अखिल (क्रान्तिकारी) कैलालीद्वारा अन्तरक्रिया

विद्यार्थी, शिक्षक र कर्मचारीलाई निःशुल्क मास्क र सेनिटाइजर वितरण

अखिल (क्रान्तिकारी) कैलालीद्वारा अन्तरक्रिया

काठमाडौँ : कोभिड १९ को कहरसँगै विगत लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरू छिटफुट रुपमा सञ्चालनमा आएसँगै आलोपालो पढाइ भैरहेका बेला अखिल (क्रान्तिकारी) ले कैलालीमा सञ्चालित विभिन्न विद्यालयमा अन्तरक्रिया गर्नुका साथै विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई निःशुल्क मास्क र सेनिटाइजर वितरण गरेको जानकारी अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष सुवासकिरण जोशीले दिएका छन् ।

राज्यले कर सङ्कलन गर्ने केन्द्रहरू भन्सार, मालपोत, नापी, राजस्व तथा स्थानीय निकायमा स्वास्थ्यको ख्याल नगरी बाक्लो भीडभाड गरेर पनि कर असुली गर्ने गरेको तर शैक्षिक सङ्घसंस्थाहरू, उद्योग व्यवसाय र यातायात व्यवसाय धराशयी हुँदा र भविष्यका कर्णधार विद्यार्थीको शैक्षिक वर्ष खेर जानै लाग्दासमेत राज्यले कुनै विकल्प नखोज्नु निकै लज्जास्पद भएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंहले बताए ।

शैक्षिक सरोकारका विषयमा प्रअ र शिक्षक–कर्मचारीसँग सङ्गठनले अन्तरक्रिया आयोजना गरेको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी करणले यस्तो सङ्कटको बेला पनि सरकार शैक्षिक क्षेत्रप्रति गैरजिम्मेवार बनेको, भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो सरकार आफैँ भ्रष्टाचारमा संलग्न रहेको, मिलेनियम च्यालेन्ज कर्पोरेसनजस्ता राष्ट्रघाती समझौता गर्न तम्सिएको, राज्यलाई अर्बौं करछली गर्ने एनसेलजस्ता सञ्चार सेवाप्रदायक संस्थालाई कारबाही नगरेको, स्वास्थ्य सामग्री खरिदमा समेत करोडौँ भ्रष्टाचार गरेको भन्दै सङ्घर्षमा होमिन युवा विद्यार्थीलाई आह्वान गरे ।

उनले महामारीको बेला पनि आफ्नो कार्यक्षेत्रमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, किसान, मजदुर, विद्यार्थीलगायत सबै जनसमुदायको सरकारले निःशुल्क स्वास्थ्य परीक्षण नगरे कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी पनि दिए ।

कार्यक्रमको सञ्चालन सङ्गठनका सचिव महेश पातलीले गरेका थिए । अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा अभिभावकको समेत उल्लेखनीय सहभागिता रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :