कोरोना अस्पताल चोरीकाण्डका अपराधीहरूलाई राजनीतिक संरक्षण नदेऊ : जनस्वास्थ्यकर्मी महासङ्घ

कोरोना अस्पताल चोरीकाण्डका अपराधीहरूलाई राजनीतिक संरक्षण नदेऊ : जनस्वास्थ्यकर्मी महासङ्घ

काठमाडौँ : अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ जिल्ला समिति चितवनले सरकारलाई ज्ञापनपत्र बुझाउँदै ५ महिनाअगाडि भरतपुर महानगरको अगुवाइमा औद्योगिक प्रदर्शनी स्थलमा बनेको अस्थायी कोरोना अस्पतालमा भएको चोरी, भिडियोकाण्डमा मुछिएका व्यक्तिहरूलाई राजनीतिक पहुँचका आधारमा संरक्षण गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । सङ्गठनका अध्यक्ष भीमबहादुर तामाङ र सचिव होमनाथ पौडेलले बिहीबार सरकारलाई प्रेषण गरेको ज्ञापनपत्रमा कोरोना महामारीको विषम परिस्थितिमा आधारभूत जनतालाई चुस्तदुरुस्त स्वास्थ्य सेवा प्रदान गरी जनताको जीवनरक्षा गर्नुको साटो उल्टो अस्पताललाई राजनीतिक पहुँचका आधारमा राजनीतिक भागबन्डा गरी कर्मचारी भर्तीकेन्द्रका रूपमा परिणत गरेको र जनताको स्वास्थ्य सेवामा खेलबाड गरेकाले यसप्रकारका घृणित कार्य नगर्न चेतावनी पनि दिइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ विगत लामो समयदेखि जनताहरूको स्वास्थ्य सेवा, सुविधा र हकहितका निम्ति अनवरत सङ्घर्ष गरिरहेको छ । यसै सन्दर्भमा विश्वभर फैलिएको कोरोना महामारीको चपेटामा हाम्रो देश पनि आक्रान्त बनेको छ । यस महामारीको रोकथाम र व्यवस्थापनमा विभिन्न सङ्घसंस्था र बुद्धिजीवीहरूबाट पहलहरू भइरहेका छन् भने राज्य विभिन्न काण्ड र स्वास्थ्यसामग्री घोटालामा मुछिएको छ । यसै क्रममा करिब ५ महिनाअगाडि कोरोना रोकथाम तथा व्यवस्थापनका नाममा भरतपुर महानगरको अगुवाइमा औद्योगिक प्रदर्शनी स्थलमा बनेको अस्थायी कोरोना अस्पतालमा भएका चोरी भिडियो काण्डलगायत अन्य आर्थिक तथा व्यवस्थापकीय अनियमितता र अपारदर्शिताप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘अस्थायी कोरोना अस्पतालको चोरीकाण्डमा मुछिएका व्यक्तिहरूलाई राजनीतिक पहुँचका आधारमा संरक्षण गरेको घृणित कार्यले सम्पूर्ण जनता र इमानदार स्वास्थ्यकर्मीलाई स्तब्ध बनाएको छ । साथसाथै कोरोना महामारीको विषम परिस्थितिमा आधारभूत जनतालाई चुस्तदुरुस्त स्वास्थ्य सेवा प्रदान गरी जनताको जीवनरक्षा गर्नुको साटो उल्टो अस्पताललाई राजनीतिक पहुँचका आधारमा राजनीतिक भागबन्डा गरी कर्मचारी भर्तीकेन्द्रका रूपमा परिणत गरी जनताको स्वास्थ्य सेवामा खेलबाड नगर्न हाम्रो सङ्गठन चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :