दलाल सत्ता र मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य : नेकपा

दलाल सत्ता र मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले प्रेस विज्ञप्ति जारी गरी बुधबार राती ३ बजे हुम्ला जिल्ला ताजाकोट गा.पा. वडा नं. ५ मदनाबाट पार्टीका भेरी–कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढा ‘निर्माण’ लाई कोरोना महामारी प्रकोपका कारण होम क्वारेन्टाइनमा रहेको अवस्थामा सरकारले युद्धशैलीमा गिरफ्तार गरेको भन्दै घोर निन्दा एवम् भत्र्सना गरेको छ ।

ब्युरो इन्चार्ज रविले जारी गरेको विज्ञप्तिमा ब्युरो सदस्य निर्माणलाई यथाशीघ्र रिहा गर्न माग गर्दै न्यायपूर्ण आवाजमाथि बन्दुके दमनशैली लाद्नु उसको फासिवादी युद्ध उन्माद रहेको र दलाल सत्ता र उसका मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य बन्न गएकाले यसको जबाफ पार्टीले उपयुक्त समयमा दिने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट नामको केपी वली नेतृत्वको सामाजिक फासिवादी दलाल राज्यव्यवस्थाले आफ्नो असफलता र पराजयलाई ढाकछोप गर्न जनताको आशा र भविष्य बोकेको नेपाल कम्युनिस्ट पार्टीमाथि हदैसम्मको दमनकारी शैली लादिरहेको छ । हजारौँ नेता–कार्यकर्ता, समर्थक, जनताको गिरफ्तारी, झूट्टा मुद्दा, हत्या, आतङ्कको दानवीय राज कायम गरिरहेको छ । राष्ट्र, जनता, परिवर्तन र न्यायका पक्षमा मुखरित जनआवाजप्रति निरङ्कुशता र फासिवाद लादिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘फासिवादी दमनकै शैलीमा हिजो राती ३ बजे हुम्ला जिल्ला ताजाकोट गा.पा. वडा नं. ५ मदनाबाट भेरी–कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला सेक्रेटरी क. कुम्भ बुढा ‘निर्माण’ लाई कोरोना महामारी प्रकोपका कारण होम क्वारेन्टाइनमा रहेको अवस्थामा दलाल सत्ताको प्रहरी प्रशासनले युद्धशैलीमा गिरफ्तार गरेकाले हाम्रो पार्टी भोरी–कर्णाली ब्युरो घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

रविको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘दमनले प्रतिरोध जन्माउँछ । न्यायपूर्ण आवाजमाथि बन्दुके दमनशैली लाद्नु उसको फासिवादी युद्धउन्माद हो । दलाल सत्ता र उसका मतियारहरूको सर्वनास हुने गरी प्रतिरोध अपरिहार्य बन्न गएको छ । यसको जबाफ नेपाल कम्युनिस्ट पार्टीले उपयुक्त समयमा दिई नै छाड्नेछ । अतः बिनाकारण गिरफ्तार गरिएका क. निर्माणको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछ । अन्यथा युद्ध र दमनमा आफ्नो भविष्य देखे युद्धपिपाशु दलाल सत्ता र त्यसका मतियारहरूले उत्पन्न परिस्थितिको भागीदार हुनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :