क्या अचम्म छ नेपालमा !

लेखक : झपेन्द्रराज वैद्य

क्या अचम्म छ
कम्युनिस्टको दर्शन
मोदीको भर्सन
प्रचण्डको फ्युजन
कस्तो अचम्म छ ?
ट्रम्पको पुँजीवाद
र माक्र्सको समाजवाद
सुनमा पित्तल समायोजन
कस्तो मजाक छ नेपालमा ?
भौतिकवादी दर्शन
र आध्यात्म रामायणको मिलन
भद्दा प्रहसन छ नेपालमा
बाइबलको साथमा
होली वाइनपान
क्या अचम्मको छ नेपालमा ।

कम्युनिस्ट झन्डा बोकेर भ्रष्टाचार
क्या अचम्मको आचार–विचार
विदेशी रिमोटमा सरकार
क्या अचम्म छ कम्युनिस्ट सरकार

कहीँ नभएको जात्रा नेपालमा छ ।
अमेरिकी एमसीसी
प्यासिफिक रणनीति
युद्ध–अखडा हुँदैछ नेपालमा
माक्र्सको मिलन अमेरिकी सेना
क्या अचम्मको छ नेपालमा ?

हो, फलामले फलाम काट्छ
कम्युनिस्टले कम्युनिस्टको प्रतिबन्ध
क्या अचम्मको छ नेपालमा ।
भ्रष्टाचार पहिलो नम्बर हो कि ?
कम्युनिस्ट पहिलो नम्बरको नेपालमा ?
जहाँ जनता भोकभोकै मर्छन्
त्यहाँ समृद्धि र उन्नति ?
वा अवनति ?
जहाँ आफ्नै संविधानको अवमूल्यन हुन्छ
जहाँ संसद् समिति फेल गराइन्छ
र वाइडबडी भ्रष्टाचार मौन बन्छ
त्यहाँ केको सुशासन हुन्छ ?
जहाँ पत्रकारको हातखुट्टा बाँधिन्छ
मानवअधिकार खोसिन्छ
सर्वोच्चको निर्णय जोखिम हुन्छ
त्यहाँ के लोकतन्त्र हुन्छ ?
अचम्मको लोकतन्त्र नेपालमा
कम्युनिस्टको झन्डा
लोकतन्त्रमा डन्डा
इन्डोप्यासिफिक नेपालमा ?
क्या अचम्म नेपालमा ?
स्वास्थ्य माफियाविरुद्धको अनशन
डा. गोविन्द केसीप्रति मौन
कोरोनाको सङ्क्रमण
जनतामा हाहाकार
छैन व्यवस्थापन, छैन आहार
सत्र सालदेखि कराउँदै आइयो
सत्ताबाहिर–बाहिर बसियो
जनयुद्धले मुक्ति दिन्छ कि भन्यो
विडम्बना, सहिदको रगतमा धोका
कहीँ नभएको जात्रा नेपालमा
भद्दा प्रहसन छ नेपालमा
दलाल पुँजीवादमा
कम्युनिस्टको झन्डा
क्या अचम्म छ नेपालमा !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :