नेकपा नेता वीरजङ्गलाई बेपत्ता बनाइयो, अनिल शर्मा जेल चलान

नेकपा नेता वीरजङ्गलाई बेपत्ता बनाइयो, अनिल शर्मा जेल चलान

काठमाडौँ : कोरोनालगायत गम्भीर स्वास्थ्य समस्या झेलिरहेका नेकपा नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले बेपत्ता बनाएको छ भने अर्का गम्भीर बिरामी नेता अनिल शर्मा ‘विरही’ लाई भाेजपुर जेल चलान गरिएको छ । नेता वीरजङ्गलाई उपचार नगराई आठौँपटक गिरफ्तार गरेर गम्भीर बिरामी अवस्थामै मङ्गलबार बेपत्ता पारिएको हो भने चारचारवटा झूट्टा मुद्दा लगाइएका नेता विरहीलाई धरौटी रकम बुझाउन नसक्दा जेल चलान गरिएको हो ।

विरही रातो खबर साप्ताहिकका निर्देशक एवम् स्थापित माक्र्सवादी साहित्यकार पनि हुन् । उनको गिरफ्तारीविरुद्ध देशभरका प्रगतिशील स्रष्टाले अभियान नै चलाएका छन् । सुगर, मेरुदण्डलगायत गम्भीर बिरामी रहेको अवस्थामा उपचार गराउँदागराउँदै उनलाई चितवनबाट पूर्व लगिएको थियो । विभिन्न जिल्लाका प्रहरी हिरासत डुलाउँदै भाेजपुर पुर्याएर उनलाई जेल चलान गरिएको हो ।

नेता वीरजङ्गलाई जिल्ला अदालत काठमाडौँले मङ्गलबार रिहा गर्न आदेश दिएको थियो तर रिहा हुनासाथ अदालतको आदेश लत्याउँदै प्रहरीले बेपत्ता बनाएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

नेता वीरजङ्गलाई यसअघि पनि प्रहरीले अदालतको आदेश लत्याउँदै दाङ, काभ्रे, भोजपुर, सुनसरी, ललितपुर, काठमाडौँलगायत ८ जिल्ला घुमाइसकेको छ । उनलाई पछिल्लोपटक श्वासप्रश्वासलगायत घाँटी र छातीमा गम्भीर समस्या देखिएको छ । उनलाई सुनसरी पुर्याउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । परिवारका सदस्यहरूले उनको स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

यसअघि पनि नेता वीरजङ्गलाई अदालतले राजनीतिक भावनाले प्रवृत्त भई गिरफ्तार गरेर थुनामा राखिएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको थियो ।

नेता वीरजङ्गको स्वास्थ्यमा आइतबार गम्भीर समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियोे तर प्रहरीले उपचारकै क्रममा अस्पतालबाट अदालत लगेको थियोे । अदालतले अस्पताल लगी उपचार गराउन आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गरी नेता वीरजङ्गलाई बेपत्ता बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :