सोह्र महिना जेल–हिरासतपछि नेकपा रामेछापका पूर्वसेक्रेटरी अभिलास रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापका पूर्वजिल्ला सेक्रेटरी कुलदीप थापामगर ‘अभिलास’ एक वर्ष चार महिना लामो हिरासत र जेल जीवन बिताएर मङ्गलबार सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतबाट रिहा भएका छन् । अभिलासलाई २०७६ साल असार ३ गते आगजनी, विस्फोटलगायत झूट्टा मुद्दा लगाई सरकारले भक्तपुरबाट गिरफ्तार गरेको थियो ।

भक्तपुर जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गरे पनि प्रहरीले अदालतको आदेश अवज्ञा गर्दै अदालतपरिसरबाटै पुनः गिरफ्तार गरी रामेछापको सदरमुकाम मन्थलीमा लगेर हिरासतमा शारीरिक तथा मानसिक यातना दिई झूट्टा मुद्दा स्वीकार गर्न दबाब दिएको थियो । सरकारको षड्यन्त्रमा नफसेपछि जिल्ला अदालत रामेछापले उनलाई एक लाख धरौटी तोकी सफाइ दिए पनि धरौटी नबुझाएको भन्दै उनलाई रामेछाप जिल्ला कारागारमा चलान गरिएको थियो ।

अभिलासलाई रिहा गर्न कानुन व्यवसायी, पत्रकार, मानवअधिकारवादी र पार्टीले निरन्तर पहल गरेपछि असोज १२ गते जिल्ला अदालत रामेछापले थुनामुक्त गर्न आदेश दिएको थियो तर प्रहरीले उनलाई फेरि बेपत्ता बनाउँदै सिन्धुली, काभ्रेको बनेपा, धुलिखेल पुर्याएर आत्मसमर्पण गर्न दबाब दिएको थियो । उनी आस्थामा दृढ रहेपछि सरकारले अर्को षड्यन्त्र रचिरहेको समयमा जिल्ला अदालत धुलिखेलले उनलाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको थियो तर पुनः गिरफ्तार गरी केही दिनअघि बेपत्ताकै अवस्थामा उनलाई सिन्धुली पुर्याइएको थियो ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयमा पुर्याइएका अभिलासलाई उनका आफन्तजनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपछि सर्वोच्च अदालतको आदेशमा मङ्गलबार उनलाई सिन्धुली जिल्ला प्रहरी कार्यालय रिहा गर्न बाध्य भएको नेकपा रामेछापका सेक्रेटरी विवेक लामाले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :