युवा सङ्गठन झापाका अध्यक्ष सम्राट गिरफ्तार

युवा सङ्गठन झापाका अध्यक्ष सम्राट गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन झापाका जिल्ला अध्यक्ष सम्राटलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै सङ्गठनले तत्काल रिहा गर्न माग गरेको छ ।

केही दिनअगाडि मात्रै युवा सङ्गठनले झापाको शिवसतासीमा सङ्गठनको जिल्ला सम्मेलन सम्पन्न गरेको थियो । सम्राट सङ्गठनको अध्यक्षमा चुनिएका थिए ।

सङ्गठनका मेची–कोसी ब्युरो संयोजक नुलुकले प्रेस विज्ञप्ति जारी गर्दै सम्राटको रिहाइको माग गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली सङ्गठन युवा सङ्गठन नेपाल झापा जिल्लाका अध्यक्ष कमरेड सम्राटलाई हिजो मिति २०७७÷६÷१९ गते बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा जनविरोधी, राष्ट्रघाती सरकारद्वारा परिचालित प्रहरीहरूले अपहरण शैलीमा गिरफ्तार गरेको छ । झापाका सचेत क्रान्तिकारी युवाहरूले भर्खरै सम्पन्न गरेको सङ्गठनको चौथो जिल्ला सम्मेलनबाट अताल्लिएका दलालहरूका जल्लादहरूको यो निकृष्ट रबैयाको हाम्रो सङ्गठन कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दै गिरफ्तार कमरेडको तुरुन्त रिहाइको माग गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, जनघात र राष्ट्रघातमा चुर्लुम्म डुबेका झापाका प्रशासक र सरकारी दानापानी खानेहरू हाम्रो सङ्गठनले उठाएका जनता र राष्ट्रको हितका मुद्दाहरूबाट अत्तालिएका छन् । यो गिरफ्तारी झापामा रहेका सरकारी तक्मा झुन्ड्याएका जनघातीहरूको पराजित र हतोत्साही मानसिकताको पराकाष्ठा हो । हाम्रो पार्टीलाई, विचारलाई र जनपक्षीय आन्दोलनलाई दबाउन सकिन्छ वा दमन गरेर आफ्नो लुटको साम्राज्यलाई सधैँ बचाउन सकिन्छ भन्ने ठान्नु सरकारी अपराधीहरूको महाभ्रमशिवाय केही पनि होइन । जनताका बीचमा उठेको आगोमा दलालहरू सबै भष्म हुनेछन् ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो सङ्गठन जनताका बीचमा नितान्त राजनीतिक गतिविधि गरिरहेको छ । कोरोना महामारीविरुद्धको अभियानमा जुटिरहेको छ । हामीमाथिको अनावश्यक दमन तुरुन्त रोक्न हामी चेतावनी दिन चाहन्छौँ । हाम्रो राजनीतिक अधिकारलाई कुण्ठित गरेर द्वन्द्वको वातावरण बनाउनका निम्ति दमनलाई निरन्तरता दिने हो भने सङ्गठनले सशक्त प्रतिरोध गर्नेछ । यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वयम् सरकारी दलालहरूले लिनु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :