सम्झनाका बलात्कारी र हत्यारालाई कडा कारबाही गर्न महिला सङ्गठनको माग

सम्झनाका बलात्कारी र हत्यारालाई कडा कारबाही गर्न महिला सङ्गठनको माग

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ति जारी गर्दै बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीका बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । संयोजक पूर्णिमा धामीले विज्ञप्ति जारी गरी सम्झना कामीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त जघन्य अपराधले सङ्गठनलाई असाध्यै दुःखी र स्तब्ध बनाएको उल्लेख गरेकी छिन् । उनले महिलामाथि हुने यसप्रकारका जङ्गली र पाशविक अपराध सधैँका लागि अन्त्य गर्न सङ्घर्षमा उत्रिन पनि सबैलाई आह्वान गरेकी छिन् ।

नेत्री पूर्णमाले भनेकी छिन्, ‘विश्व २१ औँ शताब्दीमा अगाडि बढिरहेको भए पनि महिलाहरूमाथि भैरहेका क्रूर, पाशिवक र हिंसात्मक घटनाहरू हेर्दा अहिले पनि कुनै जङ्गली युग नै चलिरहेको अनुभूति भैरहेको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं. २ थिकाला गाउँमा २०७७ असोज ०७ गते बुधबारका दिन १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको घटनाले हामी सबैलाई असाध्यै दुःखी र स्तब्ध बनाएको छ । बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीप्रति हाम्रो महिला सङ्गठनका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मानवीय संवेदनाका सम्पूर्ण मूल्यमान्यताहरूको देहावसान गराउने यस्तो क्रूर, हिंश्रक र जघन्य अपराधको घटनामा संलग्न अपराधीलाई कठोर सजायको माग गर्दछौँ । साथै सम्पूर्ण महिला दिदीबहिनीहरू र आमजनसमुदायलाई यस्तो अभिव्यक्त गर्न नसकिने पीडादायी र क्रूर महिला हिंसाका घटनाहरू सधैँका लागि समाप्त पार्ने सङ्घर्षमा उत्रिन अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :