दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको अपरिहार्यता

दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको अपरिहार्यता

क) सुरुआत

जनतन्त्रका लागि थालिएको २००७ सालको आन्दोलन सम्झौतामा टुङ्गिएपछि नै नेपाली जनतामाथि धोका एवम् घात हुँदै आएको छ । राणाशासनपछिको कथित प्रजातन्त्र, पञ्चायत, राजतन्त्रात्मक संसदीय व्यवस्था र वर्तमानको कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म राज्यसत्तामा आमूल परिवर्तन अवरुद्ध भइरहेको छ । सबै जनसङ्घर्ष, जनआन्दोलन र महान् जनयुद्धसमेत सम्झौतामा समाप्त भए । केवल व्यवस्थाको नाम बदलिएको छ । महान् जनयुद्ध र राजतन्त्रको अन्त्यपछि नेपालको राज्यसत्तामा दलाल पुँजीवादको प्रभुत्व कायम भएको छ । यसमा राजनीतिक क्रान्तिको पूर्ण विजय नहुनु, पुरानो शासक वर्गको एउटा हिस्सा मात्र पराजित हुनु र क्रान्तिकारी माओवादी शक्तिमा विचलन, विघटन र महापतन हुनु मूल कारण रहेको छ । दलालहरूले पुरानै व्यवस्थामा रङरोगन गरेर, जनतालाई भ्रमित पारेर र ब्रम्ह्मलूट गरेर मुलुकलाई कङ्गाल बनाइरहेका छन् ।

लेखक : पूर्णबहादुर सिंह

एकादेशमा मजदुरहरूले बिहान ६ र बेलुका ७ रूपैयाँको ज्यालाले हातमुख जोड्न कठिन भएपछि आन्दोलन गरेछन् । आन्दोलन चर्किंदै गएपछि पुँजीपति (मालिक) ले उनीहरूलाई वार्तामा बोलाएर, बिहान ६ को सट्टा ७ र बेलुका ७ को सट्टा ६ राखेर ज्याला बढाइएको घोषणा गरेछन् र एउटा सम्झौतापत्र तयार गरी सहीछाप गर्न लगाएछन् । त्यसमा निरक्षर मजदुरहरूले खुसीयाली मनाएछन् । उक्त सम्झौतापत्रअनुसार कथित बढेको ज्याला लिँदा बल्ल थाहा भयो– १३ को १३ मा सीमित रहेछ । उनीहरूका लागि यो ठूलो धोका थियो र पुनः सशक्त आन्दोलनको विकल्प रहेन । आमनेपाली जनताले कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई यसै रूपमा बुझिसकेका छन् । यो सबै जनसङ्घर्ष, जनआन्दोलन र जनयुद्धमा अभिव्यक्त जनादेशको अपमान एवम् उपहास हो । सचेत जनताले १८ औँ शताब्दीका मजदुरहरूले मेसिनका विरुद्ध आन्दोलन गरेर मालिक (पुँजीपति) लाई बचाएझैँ न दलालहरूलाई बचाउने छन्, न त दलाल पुँजीवादलाई । आज दलाल पुँजीवादी व्यवस्थाको विकल्प दलाल पुँजीवाद तथा अमूक पार्टी र नेताको विकल्प अमूक नेता र पार्टी हुन सक्दैन । यसमा दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको अपरिहार्यताबारे छलफल गरिनेछ ।

सबै जनसङ्घर्ष, जनआन्दोलन र महान् जनयुद्धसमेत सम्झौतामा समाप्त भए । केवल व्यवस्थाको नाम बदलिएको छ । महान् जनयुद्ध र राजतन्त्रको अन्त्यपछि नेपालको राज्यसत्तामा दलाल पुँजीवादको प्रभुत्व कायम भएको छ । यसमा राजनीतिक क्रान्तिको पूर्ण विजय नहुनु, पुरानो शासक वर्गको एउटा हिस्सा मात्र पराजित हुनु र क्रान्तिकारी माओवादी शक्तिमा विचलन, विघटन र महापतन हुनु मूल कारण रहेको छ ।

ख) दलाल पुँजीवाद

आज नेपालमा सामन्तवादको अन्त्य भए पनि त्यसको स्थानमा दलाल पुँजीवाद हाबी भएको छ । राजनीतिक, आर्थिक, प्रशासन, सुरक्षा, न्यायालय, शिक्षा–स्वास्थ्यलगायत सबै क्षेत्रमा दलाल पुँजीवाद हाबी छ । सिंहदरबारदेखि गाउँसम्म अथवा सहरदेखि गाउँसम्म यसले आफ्नो जरा फैलाएको छ । यसले कुनै क्षेत्र र राजनीतिक दल पनि छोडेको छैन । इतिहासको अध्ययन गर्दा दलाल पुँजीवाद साम्राज्यवाद एवम् सामन्तवादको गठजोडबाट पैदा हुने अवैध सन्तान अथवा ठिमाहा हो । सामन्तवादको बिँडो थाम्न खोजे पनि साम्राज्यवादको दलाली नै यसको मुख्य विशेषता हो । सन् १९१९ मा पुँजीवादी साम्राज्यवादले सयौँ मुलुकहरूमा उपनिवेश कायम गरी विश्वको ७० प्रतिशत जनतामाथि अतिक्रमण, शोषण र उत्पीडन गरेको थियो । सन् १९८० सम्म पुग्दा वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनद्वारा बढारियो र विश्वमा प्रत्यक्ष उपनिवेश भोग्ने जनता ०.३ प्रतिशत थिए । त्यसपछि साम्राज्यवादी शक्तिहरूले प्रत्यक्ष उपनिवेशबाट पछि हट्ने, अर्धउपनिवेश कायम गर्ने, वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनलाई कमजोर बनाउने, कुलीन वर्गका व्यक्तिलाई आफ्नो दलाल बनाउने र तिनीहरूको हातमा सत्ता सुम्पने नयाँ रणनीति अवलम्बन गरेका छन् । उत्तरसाम्राज्यवादले आफ्नो दलाल नबन्ने जोकोहीलाई बिन लादेन, सदाम हुसेन आदि र इराक, अफगानिस्तान, इरान, सिरियाजस्तै बनाउने ठाडो चुनौती दिइरहेको छ । राजतन्त्रात्मक वा गणतन्त्रात्मक मुलुकहरूमा शासन सत्तामा टिक्नका लागि त्यसको दलाल बन्नैपर्ने अवस्था उत्पन्न गरिरहेको छ । माओको नेतृत्वमा सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्ति विजयमा पुग्दा पुँजीवादी सत्ता आफ्नो अस्तित्वको लडाइँ लड्न विवश भयो जसको फलस्वरूप सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्तिको नेतृत्व गर्न पुगेको राष्ट्रिय पुँजीपति वर्गले आफ्नो पहिचान गुमाउन पुगेको थियो । सामन्तवाद र साम्राज्यवादको दलालीमा सत्ता साझेदारीका लागि मात्र आन्दोलन गर्ने दलाल पुँजीवादी चरित्रमा पतन हुन पुग्यो र दलाल पुँजीवादको उदय भयो । दलाल पुँजीवादको वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोत एवम् आधार सामन्तवाद, मूलतः साम्राज्यवाद नै हो । आज नेपालमा राज्यसत्ताको चरित्र नवऔपनिवेशिक दलाल पुँजीवादी छ । भूतपूर्व सामन्तवादी, दलाल पुँजीपतिहरू र नोकरशाही पुँजीपतिहरू विलय भएका छन् । तिनीहरू रूपमा सामन्त, नोकरशाह र पुँजीपति देखिए पनि सारमा दलाल पुँजीवादी नै हुन् । सन् १८१६ को सुगौली सन्धियता शासकहरूको सामन्ती राष्ट्रवाद, देशभक्ति, राष्ट्रसेवी र राष्ट्रिय पुँजीपतिको चरित्रमा ह्रास हुँदा राज्यसत्ता अर्धसामन्ती तथा अर्धऔपनिवेशिक हुन पुगेको थियो । २०४६ सालको परिवर्तनपछि देशभक्तबाट स्खलित पूर्वएमाले र कथित शान्तिप्रक्रियापछि तत्कालीन माओवादी विलय भएर सामाजिक दलाल पुँजीवादमा महापतन भएको छ । कथित सङ्घीय लोकतान्त्रित गणतन्त्र नयाँ जलप (रङरोगन) को पुरानै संसदीय व्यवस्था नवऔपनिवेशिक दलाल पुँजीवादी व्यवस्था हो । त्यो विचार, राजनीतिक व्यवस्था र ती प्रवृत्ति एवम् पात्रको नयाँ आगमन नभएर पुनरावृत्ति मात्र हो । ‘मात्र संसदीय संवैधानिक राजतन्त्रहरूमा होइन, अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरूमा समेत सतारूढ वर्गको कुनचाहिँ सदस्यले संसद्मा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो ।’ (तेस्रो अध्याय, राज्य र क्रान्ति । सन् १८७१ मा पेरिस कम्युनको अनुभव । माक्र्सको विश्लेषण) मा लेनिनले सुन्दर ढङ्गले उल्लेख गर्नुभएको थियो । यो दलाल पुँजीवादी व्यवस्थाको गोलचक्कर नै हो । विश्वमा असफल दलाल संसदीय व्यवस्था हो । लेनिनले प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा अगाडि नै पुँजीवादको विकास ठम्याइसक्नुभएको थियो । ‘साम्राज्यवाद– पुँजीवादको चरम अवस्था’ लेनिनले जनवरी–जुन सन् १९१६ मा जुरिचमा लेख्नुभएको थियो । साथै साम्राज्यवादी युगका लाक्षणिक विशेषताहरू–उत्पादनको सङ्केन्द्रण र एकाधिकारको विकास, पुँजी निर्यात, नयाँ–नयाँ बजारहरू तथा प्रभाव क्षेत्रहरूमाथि कब्जा जमाउनका लागि सङ्घर्ष, आर्थिक सम्बन्धहरूको अन्तर्राष्ट्रियकरण, पुँजीवादको परजीविता र ह्रास, श्रम र पुँजीबीचको विरोध तथा वर्गसङ्घर्षको तिव्रीकरण र समाजवादमा सङ्क्रमणका लागि आवश्यक भौतिक पूर्वाधारहरूको सिर्जना गर्दछ भन्नुभयो । यद्यपि आज यो निगम पुँजीवाद र उत्तरसाम्राज्यवादका रूपमा अभिव्यक्त भइरहेको छ । त्यसको कठपुतली दलाल पुँजीवादी व्यवस्थाले गरिरहेका हरेक हर्कतहरूले एकीकृत जनक्रान्तिको आधार तयार गरिरहेको छ ।

नेपालमा सामन्तवादको अन्त्य भए पनि त्यसको स्थानमा दलाल पुँजीवाद हाबी भएको छ । राजनीतिक, आर्थिक, प्रशासन, सुरक्षा, न्यायालय, शिक्षा–स्वास्थ्यलगायत सबै क्षेत्रमा दलाल पुँजीवाद हाबी छ । सिंहदरबारदेखि गाउँसम्म अथवा सहरदेखि गाउँसम्म यसले आफ्नो जरा फैलाएको छ । यसले कुनै क्षेत्र र राजनीतिक दल पनि छोडेको छैन । दलाल पुँजीवाद साम्राज्यवाद एवम् सामन्तवादको गठजोडबाट पैदा हुने अवैध सन्तान अथवा ठिमाहा हो । सामन्तवादको बिँडो थाम्न खोजे पनि साम्राज्यवादको दलाली नै यसको मुख्य विशेषता हो ।

ग) दुःखी नेपाली–कङ्गाल नेपाल

आज नेपालको शासन सत्तामा कथित सङ्घीय लोकतान्त्रित गणतन्त्रको आवरणमा सामाजिक दलाल पुँजीवादीहरूको सरकार छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ र ‘सुखी नेपाली–समृद्ध नेपाल’ को नाराले सुरुआतमा केही भ्रम दिन खोजे पनि सचेत आमजनताले त्यसको वास्तविकता जीवन–व्यवहारबाट बुझिसकेका छन् । ‘सुखी नेपाली र समृद्ध नेपाल’ चरम भ्रष्टाचार, कमिसन, महँगी, बेरोजगार, कालोबजारी, राष्ट्रघात, जनघात, जनविरोधी हर्कत आदिमा देखापरेको छ । विश्वमा सस्तो श्रम बेच्ने, सस्तो कच्चा पदार्थ निर्यात गर्ने, व्यापारघाटा, करिब एक करोड युवाहरू विदेशमा श्रमदासका रूपमा पठाउने, दैनिक ३ बाकस लास स्वदेशमा आउने, सयौँ नागरिक झाडापखाला, क्षयरोग आदि सामान्य रोगबाट ज्यान गुमाउँछन् । लाखौँ बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित छन् । महिलाहरू बच्चा जन्माउन नसक्दा अकालमा ज्यान गुमाउँछन् । बालिकाहरू बलात्कारको सिकार हुन्छन् । निरास बेरोजगारका रूपमा सयौँ युवाहरू आत्महत्या गर्छन् । सामाजिक सेवाको क्षेत्र शिक्षा–स्वास्थ्यमा ठूलो व्यापार एवम् मुनाफा आर्जन गरिन्छ । राष्ट्रिय उद्योग–कलकारखाना बन्द गरिन्छन् । भ्रष्टाचारका नयाँ–नयाँ काण्ड बढिरहेका छन् । बहुमूल्य जडीबुटीहरूको तस्करी हुन्छ । सबै नदीनाला बेचिएका छन् । खानी–खनिजहरू विदेशी माडेहरूले दलालहरूको मिलोमतोमा दोहन गर्छन् । सुकुमबासीहरूको छाप्रोमा डोजर एवम् आगो लगाइन्छ । मजदुरहरू भोकै मर्छन् । महिलाहरू विदेशका कालकोठरीहरूमा नारकीय जीवन जिउन विवश छन् । दलित समुदायले चुलो छोए वा प्रेम गरेमा मारिनु परेको छ । चर्को कर, बेराजगारी, कालोबजारी एवम् महँगीले जनजीवन आक्रान्त छ । युवाहरू अर्काको देशमा भाडाका सिपाही बनेर लड्न जान छाती र तिघ्रा नपाउन यत्रतत्र लाम लागिरहेका छन् । गोर्खा भर्तीकेन्द्रहरू बन्द भएका छैनन् । दुई खालका स्कुल र अस्पताल छन् आदिआदि । यी सबैको मूल कारक दलाल पुँजीवादी व्यवस्थाको टाउकोमा आमजनता घन प्रहार गर्न तयार हुनेछन् । साम्राज्यवादी डाँकुहरूको हितमा काम गर्ने दलालहरूको मुनाफाका लागि हाम्रो राष्ट्र र जनता जन्मनेबित्तिकै ऋणी किन बन्ने ? ‘सुखी नेपाली–समृद्ध नेपाल’ कि दुःखी नेपाली कङ्गाल नेपाल ? गाउँ र नगरमा पुगेको सिंहदरबारले के गर्यो ? अध्यक्ष÷मेयर महाशयहरू ६०÷७० लाखको गाडीमा सयर, डोजर÷स्काभेटर र ठेक्कापट्टाको मालिक उहाँ नै । तीन तहको सरकारमा विराजमानहरूलाई पालनपोषण गर्न जनताले चर्को कर तिर्नुपर्ने ? यो दलाल पुँजीवादी सङ्घीयता, लोकतन्त्र र गणतन्त्रले के काठमाडौँ र कर्णालीमा समानता ल्याउन सक्छ ? हामी तिम्रो व्यवस्था र संविधान स्वीकार गर्दैनौँ भन्दा किन जनता प्रतिबन्धित ? फासिवादी दमन कि यो लोकतन्त्र हो ? कोही राजा–रैती नहुने गणतन्त्र यही हो ? यो त सधैँ आलु–प्याजको तरकारीले दिक्क भएका बच्चाहरूलाई बा–आमाले आज नयाँ तरकारी खाऊ प्याज–आलु भनेजस्तै होइन र दलाल पुँजीवादी व्यवस्था ? आमजनतालाई अवगत छ– तिम्रो सिंहदरबार दलाल, भ्रष्ट र तस्करहरूको अखडा होइन र ? आमजनताले सदियौँदेखिको हिन्दु राज्य एवम् राजतन्त्र, बूढो काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद, सामाजिक दलाल पुँजीवादीहरूको कथित समाजवाद आदि सबै भोगिसकेका छन् । ती कुनै विकल्प होइनन् । महेन्द्र, ज्ञानेन्द्र, गिरिजा, सुशील, शेरबहादुर, माधव, झलनाथ, खड्ग, पुष्पकमल, बाबुरामजीहरूलाई चिनेका छन् । यी को हुन् ? त्यसैले नाम, पात्र, पार्टी र सरकार फेरर के हुन्छ ? ‘हाम्रा लागि नैराश्यको कारण नभएर निकै उत्साहजनक कुरा हुन गएको छ । युरोप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकबास गर्नेहरूलाई पिँजडाभित्र थुनेर कुनै अस्ट्रेलियाली केङ्गुरासँग प्रदर्शनीमा राख्नुपर्छ । बहुलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो सामाजिक शान्ति ल्याउँदैछ जुन बारुदको पिपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारा वर्गको प्रौढता दिन–प्रतिदिन बढ्दोछ ।’ (माक्र्सको शिक्षाको ऐतिहासिक भवितव्य, लेनिन, प्राभ्दा, अङ्क ५०, मार्च १९१३, खण्ड २३, पृष्ठ १–४) अक्टोबर क्रान्तिको विजयपछि लेनिनले भनेझैँ दलाल पुँजीवादको विकल्प दलाल पुँजीवाद हुन सक्दैन, न यसले सुखी बनाउँछ न समृद्ध नै । दलालहरूको फासिवादी दमन र खिचातानीको घृणित खेलले शान्तिर समृद्धि होइन, बरु सबै दलालहरूको पतन, आमजनतामा परिपक्वता र जनक्रान्तिको आधार बलियो बनिरहेको छ । ‘वर्गसङ्घर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो । जबसम्म मानिसहरूले हरप्रकारका नैतिक, धार्मिक, राजनीतिक, सामाजिक प्रचार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजीनीति गर्न जान्ने छैनन् तबसम्म उनीहरूले राजनीतिमा सधैँ धोकाबाजी र आत्मवचनको सिकार बनिरहनु पर्नेछ । हरप्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतीत भए पनि कुनै न कुनै सत्तारूढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका सुधारवादीहरूलाई मूर्ख बनाइरहेकै हुन्छन् ।’ (माक्र्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्ग, लेनिन, प्रोस्वेसेनिए अङ्क ३, मार्च, १९१३, खण्ड २३, पृष्ठ ४०–४८) । दलाल पुँजीवादी व्यवस्थाको सङ्कट मोचन एवम् असफलताको ढाकछोप कथित नेपाल कम्युनिस्ट पार्टी (नेकपा), काङ्ग्रेस, पञ्चे–मण्डले वा अरू कुनै विकल्प हुनै सक्दैनन् । साम्राज्यवादका सामु लम्पसार परेर भद्दा दलाली गर्ने यी दलालहरू कुनै ग्रहबाट धर्तीमा झरेका होइनन् भन्ने आमजनतालाई अवगत नै छ ।

२०४६ सालको परिवर्तनपछि देशभक्तबाट स्खलित पूर्वएमाले र कथित शान्तिप्रक्रियापछि तत्कालीन माओवादी केन्द्र विलय भएर सामाजिक दलाल पुँजीवादमा महापतन भएको छ । कथित सङ्घीय लोकतान्त्रित गणतन्त्र नयाँ जलप (रङरोगन) को पुरानै संसदीय व्यवस्था नवऔपनिवेशिक दलाल पुँजीवादी व्यवस्था हो । त्यो विचार, राजनीतिक व्यवस्था र ती प्रवृत्ति एवम् पात्रको नयाँ आगमन नभएर पुनरावृत्ति मात्र हो ।

घ) आमजनताको मुख्य शत्रु–दलाल पुँजीवाद

आज आन्तरिक रूपले दलाल पुँजीवाद (सबै क्षेत्रका दलालहरू) सँग नेपाली जनताको मुख्य अन्तरविरोध मुखरित भइरहेको छ । राजनीतिक अन्तरविरोधको यो परिवर्तनले एकीकृत जनक्रान्तिका मित्र शक्तिको धार र निशाना स्पष्ट गरेको छ । दलाल पुँजीवाद आमनेपाली जनताको अर्जुनदृष्टिमा परेको छ । बाह्य रूपमा उत्तरसाम्राज्यवाद पनि चुनौतीका रूपमा रहेको छ । करिब सात अर्ब जनसङ्ख्या रहेको विश्वमा २० जना धनी र तीन करोड नेपाली जनतामा १० जना धनी अवस्थाको कारण उत्तरसाम्राज्यवाद र दलाल पुँजीवाद नै हो । कतिपय मानिसले भन्छन्– राणाशासन, पञ्चायत र राजतन्त्र छैन, अब कोसँग लड्ने ? दलाल पुँजीवाद (दलालहरू) सँग लड्ने स्पष्ट छ । हाम्रो मुलुकलाई पराधीन, परनिर्भर र कङ्गाल बनाउने तथा राष्ट्रघात, जनघात र जनविरोधी कार्य गर्ने दलाल पुँजीवाद नै आमजनताको मुख्य शत्रु हो । यसलाई खरानी बनाएर मात्र राष्ट्र र जनतालाई मुक्त गर्न सकिन्छ । अनि मात्र न्याय, मुक्ति र समानतामा आधारित स्वर्णिम मानव समाज र सभ्यता सम्भव हुनेछ । स्वाधीन, शान्ति, समानता र समृद्धिसहितको वैज्ञानिक समाजवाद स्थापना हुनेछ ।

ङ) वैज्ञानिक समाजवादको अपरिहार्यता

‘समाजवाद स्वप्नद्रष्टाहरूको मनगढन्ते कुरा होइन, यो त आधुनिक समाजमा उत्पादक शक्तिहरूको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो ।’ (माक्र्स–एङ्गेल्स, सङ्कलित रचनाहरू, खण्ड १, पृष्ठ १५) मा उल्लेख भएझैँ वैज्ञानिक समाजवाद हवाईकल्पना एवम् सपना मात्र होइन । सर्वहारा वर्गलाई सर्वप्रथम सत्ताको मालिक बनाउन सफल तथा शिक्षा प्रदान गर्ने पेरिस कम्युन, नयाँ ढङ्गले पहिलोपटक पृथ्वीको विशाल भूभागमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल अक्टोबर क्रान्ति र एसियाको विशाल भूमिमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न विजयी चिनियाँ क्रान्तिको अनुभव र शिक्षा हामीसँग छ । वैज्ञानिक समाजवादको सफलता, लोकप्रियता, असफलताका कारणहरू, असल पक्षहरू, शिक्षा, अनिवार्यता र प्राप्तिको मार्ग एकीकृत जनक्रान्तिको कार्यदिशा पनि छ । पूर्वीयुरोप, सोभियत सङ्घ, मध्यपूर्व र एसियामा किन प्रतिक्रान्ति भयो ? माओको निधनपछि लामो समयसम्म किन क्रान्तिको ज्वाला बल्ने र निभ्ने भइरहेको छ ? यसको जबाफ हामी किताबमा होइन, जीवन–व्यवहारबाट खोजिरहेका छौँ । वैज्ञानिक समाजवाद– साम्यवादले मात्र मानवजातिलाई न्याय, मुक्ति, समानता, शान्ति, स्वाधीनता र समृद्धि दिन सक्छ । यसले नै वर्ग, जाति, लिङ्ग र क्षेत्रको पर्खाल भत्काउँछ । वैज्ञानिक समाजवाद राजनीतिक रूपले सर्वहारा वर्गको नेतृत्व, किसान–मजदुरको मुख्य भूमिका, उत्पीडित जाति, राष्ट्र, लिङ्ग समुदायको स्वामित्वमा सत्ता, दलाल पुँजीपति वर्गको निषेध, देशभक्त शक्तिहरूसँगको सहकार्यबाट अघि बढ्छ र वर्गविहीन, राज्यविहीन, सर्वोत्तम मानवसमाज, सभ्यता र व्यवस्थामा विकसित हुन्छ । आर्थिक रूपले सामन्ती भूस्वामित्वको अन्त्य, दलाल पुँजीको राष्ट्रियकरण, अति एकाधिकार पुँजीको प्रवेश रोक, दलाल एवम् सुदखोर पुँजीमाथि नियन्त्रण, आमजनतालाई गाँस, बास, शिक्षा, स्वस्थ्य, रोजगार, सूचनासञ्चार आदिको अधिकार सुनिश्चित हुने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकास, राष्ट्रिय एवम् औद्योगिक पुँजीको विकास, उत्पादनमूलक अर्थसम्बन्धको विकासबाट अघि बढ्छ । शोषणरहित, समान, सुख–समृद्धिमा विकसित हुन्छ । दलाल पुँजीवादभन्दा फरक दृष्टिकोण, चेतना, जीवनशैली, संस्कार, आचरण र व्यवहारमा अभिव्यक्त हुन्छ । अन्ततः वैज्ञानिक समाजवाद– साम्यवादमा विकसित हुन्छ ।

साम्राज्यवादी डाँकुहरूको हितमा काम गर्ने दलालहरूको मुनाफाका लागि हाम्रो राष्ट्र र जनता जन्मनेबित्तिकै ऋणी किन बन्ने ? ‘सुखी नेपाली–समृद्ध नेपाल’ कि दुःखी नेपाली कङ्गाल नेपाल ? गाउँ र नगरमा पुगेको सिंहदरबारले के गर्यो ? अध्यक्ष÷मेयर महाशयहरू ६०/७० लाखको गाडीमा सयर, डोजर÷स्काभेटर र ठेक्कापट्टाको मालिक उहाँ नै । तीन तहको सरकारमा विराजमानहरूलाई पालनपोषण गर्न जनताले चर्को कर तिर्नुपर्ने ?

अन्त्यमा दलाल पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका केलाउने, कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिस्ट वा अरू कुनै आवरणका सुधारहरूका बुर्जुवा सारलाई जनता, न्याय र अधिकार तथा सुखी नेपाली र समृद्ध नेपालजस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने कुचेष्टा दलालहरूले गरिरहेका छन् । आमजनता अझै सचेत हुन जरुरी छ । यस्ताखाले सबै कोलाहलपूर्ण, बहुरूपी एवम् छद्मभेषी रूपहरू मूलतः दलाल पुँजीवादमाथि एकीकृत जनक्रान्तिद्वारा प्राणघातक प्रहार गर्नै पर्दछ । इतिहासले स्पष्ट गरेको छ– विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यावहारिक कसीमा घोटेर उदाङ्गो पारिदिएका थिए । सर्वहारा वर्ग मात्र समाजवादी हुनसक्छ भन्ने सार्वभौम सत्य हो । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा र कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामको दलाल पुँजीवादबाट सन्तुष्ट भएका दलालहरू मात्र वर्तमान व्यवस्थाका समर्थकहरूको ताँतीमा उभिन आउँछन् तर जनता होइन । तसर्थ धोका नहुने, सम्झौतारहित र नहार्ने वास्तविक लडाइँ एकीकृत जनक्रान्ति हो । दलाल पुँजीवादको अन्त्य, एकीकृत जनक्रान्तिको विजय र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना अवश्यम्भाबी छ ।

२५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :