प्रदेश राजधानी भालुबाङ सारिएपछि सरकारी नेकपाका २ हजार कार्यकर्ताले पार्टी छोडे

प्रदेश राजधानी भालुबाङ सारिएपछि सरकारी नेकपाका २ हजार कार्यकर्ताले पार्टी छोडे

काठमाडौँ : प्रदेशको नामकरण र राजधानी प्रकरणले सरकारी नेकपामा भुइँचालो जान सुरु गरेको छ । प्रदेशको नामकरण र राजधानी सार्ने विषयलाई लिएर केही दिनअघि ५ नं. प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलमाथि हातपात नै भएको थियो भने प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सरकारी नेकपाका दुई हजारभन्दा बढी कार्यकर्ताले पार्टी छोडेको घोषणा गरिसकेका छन् । पार्टी परित्याग गर्नेहरूले आफूहरू अब कुन पार्टीमा आबद्ध हुने भन्ने जानकारी भने दिएका छैनन् ।

सरकारी नेकपाका ३५ संस्थामा आबद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेको सार्वजनिक भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी रूपन्देही व्यापार सङ्घ, रूपन्देही उद्योग सङ्घ, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत संस्थामा आबद्ध ती पार्टी सदस्यले सरकारी नेकपा छाड्ने घोषणा गरेका थिए ।

सरकारी पार्टी छोड्नेहरूले पार्टीका सांसदहरूले मतदाता र कार्यकर्तासामु चुनावमा गरेको प्रतिबद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेपछि पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

रूपन्देहीमा अस्थायी राजधानी राख्दा रूपन्देहीका व्यावसायिक सङ्घसंस्थाहरूले आफ्ना कार्यालय भवनहरू दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरूले त्यसलाई नजरअन्दाज गरेको गुनासो उनीहरूको छ । राजधानी सार्ने प्रस्तावका सन्दर्भमा पार्टीका नेताहरूको लाचारीपनले गर्दा आउँदो निर्वाचनमा लज्जास्पद पराजय हुने उनीहरूको तर्क छ । उनीहरूले अब सरकारी नेकपामा बसिररहन नैतिकताले नदिएको भन्दै स्वतन्त्र रहने स्पष्ट पारेका छन् ।

पार्टी परित्याग गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसङ्घका प्रदेश ५ अध्यक्ष एजाज आलम, होटेल तथा रेस्टुरेन्ट व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माधव नेपाल, रूपन्देही व्यापार सङ्घका पूर्वअध्यक्ष मोतीलाल पाण्डे, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुद्र जीसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, रूपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोरालगायतले सरकारी पार्टीको निर्णयविरुद्ध बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :