मिरुल

लेखक : कुमारध्वज दियाली ‘प्रभाव’

जनयुद्ध र क्रान्तिका नेताहरू
पलायन हुँदै
आफ्नो रुल बदले पनि
रोल्पाले आफ्नो गाउँ
मिरुल बदलेको छैन !
नेपालको इतिहास साक्षी छ
सबैभन्दा धेरै वीर सहिदहरू
जन्माएर क्रान्तिलाई दिएको गाउँ
वीरताको इतिहासमा कहिल्यै
नमेटिने गरी लेखिएको नाउँ !
कठै ! ती प्यारा वीर सहिदहरूलाई
लालसलाम त भन्छन्
तर सहिदहरूका सपनालाई
उनीहरू नै थुकिदिन्छन् !
ती सहिदहरूका आमा–बा
मेरा सन्तान भनी
प्रतिबिम्ब कोट्ट्याउँदै, छातीमा टाँस्दै
सङ्घारदेखि आँगन हुँदै
उसको तातेताते गरी
हिँड्ने बेलादेखिका पदचापहरू
नियालिरहेका होलान् !
तर विडम्बना !
न त आमा–बाको जीवनको
सहारा सन्तान ठमठमी हिँडेर आयो
न त बडाबडा नेताहरूले
घाँटी सुक्ने गरी नसा नै फुलाएर
भन्ने गरेको जनवाद नै आयो !
आखिर आउन त आयो
स्याउलामा सुत्नेले लाखौँको खाट पनि पायो !
काम गराउनेले गलामा फूलमाला लायो
काम गर्नेले रणमैदानमा तातो गोली खायो
अनि ब्ल्याक एन्ड ह्वाइट फोटोमा
एक हार माला पायो !

जलजलाका ती मुहानहरू सुकेका छैनन्
सहिदहरूका तस्बिरमा शिर झुकेका छैनन्
हामीले परेड खेलेका रुकुम–रोल्पाका मैदानहरू
थाकेका छैनन्
त्यसैले त्यो महान् क्रान्ति जारी छ !
क्रान्ति पूरा गर्न
युवालाई नयाँ जिम्मेवारी छ !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :