दृष्टिबन्धक गराइएका किसानका घरजग्गा फुकुवा गर : जनसत्ता

दृष्टिबन्धक गराइएका किसानका घरजग्गा फुकुवा गर : जनसत्ता

काठमाडौँ : समानान्तर सत्ताको प्रयोग गर्दै आएको नेकपा सम्बद्ध जिल्ला जनपरिषद् रूपन्देहीले मध्यम किसान, गरिब जनताको समस्याको फाइदा उठाउँदै कथित दृष्टिबन्धकका नाममा किसानहरूको घरजग्गा धितो राखी १० देखि १५ प्रतिशतसम्म ब्याज असुलउपर गर्ने मुठीभर सुदखोरहरूलाई कारबाही गर्ने भएको छ ।

जिल्ला प्रमुख जीवनले आइतबार प्रेस वक्तव्य जारी गर्दै सुदखोरहरूका कारण दृष्टिबन्धक राख्ने किसानहरूले स्वामित्व नै हस्तान्तरण हुने गरी राजीनामा पास गर्न बाध्य भइरहेको र फलस्वरूप ती किसानहरू सुकुमबासी हुन बाध्य भइरहेको भन्दै यस्तो हर्कत नरोके कारबाही गर्ने बताएका हुन् ।

उनले १५ दिनभित्र दृष्टिबन्धक गरेका सम्पूर्ण किसानहरूको घरजग्गा फुकुवा गर्न चेतावनी दिँदै विज्ञप्तिमा भनेका छन्, ‘हामी ती मुठीभर सुदखोर र मिटरब्याजेहरूलाई यस्ता हर्कत नगर्न र दृष्टिबन्धक गरेका सम्पूर्ण किसानका घरजग्गा तत्काल १५ दिनभित्र फुकुवा गरी किसानलाई तत्काल स्वामित्व हस्तान्तरण गर्न कडा निर्देशन गर्दछौँ ।’

विज्ञप्तिमा घरजग्गा फिर्ता नगरे जनपरिषद्को नीतिअनुरूप मिटर ब्याज लिने, दृष्टिबन्धक राख्ने दलाल तथा सुदखोरहरूलाई कडा कारबाही गर्ने र यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार उनीहरू नै हुनेसमेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :