कथित मानव सर्वश्रेष्ठताको मुकुट

लेखक : सुमनसिंह पौडेल

आफूलाई बुझ्नु भनेको आफूसँग अन्तर्निहित कयौँ दायित्वलाई बुझ्नु पनि हो । मान्छे आफ्ना लागि मात्र बाँच्ने कुरा सही होइन । दोस्रोका निम्ति बाँच्नुपर्छ भन्ने कुरा बुझ्नु स्वतः दोस्रोप्रति आफूसँग निहित दाहित्वबोध हुनु हो । यहाँ दोस्रो भन्नाले व्यक्ति मात्र होइन, आफूले धारण गरेको भौतिक शरीरभन्दा अलग सिङ्गो पृथ्वी र यहाँभित्रका प्रकृतिमा विचरण गरिरहेका वनस्पति र प्राणीहरूलाई सम्झनुपर्छ । यसर्थ मान्छेको दायित्वको दायरा विशाल छ ।

पक्कै पनि मान्छे सर्वश्रेष्ठ छ तर मान्छेको सर्वश्रेष्ठताको मापन मान्छेले गरेका आविष्कार, खोज अनुसन्धान र मान्छेले बाँचिरहेको जीवनबाट मात्र सम्भव हुन्छजस्तो लाग्दैन । अवश्य मान्छेले आफूलाई चेतनशील ठान्छ र यही ढोङमा आफ्नो ऐतिहासिक साहित्य पर्गेल्छ । यो सरासर गलत छ । मान्छेको सर्वश्रेष्ठताको मापन उसले गरेको कल्याणकारी, प्रकृतिमैत्री, पृथ्वीसंरक्षक व्यवहारका आधारमा गरिनुपर्छ । त्यो मात्र वैज्ञानिक र वस्तुवादी हुन्छ ।

पृथ्वीमा भएका प्रकृतिआश्रित असङ्ख्य जीवहरूमध्ये मानिस मात्र एक यस्तो प्राणी हो जो आफू सर्वश्रेष्ठ भएको दाबी गर्छ र गर्वित बन्न पुग्छ । पृथ्वीमा कयौँँ जीवजनवारहरू एकआपसमा लडिरहेका हुन्छन् । एकले अर्काको मासु खाएर आफ्नो प्राण गुजारा गरिरहेका हुन्छन् तर के मान्छेले यतिका समयहरूमा आफ्नो उत्पत्तिकालदेखि यता खास गरेर हाम्रो सबैभन्दा पुरानो पूर्वज पेरोलापिथेकस हुँदै मानवजीवनमा पदार्पण गरेको ४० लाख वर्षयता आफूआफू लडाइँ गरेर कति नरसंहार गर्यो ? के हामीसँग यसको कुनै लेखाजोखा छ ?

प्रकृतिमा सबैको सापेक्षित र उस्तै गरेर विकास भैरहेको छ । विकासका निम्ति आवश्यक अनुकूलता मान्छेद्वारा लुटिनाले कयौँ जीवहरूको जीवन इतिहास मात्र बन्न पुगेको छ । कयौँ जीव र वनस्पति मान्छेले पैदा गरेको प्राकृतिक प्रतिकूलताका कारण लोप भएका छन्, लोपोन्मुख छन् । कयौँको स्वरूप परिवर्तन भएको छ । कयौँको आनीबानीमा परिवर्तन आएको छ । कयौँ जीवहरू हराइरहेका छन् । त्यसो त कयौँ नयाँनयाँ जीवहरूको उत्पत्तिसमेत भइरहेको छ जसरी हामी मान्छेको उत्पत्ति भएको थियो । यो पृथ्वीमा १४ करोड वर्षसम्म राज गरेर बसेको डाइनोसारको पनि ६ करोड ५० लाख वर्ष पहिले यो धर्तीमा उल्कापिण्डको ठक्करबाट पैदा भएको महाविस्फोटका कारण विनास भएको थियो । कारण अर्कै पैदा हुनसक्ला तर हामी मान्छेका कारण निर्माण हुँदै गएको प्राकृतिक विद्रुपीकरणले हामी मान्छेको पनि विनास अवश्यम्भावी छ ।

मानिसबाहेक प्रकृति उपभोग गरिरहेका कयौँ जीवलाई धर्मले तुच्छ, निचका रूपमा मानिसको दिमागमा भरिदिएको छ । अर्को जुनी वा जन्म (पुनर्जन्म) विभिन्न जनवार समूहमा जन्म लिनेजस्ता बकबास पाखण्ड धर्मले मानिसहरूलाई सिकाएको छ ।

हामी मानिस हुनुमा गर्व गर्छौं । सायद हामी मान्छे नभएर कुकुर भएको भए ? यस्तो कल्पना गरेर जिब्रो काढ्छौँ । तर कुकुरमा विद्यमान जीवन देख्दैनौँ । हामी आफू मान्छेबाहेक अरूको जीवनलाई जीवन ठान्न, बुझ्न चुकिरहेका छौँ । यो हामी मान्छे जातिमा व्याप्त सबैभन्दा ठूलो अहम हो, घमण्ड हो, अभिमान हो । हामीलाई यसले पूरै अन्धो बनाएको छ । हामी अन्धो बनिसकेका छौँ ।

धर्मको पाखण्डपनले विज्ञानले उजागर गरेका कयौँ तथ्यहरूलाई कालो बर्को ओढाएको छ । मानिसबाहेक प्रकृति उपभोग गरिरहेका कयौँ जीवलाई धर्मले तुच्छ, निचका रूपमा मानिसको दिमागमा भरिदिएको छ । अर्को जुनी वा जन्म (पुनर्जन्म) विभिन्न जनवार समूहमा जन्म लिनेजस्ता बकबास पाखण्ड धर्मले मानिसहरूलाई सिकाएको छ । मानिस आफू र आफ्नो समुदायभन्दा अरूमा जीवन देख्न सक्दैन । मान्छेलाई धर्मले पुँजीवादी लुटेराहरूको गुलाम बनाइदिएको छ । धर्म नामको अध्यात्मिक चेतना उन्नत मानवीय सभ्यताको महादुस्मन हो जसका उपासकहरू प्राणीजातिका सर्वनाशक हुन् ।

शोषण र विभेदको मुख्य संरक्षक बनिरहेको अध्यात्मकवादी पुँजीवाद आफ्नो सत्ता टिकाउन, आफू टिक्न, दुनियाँलाई उल्टो र वाहियात विषयको पछाडि कुदाइरहेको छ । मान्छे हुनुको गर्व र गौरवका अतिरिक्त धनी र शक्तिशाली बन्नुको अर्को गौरव र घमण्ड पुँजीवादी राजनीतिले पैदा गरेको छ र त्यो राजनीतिले पैदा गरेको वर्ग र त्यहाँभित्रका पनि खास विशिष्ट भनिएकाहरू गरिब र सीमान्तकृतहरूलाई मान्छे मान्न चाहिरहेका छैनन् । यो यथार्थ सत्य हो । आफ्नो राज्यको भ्रमणपछि रानी एलिजाबेथले भनेकी थिइन्, ‘जतासुकै कङ्गालहरू थिए’, ‘घुमन्ते दरिद्रहरू थिए ।’ आफूलाई सत्ता मान्ने सामन्तवादी, पुँजीवादीहरू गरिब वर्गलाई मान्छे मान्न तयार छैनन् भन्ने यो एउटा सानो उदाहरण हो ।

हामी यस्तो समय र समाजमा बाँचिरहेका छौँ जहाँ साँचो कुरा बुझेपछि मानिस हुनुमा लज्जा हुन्छ । हामी आफूले आफैँलाई थुक्न पुग्छौँ– मानिस भएकोमा । हाम्रो आर्थिक अवस्था, हाम्रो जीवनशैली सामान्य गरिबीमै व्यतीत भइरहेको भए पनि अभिमानी मानवइतिहासका कयौँ नकारात्मकताका भागीदार हामी पनि हौँ । त्यसैले पृथ्वी, प्रकृति र सम्पूर्ण जीव दुनियाँलाई पिरोल्नुमा हामी पनी जिम्मेवार छौँ । हामीले यताबाट पनि हेर्नुपर्छ र गरिब जीवनको छाप्रोबाट दुनियाँलाई बचाउने दायित्व ग्रहण गर्नुपर्छ ।

हामीले नबुझेको हो वा बुझेर पनि बुझपचाएका छौँ ? प्रश्न आफैँलाई गरौँ किनकि सिङ्गो प्रकृतिमा हामी सबै एकअर्कामा अन्तर्निर्भर छौँ, अन्तर्घुलित छौँ । रूखबिना हामी र हामीबिना रूखहरू पनि बाँच्न मुस्किल पर्छ । रूख सिङ्गो पृथ्वीमा अधिक महत्वपूर्ण छ जीवनका लागि । हामी यतिविघ्न रूख काटिरहेका छौँ, हाम्रा साधारण आवश्यकता र कुत्सित स्वार्थहरूका निम्ति सिङ्गो पर्यावरणलाई ध्वस्त पारिरहेका छौँ । यो हाम्रो आत्महत्यापथशिवाय केही होइन । जङ्गलले हामी प्राणीहरूलाई जीवन दिन्छ । हामीले फ्याँकेको कार्बनडाइअक्साइड जङ्गलले लिन्छ र त्यसको बदलामा हामीलाई अक्सिजन दिइरहेको हुन्छ । हामीले बुझेका त छौँ तर हामीलाई यो विषयप्रति यतिबेला ध्यान दिन आवश्यकता परेको छैन किनकि हामीले त्यो भयावह अवस्था झेल्नुपरेको छैन । तर गम्भीर बनेर आफ्नो मानिस भएको घमण्डलाई एकछिन विश्राम दिएर हाम्रो भोलि अर्थात् भाबी पुस्ताको जीवनसँग यति ठूलो खेलबाड नगरौँ ।

प्रकृतिमाथिको भयानक आक्रमण, दोहन र ज्यादती हामीले रूखहरूमाथि गरिसकेका छौँ । रूखमाथिको हाम्रो आक्रमण जीवनमाथिको साङ्घातिक आक्रमण हो । विषाक्त आक्रमण हो । विश्वभरि हामीले असाध्यै ठूलो मात्रामा रूखहरूको विनास गरिसकेका छौँ । त्यसैले यतिबेला कार्बन उत्सर्जनका कारण तापक्रम वृद्धि भइरहेको छ । छिट्टै नै यही तापक्रमका कारण हिमपहाडहरू पग्लनेछन्, समुद्रको सतह माथि आउनेछ जसकारण समुद्रतटीय क्षेत्रमा रहेका न्युयोर्क, लन्डन, मुम्बई, कलकत्ता, सानफ्रान्सिस्को, आमस्टडर्मलगायत विश्वका कयौँ सहरहरू समुद्रमा डुब्नेछन्, इतिहास बन्नेछन् । जतिबेला हामीलाई पछुतो गर्नसमेत समय मिल्नेछैन ।

विश्वमा जनसङ्ख्या वृद्धि पनि अत्यधिक छ । हामी अरू प्रजातिका जीवहरूको जीवनलाई ध्वस्त पार्दै आफू भने आफ्नो धर्म बचाउन जनसङ्ख्यालाई तीव्र बनाइरहेका छौँ । हामीलाई आफ्नै विनासक र दुःखको कारण बनिरहेको पुँजीवादीहरूको हतियार कथित धर्मलाई बचाउनु परेको छ । रूखहरूको विनासको कारण पर्यावरणमा आएको ठूलो सङ्कटले मानवजातिमा खानेपानीको हाहाकार हुने स्थिति छ । सबै कुराको विकल्प हुनसक्छ तर पिउने पानीको सम्भव छैन । यतिबेला हामीसँग रहेको करिब ७ अर्ब जनसङ्ख्यालाई पर्याप्त हुने खानेपानीको आपूर्ति गर्न असमर्थ भइरहेका छौँ । विश्वको झन्डै आधा जनसङ्ख्यालाई पिउने पानीको आपूर्ति गर्न सकिरहेको हिमालय हामीले गरेको तीव्र प्राकृतिक दोहनका कारण सन्तुलन गुमाउँदै गइरहेको छ । भविष्यमा यो एउटा भयानक समस्या बनेर हाम्रो अगाडि उपस्थित हुनेछ । पिउने पानीको अभावमा दुनियाँ छट्पटाउँदै मर्नुपर्ने हुनसक्छ । त्यतिबेला हामीलाई पश्चाताप गर्नसमेत अवसर नमिल्न सक्छ ।

शोषण र विभेदको मुख्य संरक्षक बनिरहेको अध्यात्मकवादी पुँजीवाद आफ्नो सत्ता टिकाउन, आफू टिक्न, दुनियाँलाई उल्टो र वाहियात विषयको पछाडि कुदाइरहेको छ । मान्छे हुनुको गर्व र गौरवका अतिरिक्त धनी र शक्तिशाली बन्नुको अर्को गौरव र घमण्ड पुँजीवादी राजनीतिले पैदा गरेको छ र त्यो राजनीतिले पैदा गरेको वर्ग र त्यहाँभित्रका पनि खास विशिष्ट भनिएकाहरू गरिब र सीमान्तकृतहरूलाई मान्छे मान्न चाहिरहेका छैनन् । यो यथार्थ सत्य हो ।

हाम्रो यो प्रकृतिविरुद्धको तीव्र हमला र व्यापक बनफडानीले कृषि तथा जीवजन्तुका लागि चरन र बसोबासको क्षेत्र मरुभूमिमा परिणत भइरहेको छ । कयौँ वनस्पतिहरू लोप भइरहेका छन् । कयौँ प्रजातिका प्राणीहरू लोप भइरहेका छन् । हामी आफ्नो अहमता र मान्छे हुनुको घमण्ड साधेर आफ्नो कृत्रिम वैभवका लागि ठूलो भयानक अपराध गरिरहेका छौँ । के हामीलाई यी विषय थाहा नभएका हुन् ? थाहा छ तर हाम्रो मानसमा यस्तो विषाक्त सुझबुझ भरिएको छ जो आफूलाई आधुनिक मानवको मुकुट पहिरेर केही नाफाखोरहरूका कयौँ वस्तु खरिद गरिरहेका छौँ । प्रकृतिको भयानक दोहन गरेर नाफाखोरहरू हामीलाई आफ्नो बजारमा मोलमोलाइ गरिरहेका छन् । हामी पुँजीवादी लुटेराहरूका भोग्य वस्तु बनेका छौँ ।

प्रकृतिको मरुभूमीकरण, नाफाको लोभमा तीव्र उत्पादनको लहड, पुँजीवादी लुटको निकृष्ट चरित्रका कारण प्रकृतिको दुस्मनका रूपमा पुँजीवादले हामी सबैलाई उभ्याउँदैछ । सर्वश्रेष्ठताको पाइजामा लगाइदिएर पुँजीवाद हामी सबैलाई आफ्ना कर्तुतहरूको भागीदार बनाउन खोजिरहेको छ । कीटनाशक विषादी प्रयोग गरेको तरकारी खाएर प्रतिवर्ष लाखौँ मान्छेको मृत्युु हुन्छ । कयौँ जीवहरूको जीवन सङ्कटमा पर्छ, लोप हुन्छ । नाफाको लोभमा परेका आशक्त मानिसहरू तीव्र औद्योगिकीकरणका नाममा विषालु ग्याँस उत्सर्जन गरिरहेका छन् जसकारण पृथ्वीदेखि ३० हजार फिटमाथि वायुमण्डलमा स्थायी रूपमा तह बनेर बसेको ओजोन तह नष्ट भैरहेको छ, प्वाल परिरहेको छ । ओजोन तह पृथ्वीमा भएको प्रकृतिका सबै प्राणी तथा बोटबिरुवाका लागि अत्यन्तै महत्वपूर्ण छ । ओजोन तहको नष्टीकरणसँगै सूर्यबाट आउनेमध्येका हानिकारक परावैजनी किरणहरू पृथ्वीमा प्रवेश गरिरहेका छन् जसकारण पृथ्वीका कयौँ प्रजाति, प्राणी यस महासङ्कटको छायामुनि छट्पटाइरहेका छन् । यसले पृथ्वीको सन्तुलन बिगारिरहेको छ । यसकारण हामी भयानक खतराको एकदम नजिक छौँ ।

हामी आफूलाई सर्वश्रेष्ठ भएको कथित दाबी गर्छौं तर हामी मानव जाति अत्यन्तै तुच्छ, निकृष्ट, हत्यारो, भएका छौँ । त्यसैले हामी मानवबाट अमानव बन्दै गइरहेका छौँ । जसरी प्रकृतिको यतिविघ्न दोहन, यति हानि भइरहेको छ, के यो कुनै अमूक जनवारले गर्यो ? आजसम्म मानवबाहेक यो पृथ्वीलाई यति ठूलो चोट कसैले पुर्याएको छैन जसको कारण उत्पन्न भयानक पर्यावरणीय सङ्कटको मार सिङ्गो प्राणीजगत्ले भोग्न बाध्य छ । कोरोना भाइरस (कोभिड १९) जस्तो महामारी हामी यतिबेला भोगिरहेका छौँ । कयौँ यस्ता महामारी भोग्दै आएका छौँ । कयौँ सङ्कटहरू उत्पन्न भएका छन् । के हामी अझै घमण्ड गर्छौं ? हामी आफूलाई सर्वश्रेष्ठ ठानेर अझै अन्धो बन्छौँ ?

हामी मानव जाति कस्ता छौँ भने २० औँ खर्ब डलर युद्धप्रविधि, अमानवीय युद्ध र जनदमनमा खर्च गरिरहेका छौँ । हामीलाई हाम्रो कृत्रिम वैभवको चिन्ता छ तर वर्षमा २ करोडभन्दा बढी मानिस कुपोषित र खान नपाएर मरिरहेका छन् । प्रतिमिनेट सयौँजना बालबालिका खान नपाएर मरिरहेका छन् । अर्कोतर्फ हामी अभिमानी कथित सर्वश्रेष्ठ प्राणी मानिस प्रतिमिनेट अर्बौं रकम सार्वजानिक कोषबाट सैनिक खर्चमा लगाइरहेका छौँ । हामीलाई जीवनको कुनै पर्वाह छैन । हामी पछिल्ला १०० वर्षमा यहाँसम्म आइपुग्यौँ, हामीले हिजोको लाखौँ वर्षको इतिहास पनि बिर्सिसकेका छौँ र भोलिप्रति पूर्ण रूपमा अन्धो बनेका छौँ किनकि आजसम्मको मानवइतिहास र प्रकृति यति कुरूप कहिलै भएको थिएन तर हामी आफूलाई आजसम्मकै सुन्दर भनेर दाबी गरिरहेका छौँ ।

पक्कै पनि यी वास्तविक तथ्यहरूले हामीलाई झस्काउँछ । चिन्तनमनन गर्ने अवस्थामा धकेल्छ तथापि हामी दिशाविहीन बन्न पुग्छौँ । हाम्रो मथिङ्गलमा यो सङ्कटको समाधान सुल्झँदैन । हरेस नखाऔँ, नडराऔँ– अवश्य यसको समाधान पनि हामीसँगै छ र यो समाधान वैज्ञानिक समाजवाद– साम्यवाद हो । यो दायित्व पक्कै पनि अन्य प्राणीको होइन किनकी उनीहरू यो सङ्कटका दोषी होइनन् ।

मान्छेलाई सर्वश्रेष्ठताको प्रमाणपत्र दिनेहरू अरू कोही होइनन्, तिनीहरू सुनका दरबारमा बस्नेहरू हुन् । महँगा हीराजडित पलङमा सुत्नेहरू हुन् । व्यक्तिगत रूपमै सुपरजेट लिएर हिँड्नेहरू हुन् । कृत्रिम वैभवको उच्चतम् सिंहासनमा बसेका आदेशकर्ता नाफाखोर, बजारनियन्त्रक, लुटपाट गर्नेहरू हुन् । अहो ! हामी त्यही प्रमाणपत्र पाएर गद्गद छौँ, पुलकित छौँ र भनिरहेका छौँ– हामी सर्वश्रेष्ठ प्राणी हौँ । अझै झुक्किरहनुभएको छ भने कृपया अब नझुक्किनुहोला । सिंहासनबाट तल ओर्लनुहोला र आममानवको भीडमा उभिएर आफूलाई मानव मात्र अथवा प्राणी मात्र ठान्नुहोला । सर्वप्रथम हामी कथित सर्वश्रेष्ठताको प्रमाणपत्र जलाऔँ । सर्वश्रेष्ठताको मुकुट निकालौँ । सर्वश्रेष्ठ भएको अहंकारलाई तोडौँ । सबैभन्दा पहिलो परिवर्तन हाम्रो त्यहीँबाट सुरु हुनेछ ।

अझै एउटा तथ्याङ्कमा जाऔँ । ३० औँ करोड विद्यालय उमेरका बालबालिका शिक्षा पाइरहेका छैनन् तर यति सङ्ख्यालाई शिक्षा दिन सकिने खर्चभन्दा बढी खर्च एउटा आणविक पानीजहाजको छ । यस्ता कयौँ पानीजहाजहरू सर्वश्रेष्ठ भएको अभिमानमा कुर्लनेहरूले समुद्रमा २४ घन्टा तैनाथ गरेका छन् । हजारौँ वैज्ञानिकहरू युद्धसामग्री बनाउनमा जुटिरहेका छन् । मानवीय मूल्यलाई भत्काउँदै यति धेरै यौनविकृति फैलाइएको छ जसले सोदोम र गोमोराहलाई बिर्साइदिएका छन् । संस्कृति, मूल्य, मान्यता, ध्वस्त गरिएको छ । मानवजीवन यति विकृत गरिएको छ जसले हामीलाई मान्छेबाट लज्जाबोध हुने दुःखद् अवस्थामा पुर्याएको छ तर हामी आफूलाई आधुनिक मानवको घमण्डले जाज्वल्यमान गर्न मस्त छौँ ।

पुँजीवाद नै यस्तो व्यवस्था हो जो सर्वश्रेष्ठता र आफ्नो कथित महानताका लागि दुनियाँलाई नष्ट गर्नसमेत पछि पर्दैन । त्यसकारण सिङ्गो पृथ्वीका निम्ति पुँजीवाद भयानक दुस्मन बन्न पुगेको छ । यसका कयौँ विकृतिहरू छन् जसको जति नै चर्चा गरे पनि कम हुन्छ । हामीले यति स्पष्ट बुझौँ– पुँजीवादी विश्वव्यवस्थालाई भत्काएर हामी वैज्ञानिक समाजवादमा प्रवेश गरौँ । वैज्ञानिक समाजवादले सर्वप्रथम ‘म’ लाई ‘हामी’ बनाउनेछ । हाम्रो कथित सर्वश्रेष्ठताको कवच उतार्नेछ । निजी पुँजीको अन्त्य गर्नेछ ।

आफूलाई बुझ्नु भनेको हाम्रो आफ्नो दायित्वलाई बुझ्नु हो । हाम्रो दायित्व अवश्य आफ्ना लागि मात्र सीमित छैन र यसलाई सीमित गरिनु दुर्भाग्यपूर्ण हुन पुग्छ । हामीले आफ्नो दायित्वलाई आफैँमा मात्र निहित गर्नु भनेको घरमा एसी चलाएर प्रकृतिमा उत्पन्न भएको विस्फोटक गर्मी, तापलाई बिर्सनु हो जो हाम्रा कारण उत्पन्न भएको छ । कुद्दै गरेको कारको सबै झ्याल बन्द गरेर एसीमा बसेर बाहिरको गर्मी र ताप बिर्सनु हो । महलमा बसेर तलतल रहेका मसिना झुपडीमा गुज्रिएको उत्पात गर्मीको कुनै लेखाजोखा नगरिनु हो । यसो सम्झौँ त हामी आफ्ना लागि कृत्रिम अनुकूलता तयार गरिरहेका छौँ जसकारण पाँच मिनेटअगाडि र पाँच मिनेटपछाडिसम्म सोच्न बिर्सन पुग्छौँ । पाँच मिनेटअगाडि र पछाडि भुल्ने यस्ता सर्वश्रेष्ठ मानव हामी विगत इतिंहासको त्यो हराभरा पृथ्वी, स्वच्छ हिमालय र हावा, असङ्ख्य स्वच्छन्द प्राणी, हरियाली, स्वच्छता, प्राकृतिक खानपिन र जीवन कसरी सम्झन्छौँ र ?! अनि हाम्रा छोराछोरी, नातिनातिना अर्थात् भोलिको त्यो सुदूर भविष्य कति भयावह होला ! हामी कल्पनासमेत गर्न आवश्यक ठान्दैनौँ । कल्पना गर्ने हामी एकाध पनि यति गहिरो गरी चिन्तित बन्दैनौँ । हामी पनि त्यही एसीकै जोहो गर्न तल्लीन छौँ यस्तो गहन चिन्ता पन्छाएर ।

कसरी हामी हाम्रा कमजोरी सच्याउन सक्छौँ ? हाम्रो जीवन र हाम्रो सुदूर भविष्यलाई कसरी ठीक बनाउन सकिन्छ ? सबैको मनमा उब्जने सवाल यही हो । अवश्य हामी एकदुईजनाको, एकदुई राष्ट्रको वातावरणमैत्रीपना र प्रयत्नमा मात्र यत्रो विश्वलाई जोगाउन सम्भव छैन । यो हाम्रो देशको मात्र जिम्मेवारी र हामीले मात्र सच्याउन सकिने विषय पनि होइन तर अवश्य सुरुआत भने गर्न सक्छौँ । वैज्ञानिक समाजवाद– साम्यवादको स्थापनाको महान् उद्देश्य राखेर सञ्चालन गरिएको एकीकृत जनक्रान्तिको अभियान यसको सुरुआत मान्न सकिन्छ किनकि अबको विश्व मानव दुनियाँ पुँजीवादी बर्बरताका विरुद्ध यही माक्र्सवादी सस्यमा ध्रुवीकृत हुँदैछ । माक्र्सवादतर्फ फर्कौं भन्ने विश्वव्यापी नारा यसैको सङ्केत हो । पृथ्वीलाई बचाउनका निम्ति त विश्वमै समान प्रकारका योजना बन्नुपर्छ, साम्यवादी योजना । विश्वका सबै मुलुकहरू त्यहाँसम्म आउनुपर्छ जहाँबाट पृथ्वीलाई बचाउन सकिने र प्राणीलाई बचाउन सकिने अभियानको प्रारम्भ हुन्छ ।

पृथ्वीलाई जोगाउने हामी विश्वभरिका सम्पूर्ण मानवजातिको त्यो प्रारम्भबिन्दु वैज्ञानिक समाजवाद हो । विश्वमा औद्योगिक क्रान्ति र त्यसयताका निरन्तरका तीव्र औद्योगिकीकरण र उत्पादन करिब दुई सय वर्षमा, अझ खास गरेर बितेका ९०–१०० वर्षयता पृथ्वीले आफ्नो इतिंहासमा कहिल्यै भोग्नु नपरेको विपत्ति भोगिरहेको छ र यसबाट उत्पन्न दुष्परिणामहरूको चपेटामा मानिससहित सम्पूर्ण प्राणीहरू परिरहेका छन् । हामीले हाम्रो सर्वश्रेष्ठताको प्रमाणपत्रको वरिपरि विषाक्त बनेको प्राणीजीवनको चर्चा गर्यौँ । त्यो राजनीतिक हिसाबले ‘पुँजीवाद’ का कारण उत्पन्न भएको छ । पुँजीवाद नै यस्तो व्यवस्था हो जो सर्वश्रेष्ठता र आफ्नो कथित महानताका लागि दुनियाँलाई नष्ट गर्नसमेत पछि पर्दैन । त्यसकारण सिङ्गो पृथ्वीका निम्ति पुँजीवाद भयानक दुस्मन बन्न पुगेको छ । यसका कयौँ विकृतिहरू छन् जसको जति नै चर्चा गरे पनि कम हुन्छ । हामीले यति स्पष्ट बुझौँ– पुँजीवादी विश्वव्यवस्थालाई भत्काएर हामी वैज्ञानिक समाजवादमा प्रवेश गरौँ । वैज्ञानिक समाजवादले सर्वप्रथम ‘म’ लाई ‘हामी’ बनाउनेछ । हाम्रो कथित सर्वश्रेष्ठताको कवच उतार्नेछ । निजी पुँजीको अन्त्य गर्नेछ । सामूहिक र सामाजिक पुँजीको, सम्पत्तिहरूको विकास गर्नेछ । समाजमा हामीलाई मानव अहित उल्टो हिँड्न सिकाइरहेको पाखण्ड धर्मको कालोपट्टी खोलिदिनेछ । मानव विकासविरुद्ध खडा भएका संस्कृतिका अग्लाअग्ला पर्खालहरू वैज्ञानिक समाजवादले भत्काइदिनेछ । हामीलाई कृत्रिम वैभवको सिंहासनबाट तल झारेर भीडसँग एकाकार गराइदिनेछ । यो काल्पनिक विषय होइन । पुँजीवादको काँचुलीभित्र अनिवार्य जन्म लिनलाई तयार भएर बसेको जीवन हो । यही नयाँ जीवनले हामीलाई पुँजीवादी कालो बादल पन्छाएर वैज्ञानिक समाजवादमा लानेछ ।

वर्तमानमा सर्वश्रेष्ठताको जामा लगाएको पुँजीवादले विश्वका महान् वैज्ञानिकहरूलाई दास बनाएको छ । वैज्ञानिकहरूले अनुसन्धान गरेका, उत्पादन र आविष्कार गरेका जुनकुनै वस्तु मानवीय हितका लागि एकदमै कम मात्रामा प्रयोग भएका छन् । अथवा तिनलाई नियन्त्रणमा लिएर तिनै आविष्कार र उत्पादनको माध्यममा आफ्नो राजनीति सञ्चालन गरिरहेको छ, व्यापार गरिरहेको छ । त्यसैको आडमा हामीलाई सर्वश्रेष्ठ प्राणीको उपहारसमेत दिइरहेको छ ।

यो हाम्रो अबको सर्वप्रथम विषय हो र यही हाम्रो प्रथम कार्यभार हो । के यतिले हामीले माथि चर्चा गरेको भयानक सङ्कटको समाधान गर्न सक्छ ? सवाल अवश्य उठ्यो होला । यतिले मात्र त्यो पर्याप्त हुँदैन, जबाफ यही हो तर यति मात्र हाम्रो बाँकी सबै कार्यभार भने अवश्य होइन । हाम्रो कार्यभार साम्यवाद हो । वैज्ञानिक समाजवादमा सर्वप्रथम हामी हाम्रो सर्वश्रेष्ठताको अहमतालाई तोड्न सक्षम हुनेछौँ । सबैभन्दा शक्तिशाली भन्ने विषय अवश्य हराउनेछ । हामी, हाम्रो, साझा, सामूहिक, कम्युन संस्कृतिको विकास गर्नेछौँ । त्यतिबेला राष्ट्रहरूको आवश्यकता रहनछैन । पर्यावरणीय, आर्थिक, सामाजिक, परिस्थिीती र वातावरणले हामीलाई पृथ्वी बचाउने साझा योजनामा प्रविष्ट गर्न प्रेरित गर्नेछ । हामीले त्यतिबेला त्यो वस्तुगत वातावरणको उचित विश्लेषण गर्दै विश्वलाई एक हुन अपिल गर्नेछौँ । त्यो साम्यवाद हो । साम्यवादले मात्र सारा विश्वलाई एक गर्न सक्छ । पृथ्वी बचाउने योजना कार्यन्वयन गर्न सक्छ ।

हो ! विश्वका ९९% जनता पुग्नलाई लालायित बनेको साम्यवादमा हामीले पृथ्वीमा पुनः कयौँ बिरुवा रोप्नेछौँ । युद्धको आवश्यकता नभएपछि अवश्य युद्धक्षेत्रमा भएका लगानीहरूको आवश्यकता पर्नेछैन । मानवीय अहित र प्राणीविरुद्ध प्रयोग गर्न बनाइएका हतियार नष्ट गर्नेछौँ । सामन्तवाद र निजी पुँजीवादले रचना गरेका मानव बस्न अयोग्य रहेका प्राकृतिक हिसाबले कष्टपूर्ण राष्ट्रहरूमा बसोबास गरिरहेकाहरूलाई सुन्दर स्थानहरूमा स्थानान्तरण गर्नेछौँ । जीवजनावरको जीवनलाई स्वच्छन्द फक्रन र फुल्न दिनेछौँ । हामी अर्कै सभ्यतामा प्रवेश गर्नेछौँ जहाँ कुनै राज्य हुनेछैन । कुनै कथित जात हुनेछैन । कुनै पाखण्डी धर्म हुनेछैन । धनी र गरिब भन्ने कुनै वर्ग हुनेछैन । सबै स्वतन्त्र हुनेछन्, समान हुनेछन्, विश्वमा शान्ति हुनेछ । हाम्रा हिमालहरू खुलेर मुस्कुराउनेछन् । समुद्रहरू उल्लासले तरङ्गित हुनेछन् । प्रकृतिको काखमा हामी सधैँ जवान बनेर, स्वस्थ बनेर, सिर्जनशील बनेर, सभ्य बनेर शान्तिले निदाउनेछौँ । पृथ्वीलाई हामी फेरि हाम्रो पुरानो अर्गानिक जमानामा फर्काउनेछौँ ।

यति सुन्दर सभ्यता कसरी सम्भव होला त ? कुराले मात्र हुन्छ ! के हामीसँग यस्तो सभ्यता निर्माण गरेर यो पृथ्वीको रक्षा गर्नुको विकल्प छ त ? हाम्रो सुदूर भविष्यलाई सुरक्षण प्रदान गर्ने हामी कुनै नवीन आविष्कार गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ ? कि उनीहरूले आंफैँ त्यस्तो आविष्कार गर्लान् ? पृथ्वीको रक्षा गर्नुको विकल्प हामीसँग छैन । वर्तमानमा सर्वश्रेष्ठताको जामा लगाएको पुँजीवादले विश्वका महान् वैज्ञानिकहरूलाई दास बनाएको छ । वैज्ञानिकहरूले अनुसन्धान गरेका, उत्पादन र आविष्कार गरेका जुनकुनै वस्तु मानवीय हितका लागि एकदमै कम मात्रामा प्रयोग भएका छन् । अथवा तिनलाई नियन्त्रणमा लिएर तिनै आविष्कार र उत्पादनको माध्यममा आफ्नो राजनीति सञ्चालन गरिरहेको छ, व्यापार गरिरहेको छ । त्यसैको आडमा हामीलाई सर्वश्रेष्ठ प्राणीको उपहारसमेत दिइरहेको छ । पहिलो कुरा विज्ञानलाई पुँजीपतिहरूको नियन्त्रणबाट, अझ भनौँ पुँजीपतिहरूको जेलबाट बाहिर ल्याउनुपर्छ र त्यसलाई पृथ्वी र प्राणी हितमा लगाउनुपर्छ । अन्यथा महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको त्यत्रो ऊर्जा परमाणु मानव हितका निम्ति होइन, हिरोसिमा र नागासाकीमा झरिरहन्छ । दुनियाँलाई रुवाएर सिरियाहरूमा पड्किरहन्छ ।

विश्वपुँजीवादी शिविरविरुद्ध हामीले सङ्घर्ष गर्नैपर्छ । जसरी हामीले सामन्तवादविरुद्ध सङ्घर्ष गर्यौँ त्यसैगरी वर्तमान दलाल पुँजीवादविरुद्ध भौतिक सङ्घर्ष गरेर मात्र त्यसको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ । ‘म’ लाई ‘हामी’ बनाउन सकिन्छ ।

त्यसकारण सर्वप्रथम विश्वपुँजीवादको अमानवीयता, प्रकृतिविरुद्ध घात, प्राणीजगत्कै चुनौतीका रूपमा रहेको भयानक स्वरूपलाई एउटा खराब इतिहास बनाउन वैज्ञानिक समाजवादमा प्रवेश गर्नैपर्छ । त्यहाँबाट हामी विश्व साम्यवादमा पुग्नैपर्छ । यसबाहेक अब हामीसँग बाँच्नसक्ने त्यस्तो कुनै उपाय छैन । यसलाई कुनै कल्पनाहरूको लेपन लगाएर, कुनै साधुसन्तले प्रवचन भनेर, कोही योगी–संन्यासीको साधारण कम्युनले अथवा हाम्रो याचनाले, चाहनाले, कसैको आशीर्वादले, मन्दिरको आराधनाले यो हाम्रो भयङ्कर वर्तमान र महाविस्फोटको नजिक रहेको हाम्रो भविष्यलाई सच्याउन सक्नेछैन । त्यसका निम्ति राजनीतिक रूपले नेतृत्वमा रहेको विश्वपुँजीवादी शिविरविरुद्ध हामीले सङ्घर्ष गर्नैपर्छ । जसरी हामीले सामन्तवादविरुद्ध सङ्घर्ष गर्यौँ त्यसैगरी वर्तमान दलाल पुँजीवादविरुद्ध भौतिक सङ्घर्ष गरेर मात्र त्यसको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ । ‘म’ लाई ‘हामी’ बनाउन सकिन्छ । यसका निम्ति विश्वभरि नै प्रसस्तै सचेत पहलहरू भइरहेका छन् । पुँजीवाद सबैभन्दा बढी समाजवाद– साम्यवादसँग काँपिरहेको छ । त्यसैले त हरेक पुँजीवादका पुजारी अर्थशास्त्री, समाजशास्त्रीहरू माक्र्स–एङ्गेल्सको साहित्य, दर्शनसँग डराएका छन् र हरेक विश्लेसणमा माक्र्स–एङ्गेल्स र १९ औँ शताब्दीमा कयौँ राष्ट्रहरूमा स्थापना भएको वैज्ञानिक समाजवादी सत्ताको आलोचना गर्छन् । उनीहरूसँग यो ऐतिहासिक भौतिकवादी विश्लेषण र आगामी भविष्यका बारेमा माक्र्स–एङ्गेल्सले गर्नुभएको स्पष्ट दिशानिर्देशलाई काट्ने कुनै तर्क छैन । त्यसैले अबको विश्वसमाज कम्युनिस्ट समाज हो । कम्युनहरूले भरिएको पृथ्वी हो । यो कुनै कल्पना मात्र होइन, वैज्ञानिक तथ्यहरूले भरिपूर्ण अकाट्य यथार्थ हो ।

हामी सत्यमा प्रवेश गरौँ । वस्तुगत र यथार्थ कुराहरूको आत्मसात गरौँ । हामीले आफूबाट सुरु गरौँ । आफूलाई बुझौँ । आफ्नो इतिहासलाई बुझौँ । ४० लाख वर्ष पहीलेका हाम्रा पुर्खा पिरोलापिथेकस– मानवको पहिलो पाइला राख्ने अर्डिपिथेकस रेमिडस– २३ लाख वर्षपहिले दिमाग विकसित भएपछिका होमो ह्याबिलिस– समूहमा सिकार गर्ने होमो इरेक्टस– १ लाख वर्षअगाडिका हामोसेपियन्स– ३० हजार वर्षअगाडिदेखिको हाम्रो मानवीय सभ्यताको खोजी हुँदै अहिले आफू भएर उभिँदासम्मको अवस्थालाई हेरौँ । खालि हजुरबुबा, जिबासम्म मात्र होइन, ४० लाख वर्षयताको हाम्रो जीवनको विकासक्रम खोजौँ । अझ त्योभन्दा अगाडिसम्म पुगौँ । यो प्रकृतिमा हामी सबै एकअर्कामा परनिर्भर, अन्तर्निर्भर छौँ । अहिलेसम्म हामीले यहाँसम्म आइपुग्न जति सङ्घर्ष गर्यौँ, अवश्य हामीसँगसँगै यही पृथ्वीमा अन्य सबै प्राणीहरू पनि आफ्नो दौड लगाइरहेका छन् । हाम्रो कारण अर्थात् हाम्रो कथित सर्वश्रेष्ठताका कारण पृथ्वी विषाक्त बनेको छ । सारा प्राणीहरूको जीवन हाम्रो कारण सङ्कटमा छ । स्वयम् हामी पनि महासङ्कटमा छौँ ।

हामी गम्भीर नबन्ने हो भने हाम्रो भविष्य अनिश्चयको कालो बादलतर्फ अगाडि बढिरहेको छ । हाम्रो दायित्व हाम्रो व्यक्तिगत जीवन र कृत्रिम वैभव प्राप्तिका लागि मात्र होइन । दोस्रा पुस्ताहरूका लागि पनि हाम्रो दायित्व उत्तिकै छ । यो विषयलाई बुझौँ । हामी ४० लाख वर्षदेखि यति लामो यात्रा पार गरेर यहाँसम्म आएका छौँ । अझै हामीले लामो यात्रा पार गर्नु छ । प्रकृति अवश्य धिमा गतिमा धैर्य गरिरहेको छ तर हामीसँग धैर्य गर्ने पर्याप्त समय छैन । हामीले अवश्य चाँडै गर्नु छ । दुनियाँलाई केही महत्वपूर्ण योगदान दिएर हाम्रो दायित्व पूरा गर्नु छ । त्यसैले आउनुस् मानव सर्वश्रेष्ठताको मुकुट उतारौँ ।

२०७७/०२/३०, सङ्खुवासभा, खाँदबारी हिरासत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :