, दलाल तथा अनेकखाले जनविरोधी गतिविधिविरुद्धको अभियानमा तमाम सहयोगी, शुभचिन्तक र आमजनताबाट आर्थिक, नैतिक, भौतिकलगायत सहयोग प्राप्त गरिरहेको विषय सबैमा स्पष्ट नै छ । तर हाम्रो सङ्गठनको लोकप्रियता, आकर्षण र विजयअभियानलाई दुरुपयोग गरी आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न केही व्यक्तिले विभिन्न ठाउँमा पार्टीको नामबाट आर्थिक सङ्कलन गरेकोप्रति हाम्रो सङ्गठन सचेत रहेको सबैमा जानकारी गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा नुवाकोट जिल्लामा केही समयअगाडि काठमाडौँ–नुवाकोट जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष यमलाल तामाङले केही व्यवसायीबाट व्यक्तिगत स्वार्थका लागि सङ्गठनको नाम लिई आर्थिक विचलनमा परी सहयोग रकम उठाई सङ्गठनको बदनाम गरेको भनी अनुसन्धानपछि खुल्न आएको हुँदा निज यमलाल तामाङलाई आजकै मितिदेखि हाम्रो सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

विज्ञप्तिमा काठमाडौँ–नुवाकोट सम्पर्क मञ्चको कार्यवाहक जिम्मेवारी प्रहल्लाद न्यौपानेलाई दिइएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :