प्रतिबन्ध तोडेर क्रान्तिमा होमिँदै रोल्पाली युवा


काठमाडौँ : रोल्पाली युवाहरुले सरकारी प्रतिबन्ध तोडेर क्रान्तिमा होमिने प्रतिस्पर्धा नै चलाएका छन् । जिल्लाभरका युवा नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपालमा आबद्ध भएर क्रान्तिमा होमिने प्रण गरेका हुन् ।

यसैक्रममा युवा सङ्गठन नेपाल माडी गाउँ समिति रोल्पाको प्रथम भेला सम्पन्न भएको छ । युवा सङ्गठन नेपाल माडीका संयोजक कमलको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा सङ्गठन नेपालका सङ्ग्रामले सञ्चालन गरेका थिए ।

उक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ थिए भने विशेष अतिथिहरूमा युवा सङ्गठन नेपाल रोल्पाका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रज्ज्वल, नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्ला सदस्य सन्दीप, अतिथिहरूमा नेकपा रोल्पाका सदस्य दिनेश, नायक, अविरल, युवा सङ्गठन नेपाल रोल्पाका सचिव असल, युवा सङ्गठनकै रोल्पा जिल्ला सदस्य इच्छुक, अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सदस्य लक्ष्मण, रोल्पा–काठमाडौँ सम्पर्क मञ्चका संयोजक रणबहादुर, दलित मुक्ति मोर्चाका जिल्ला सदस्य गोपाल विक, युवा सङ्गठन गङ्गादेवका सदस्य छवि, माडीका पुराना अग्रज कम्युनिस्ट नेता एवम् नेकपाका माडी गाउँ समिति सदस्य अमरलगायत उपस्थित थिए । उक्त भेलामा अतिथिलाई युवाका प्रवणले स्वागत गरेका थिए ।

उक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्दले शुभकामना दिँदै युवाहरू नै देश परिवर्तनका मुख्य संवाहक भएकाले क्रान्तिलाई निर्णायक तहमा पुर्याउन सबै नौजवान युवाहरू एक हुनुपर्ने बताए । दलाल सत्ताको अखडा भत्काउन युवाहरू तयार रहन उनले आह्वान पनि गरे ।

चन्दले भने, ‘यो दलाल सत्ता श्रमजीवी वर्गका जनताको हितमा नभएकाले यो सत्ता खारेज गरी जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरिछोड्ने प्रतिबद्धताका साथ देशमा एकीकृत जनक्रान्ति आरम्भ भएको छ । वैज्ञानिक समाजवाद स्थापनाका लागि गाउँगाउँमा जनसत्ता सञ्चालन गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’

नेकपाका युवा नेता चन्दले युवाहरू कुनै लोभलालचमा नपरी एकपटक गम्भीर भएर क्रान्तिमा होमिन पनि अपिल गरे । युवाहरू भविष्यका कर्णधार मात्र नभएर सशक्त वर्तमान भएकाले अहिले नै सशक्त ढङ्गले प्रतिरोधमा उठ्न र सहिदहरूका अधुरा सपना पूरा गर्दै नेपाली जनताको न्याय, मुक्ति, स्वतन्त्रता, समानता, स्वाधीनता, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति एकीकृत जनक्रान्तिको महान् अभियानमा लामबद्ध हुन आह्वान गरे ।

उनले जनताको मुक्तिका निम्ति पार्टीले दलाल सत्ता खारेज गरेर जनताको सत्ता स्थापना गर्न सबै प्रकारका तयारी गरिरहेकाले सचेत युवाहरू जनमुक्ति सेनामा भर्ती हुनका लागि तयारी अवस्थामा बस्न पनि अनुरोध गरे ।

कार्यक्रममा भेलाका विशेष अतिथि युवा सङ्गठन नेपाल रोल्पाका अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रज्वलले एकीकृत जनक्रान्तिलाई टुङ्गोमा पुर्याउन युवाहरू गाउँगाउँ, बस्तीबस्तीबाट एक भएर जुट्नुपर्ने बेला आएको बताए । भेलाका अर्का विशेष अतिथि नेकपा रोल्पा जिल्ला सदस्य सन्दीपले भेला सफलताको शुभकामना दिँदै जनताको न्याय, अधिकार सुनिश्चित गर्न युवाहरू क्रान्तिमा लामबद्ध हुन आह्वान गरे ।

भेलाका अतिथिहरू नायक, दिनेश, अविरल, असल, रणबहादुर र इच्छुकले भेला सफलताको शुभकामना दिँदै एकीकृत जनक्रान्ति सफल पार्न युवाहरूले रोल्पाका गाउँबस्तीहरूबाट महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा लामो समय जेल र हिरासत मोर्चा जितेर आएका पार्टीका जिल्ला सदस्यहरू सन्दीप, दिनेश र अविरललाई नेकपा रोल्पाका सेक्रेटरी चन्दले अबिर लगाएर अभिनन्दन एवम् सम्मान गरेका थिए ।

उक्त भेलाबाट कमल अध्यक्ष रहने गरी १७ सदस्यीय युवा सङ्गठन नेपाल माडी गाउँ समिति निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :